१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हात्तीका असल साथी

संरक्षणका सारथी

हात्ती शंकर अर्थात् शंकर लुइँटेल हात्तीको गोबर हेर्दै (बायाँ) र उनले खिचेको हात्तीको तस्बिर। तस्बिर सौजन्यः मुख्यमन्त्रीको सचिवालय

लमक, लमक, लमक। हात्तीको बाटो पहिलाउँदै उनी लम्कन थालेको पनि दुई दशकभन्दा बढी भइसकेको छ। तर उनमा थकान छैन, बरु झनै ऊर्जा थपिएको छ। फागुन दोस्रो साता कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा हात्तीमैत्री यात्राका यी अथक यात्री समग्र यात्राका ‘मुख्य हिरो’जस्तै देखिन्थे।

पैदलयात्राका क्रममा सयौं प्रश्नको जवाफ उनी एक्लै दिन्थे। कसैले हात्तीको गोबर देखे पनि उनलाई नै सोध्थे। ‘शंकरजी, यो गोबर कति दिन अगाडिको होला?’ नयाँ रुख ढलेको देखे पनि सोधी हाल्थे, ‘कहिले हात्तीले ढालेको होला।’

बालुवामा नयाँ पाइला देख्नेबित्तिकै उनलाई नै सोध्थे, ‘कति बेला यो बाटो हिँडेको होला?’ अनि नयाँ गन्ध आउनेबित्तिकै उनलाई नै सोध्थे, ‘कतै यो हात्तीको गन्ध त होइन?’

उनी सबैलाई हात्तीबारे तर्कसहित जवाफ दिन्थे। कसैलाई यो गोबर हिजो बेलुकाको हो भन्थे। कसैलाई यो रुख आजै भाँचेको भन्थे। अनि कसैलाई पख्नुस् पख्नुस्, त्यता जंगली हात्ती छ, त्यसको गन्ध आउँदै छ भन्थे। उनको वर्णनले यात्रा थप रोमाञ्चक बन्थ्यो। मान्छे र हात्तीसँगै हिँडेजस्तो लाग्थ्यो।

उनलाई प्रश्न गर्ने प्रदेशका सर्वसाधारणदेखि मुख्यमन्त्री सबै हुन्थे। तर उनले सबैलाई चित्त बुझ्ने जवाफ दिन्थे। यस्तो लाग्थ्यो, मान्छेहरूको त्यो यात्रामा शंकरचाहिँ हात्ती बनेर लम्किरहेका छन्, हात्तीको वकालत गर्दै, हात्ती बोल्दै, हात्तीको बाटो देखाउँदै। त्यसैले उनलाई धेरैले ‘हात्ती शंकर’ भनेर बोलाउँथे।

उनको नाम शंकर लुइँटेल। तर धेरैले उनलाई हात्ती शंकर भनेर चिन्छन्। हात्तीको अनुसन्धानमा झन्डै तीन दशक बिताएका झापा बाहुनडाँगीका लुइँटेल हात्तीको हितमा जंगल चहारी रहन्छन्।

हात्तीसम्बन्धी अध्येता उनी झापा र मोरङका धेरै भूभाग कैयन् पुस्तादेखि हात्तीको विचरण क्षेत्र रहेको बताउँछन्। हात्तीको पुरानो वासस्थान भनिएको पहिलेको जंगली ठाउँमा अहिले मानव बस्ती बाक्लिइसकेकाले हात्ती र मान्छेबिचको द्वन्द्व बढेको उनको बुझाइ छ।

त्यसैले जंगली हात्तीको आक्रमणमा उनी हात्तीलाई दोष दिने पक्षमा छैनन्। हात्ती भीमकाय भईकन पनि शान्त रहेको उनको बुझाइ छ। प्रकृतिले दिएको यो अनुपम उपहार हाम्रा कारणले बिथोलिएको उनको बुझाइ छ। ‘हात्ती मानव बस्तीमा छिरेको होइन,’ उनी थप्छन्, ‘बरु मानव बस्ती हात्तीको बाटोमा आएको छ।’

तीक्ष्ण स्मरण शक्तियुक्त प्राणी भएको हुँदा हात्तीले आफ्नो पुर्खादेखिको विचरण स्थानमा स्वतन्त्रतापूर्वक डुलफिर गर्ने चाहना राख्ने उनी सुनाउँछन्। त्यसैले यी बाटोमा आएको अवरोधले हात्ती र सर्वसाधारण दुवै जोखिममा परेको उनी बताउँछन्।

‘विचरण क्षेत्रमा मानव बस्ती देखेपछि हात्ती रिसाउँछ,’ उनले भने, ‘यही कारण उसले बाटामा परेका घरहरू भत्काउन थाल्छ।’

जंगल फडानीसँगै हात्तीको विचरणस्थलमात्र होइन, उनीहरूको खुराकमा पनि कमी आएको छ। त्यसैले ऊ त्यही क्षेत्रमा किसानले छरेका अन्नपात खाएर पनि पेट भर्ने गर्छ। यसलाई अवरोध गर्दा हात्ती रिसाउने र आक्रामक बन्ने गरेको लुइँटेलको निष्कर्ष छ।

आक्रमणबाट पीडित भएकाहरूले हात्ती भगाउन विभिन्न तरिका अपनाउने गरेका छन्। तर त्यसले समाधान निकाल्न नसक्ने उनी बताउँछन्।

हात्तीलाई नाङ्लो ठटाएर भगाउनुभन्दा त्योसँग मैत्रीपूर्ण व्यवहार गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ। हात्तीसँग रिसाउने कतिपयले अझ पनि पटाका पड्काएर, करेन्ट छाडेर र आगो बालेर भगाउन खोज्छन्। यसबाट झनै जोखिम बढेको उनको निष्कर्ष छ।

हात्ती प्रभावित क्षेत्र झापा बाहुनडाँगीका शंकर लुइँटेल हात्तीको आनीबानी र पहिचान गर्दै उनीहरूको संरक्षणमा जुटेका छन्। काँधमा क्यामरा भिरेर उनी मेची नदीकिनार हानिन्छन्। कहिले घना जंगलमा भौंतारिन्छन्।

देखेका हात्तीको तस्बिर लिन्छन् र तिनीहरूको प्रोफाइल तयार पार्छन्। एक अर्थमा उनी जंगलमा भेटिने अनजान हात्तीको नामकरणसमेत गरिदिन्छन्।

अहिलेसम्म उनले उनले १० वटा रैथाने हात्तीको न्वारान गरिसकेका छन्। झापाका विभिन्न वनखण्डमा पाइने ४५ वर्षदेखि ६० वर्षसम्मका हात्तीको नाम आफैंले राखेको उनी बताउँछन्।

उनले राखेका नामहरूमा एक दाह्रे सानी गज, कान दुले गज जंगे गज, ठुटे अञ्जु गज, सेते गज रहेका छन्। त्यस्तै घुमन्ते यव गज, जलथले गज, ताल बेताल गज, सुनौलो दाँते गज। घुमन्ते गज पनि उनले नै राखिदिएको हात्तीको नाम हो। यी हात्ती अहिले सीमावर्ती नेपाल र भारतका वनमा ओहोरदोहोर गरिरहन्छन्।

‘सिमाना र गाउँबस्तीमा डुलिरहने प्रायः हात्तीको फोटो खिचेको छु, नजिकबाट अवलोकन गरेको छु,’ उनी भन्छन्, ‘यिनीहरूको शरीरको बनावट, हाउभाउ सबै कुरा संकलन गरेर परिचयका साथ नाम राखिदिएको छु।’

त्यसैले कतै हात्ती म¥यो भने उनी पुगिहाल्छन् र भन्छन्– यसको नाम फलानो हो। त्यस्तै गाउँमा फरक हात्ती देखिएमा आक्रामक हो कि शान्त हो भनेर जानकारी दिइहाल्छन्।

यसरी उनले राखिदिएको नाम र हात्तीसम्बन्धी जानकारीलाई प्रदेश सरकारले पनि मान्यता दिएको छ। जसका कारण प्रदेशको मन्त्रालयलाई पनि सजिलो भएको छ। हात्तीको स्वभाव र तिनका तस्बिरसहित वन मन्त्रालयले पर्चासमेत छापेको छ। हात्तीबारे चेतना जगाउने काममा उनको तस्बिर र जानकारी उपलब्धिमूलक बनेको छ।

त्यसैले होला, हात्तीमैत्री पदयात्राको अन्तिम दिन कोसीका मुख्यमन्त्री केदार कार्कीले पनि शंकर लुइँटेलको खुलेर तारिफ गरेका छन्। हात्तीबारे उनले हासिल गरेको जानकारीले हात्ती र मानवबिच द्वन्द्व न्यूनीकरणमा निकै सहयोग पुग्ने उनले बताए।

डेढ दशक अघिसम्म जंगली हात्तीको कारण सर्वसाधारणको बालीनाली र जिउधनको क्षति बढेको समयमा धेरैले हात्तीलाई मात्र दोष दिने गरेका थिए।

त्यस्तो समयमा पनि उनले मानिस र हात्ती दुवैलाई बचाउनुपर्ने तर्क राखेका थिए। यसका लागि उनले २०६४ सालमा तत्कालीन बाहुनडाँगी गाविस कार्यालयमा तालाबन्दी गरे र संघर्ष समिति बनाए। त्यसपछि सरकारी निकायले उनीतिर ध्यान दिएका थिए।

मुख्यमन्त्रीले आफ्नो तारिफ गरेकोभन्दा पनि हात्तीमैत्री पदयात्रा गरेकोमा उनी धेरै खुसी छन्। ‘उनको यो पदयात्रा नै मेरो सबैभन्दा ठुलो तारिफ हो,’ हात्ती शंकर भन्छन्, ‘यसले हात्ती र मान्छेबिच द्वन्द्वमा पक्कै पनि केही समाधान निकाल्ने छ।’

यो समस्या समाधान भयो भने वार्षिक औसत एक हात्ती र ६ सर्वसाधारण मर्ने खतरनाक द्वन्द्व अन्त्य हुने उनको निष्कर्ष छ।

‘म हात्तीको पनि मुख्यमन्त्री’

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतासँगै हात्तीको रक्षा पनि आफ्नो दायित्व रहेको बताएका छन्। मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसाथ कोसी प्रदेशले फागुन दोस्रो साता सुरु गरेको एक साता लामो पदयात्रा कार्यक्रममा उनले आफू हात्तीको पनि मुख्यमन्त्री रहेको बताएका हुन्।

‘कोसी प्रदेशको मुख्यमन्त्रीको हैसियतले सर्वसाधारणको जनधनको क्षति जोगाउनेतर्फ मेरो दायित्व छ,’ हात्तीमैत्री यात्राका क्रममा मुख्यमन्त्री केदार कार्कीले भने, ‘नैतिक हिसाबले यहाँका वन्यजन्तुको रक्षाप्रति पनि मेरो उत्तिकै जिम्मेवारी छ। त्यस अर्थमा  म हात्तीको पनि मुख्यमन्त्री हुँ।’

हात्ती र सर्वसाधारण दुवैको जीवनरक्षाका लागि आफ्नो यात्रा तय भएको भन्दै उनले दुवैले न्याय पाउने बाटोमा आफू हिँडेको बताए। जनावर, जंगल, जमिन र जनता सबैको रक्षाका लागि प्रदेश सरकार लागिपर्ने उनले सुनाए।

‘यो यात्राले असार १ को बजेटका लागि मार्ग निर्देशन गर्नेछ,’ मुख्यमन्त्री कार्कीले भने, ‘सर्वसाधारण र हात्ती दुवैको रक्षाका लागि विशेष योजना ल्याउनेछौं।’ यात्रा समाप्तिसँगै प्रदेश सरकार र स्थानीय जनप्रतिनिधि सँगै बसेर छलफल गर्ने उनले बताए।

‘तत्काल र दीर्घकालीन रूपमा के गर्न सकिन्छ योजना बनाउँछौं,’ उनले सुनाए, ‘समस्या सम्बोधन गर्नेतर्फ लाग्नेछौं।’

नागरिकको जिउधनको सुरक्षाका लागि नीति तथा कार्यक्रम र बजेट प्रकृति संरक्षण र पर्यटन प्रवर्धनका लागि  हुनुपर्ने उनको बुझाइ छ। हात्तीका लागि कच्ची वा पक्की सडक बनाउनेतिर नभई जनताको बालीनाली जोगाउने र जीवन सुरक्षित बनाउनेतर्फ सरकार अगाडि बढ्ने उनी बताउँछन्।  सर्वसाधारणले हात्तीबाट भएको हानिनोक्सानीको क्षतिपूर्ति र सुरक्षित जिउधनको माग गरेको कार्कीले सुनाए।

‘बालीको प्रभावकारी बिमा गराएर बालीनाली खायो भन्दै किसान हात्ती खेद्न लाग्ने अवस्था कम गर्नेछौं,’ उनले भने, ‘त्यसो भयो भने पनि जोखिम निकै कम हुने छ।’ अधिकांश दुर्घटना हात्तीले बाली खाने र खेद्ने कुराले भएको बताउँदै अबका दिनमा त्यसो हुन नदिने सुनाए।

‘तपाई जनावरलाई नचलाइदिनुस्। आनन्दले सुत्नुस्,’ मुख्यमन्त्री कार्कीले भने, ‘तपाईंको भौतिक क्षतिको जिम्मा सरकारले लिने छ। यसका लागि प्रभावकारी नीति बनाउँदैछौं।’

त्यस्तै हात्तीलाई आतंकको पर्याय नबनाएर पर्यटनको  अवसरका रूपमा लिन सकिनेतर्फ पनि सरकारको ध्यान गएको उनले सुनाए। ‘होमस्टे सञ्चालन गरेर  बरन्डामा बसेर हात्ती देखाउने दिन पनि आउनेछ,’ उनले भने, ‘यसतर्फ पनि सरकारले प्रभावकारी कदम चाल्नेछ।’

हात्ती प्रभावित क्षेत्रका नागरिकको समस्या बुझ्ने र समाधानको उपाय खोज्ने भन्दै झापाको मेचीनगरस्थित बाहुनडाँगीमा फागुन ९ बाट सुरु भएको मुख्यमन्त्री कार्कीको टोलीले झन्डै २४०  किलोमिटरको दुरी पार गर्दै उदयपुरको कटारीस्थित बेलसोत बजारमा पुगेर पदयात्रा समापन गरेको छ।

कोसीको वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रकृति संरक्षण र पर्यटन प्रवर्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पैदल यात्रा सञ्चालन गरिएको हो। यस क्रममा २४ वटा स्थानीय तहका नागरिकसँग भेटघाट र छलफल  भएको थियो। यस भेगमा  करिब १८ लाख जनसंख्या हात्तीबाट प्रत्यक्ष/अप्रत्यक्ष प्रभावित  छन्।

जनतासँगको प्रत्यक्ष कुराकानीबाट  हात्ती र मानवबिच भइरहेको द्वन्द्वको समाधानका विषयमा  प्रभावकारी  जानकारी मिलेको मुख्यमन्त्री कार्कीले बताए।

‘जनता पनि हात्तीसँग लडेर समाधान निकाल्ने पक्षमा छैनन्,’ मुख्यमन्त्री कार्कीले भने, ‘हात्तीको जोखिम कम गरेर अगाडि बढ्ने पक्षमा भेटिए।’ जनताले भोगेको समस्या उनीहरूबाटै सुन्दा समाधानको बाटो पहिल्याउन सजिलो भएको उनले बताए।

हात्तीको परम्परागत मार्गको कतिपय ठाउँमा बस्ती रहनु, जंगलसँगै हात्तीको खान्की हराउनुलगायतले पनि  जंगली हात्ती बस्तीमा प्रवेश गरेको देखिन्छ। अब यसमा ‘कसको गल्ती?’ भन्दा पनि कसरी समाधान निकाल्ने भन्ने मनसायमा मुख्यमन्त्री रहेका छन्।  

‘अब हामी सरोकारवाला सबै मिलेर यसको समाधानको बाटोमा जुट्ने छौं,’ उनले भने,  ‘हात्तीमैत्री यो सात दिने पैदल यात्राले समाधानको सुगम बाटो निकाल्ने छ।’ 

यात्राका क्रममा सर्वसाधारणले समस्या र समाधान दुवै सुनाएको उनले बताए। ‘जंगल खाली भएर हात्ती गाउँमा छिरेको पनि जनताले नै सुनाए,’ मुख्यमन्त्री कार्कीले भने, ‘हात्तीका लागि जंगलमा मन पराउने कुरा रोप्नुपर्ने पनि उहाँहरूले नै सुझाउनुभयो।’

कतिपयले हात्तीका लागि भनेर घरछेउ केरा रोपिदिँदा हात्तीले घर नभत्काएको अनुभवसमेत सुनाएको मुख्यमन्त्रीले बताए।

हात्ती र मान्छेबिचको द्वन्द्व लामो समयदेखि यस क्षेत्रमा जारी छ। यही द्वन्द्वका  पछिल्ला १२ वर्षको अवधिमा यहाँ ७८ सर्वसाधारण र १९ हात्तीको मृत्यु भइसकेको  तथ्यांक छ।

यात्राका क्रममा भेटिएका कतिपय परिवारले आफ्ना परिवारका सदस्य मारिए पनि हात्ती चाहिँ नमार्नू भनेर मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए।

यो पदयात्राले सर्वसाधारण  हात्तीले पनि न्याय पाउने  सुनाए।  ‘हात्तीका कारण क्षति ब्यहोरेका सर्वसाधारण र सर्वसाधारणका कारण ज्यान गुमाएका दुवैले न्याय पाउने विश्वास लिएका छौं,’ उनले भने, ‘दुवै पक्षले न्याय  दिलाउने बाटोमा मुख्यमन्त्रीको यात्रा  सक्षम रहने विश्वास छ।’ 

प्रकाशित: २६ फाल्गुन २०८० ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App