१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जिल्ला समन्वय समितिले दिए आन्दोलनकाे चेतावनी

जिल्ला समन्वय समितिका संयोजकहरूले कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश नसिच्चए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। जिल्ला समन्वय समितिका संयोजकहरूलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने अध्यादेशको व्यवस्था नसच्याए आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका हुन्।

कोशी प्रदेशका जिल्ला समन्वय समितिका संयोजकहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयमार्फत मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै सरकारले जिल्ला समन्वय समितिका संयोजहरूलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्न रोक्ने गरी ल्याइएको अध्यादेश संशोधन  गर्न माग गरे।

आफूहरूले राखेको माग पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने उनीहरूको चेतावनी छ। जिल्ला समन्वय समिति महासंघका अध्यक्ष राजन मेहेताले अध्यादेशको व्यवस्था सच्याउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिए।

उनले सरकारले जिल्ला समन्वय समितिका संयोजकहरूलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुन रोक्ने अध्यादेशको व्यवस्था नसच्याए चरणबद्ध आन्दोलनमा उत्रने स्पष्ट पारे। ‘पहिलो चरणमा हामीले अध्यादेशको व्यवस्था संशोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छौं’, मेहेताले भने, ‘हाम्रो माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रन्छौं।’ 

मेहेताले अध्यादेशमा भएको व्यवस्था सच्याउन माग गर्दै स्वास्थ्यमन्त्री प्रदिपकुमार सुनुवार र प्रदेश प्रमुख पर्शुराम खापुङलाई पनि ज्ञापनपत्र बुझाएको जानकारी दिए। प्रदेश सरकारले हालै ल्याएको अध्यादेशमा प्रदेश जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ मा भएको जिल्ला समन्वय समितिको संयोजक पदेन जिल्लाको सरकारी अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था संशोधन गरेको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सरकारले जिसस संयोजक अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष हुने व्यवस्था अध्यादेशमार्फत हटाएको भन्दै विरोध गर्दै आएको छ।

प्रकाशित: २४ फाल्गुन २०८० १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App