१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीबाट बच्न सुरक्षा निकायले गर्‍यो कृत्रिम अभ्यास

जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।

नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसले संयुक्त रुपमा डेमो प्रदर्शन गरेका थिए। सन्धिखर्कको टुँडिखेल मैदानमा शुक्रबार आगलागीसम्बन्धी डेमो प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए।

कृत्रिम भए पनि घटनालाई वास्तविकजस्तै बनाइएको थियो। टुँडिखेलमा आगलागीको कृत्रिम घटना गराई नियन्त्रणका लागि पूर्वअभ्यास गरिएको हो। हावाहुरीको समय भएको र आगलागीका घटना भइरहने हुँदा यसबाट बच्ने उपायसहित पूर्व अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतीतसिंह राठोरले बताए।

घटनामा तीनवटै सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण, उद्धार तथा घाइतेहरुको उपचारको व्यवस्था गरिएको थियो। अर्घाखाँचीमा गत वर्ष ४२ स्थानमा आगलागी भएको थियो। एक हजार ६६ हेक्टर जंगलमा आगलागी हुनुका साथै आगलागीमा परी गत वर्ष पाँचजनाले ज्यान गुमाएका थिए।

घटना नदोहोर्‍याउन तथा भइहाले घटनालाई कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्न, सुरक्षाकर्मीसँग भएका आवश्यक सरसमान परिचालन गर्ने, अपुग तथा नपुगेका सरसमानको व्यवस्थापन गर्ने पूर्वतयारीका लागि जिल्लाका सुरक्षा निकायले पूर्वअभ्यास कार्यक्रम गरेको हो।

पहाडी तथा सहरी क्षेत्रमा आगलागीको जोखिम भएकाले स्थानीयलाई सुसूचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीले जनाएको छ।

कृत्रिम घटना अभ्यास अवलोकन गरेपछि आगलागीका बारेमा धेरै जानकारी प्राप्त भएको अवलोकन गर्न आएकी गौरिशंकर बोर्डिङ स्कुलकी छात्रा वर्षा भुसालले बताइन्। ‘आगलागी भएमा नआत्तिकन उद्धारमा लाग्नुपर्ने रहेछ’, ‘उनले भनिन्, ‘ दमकललाई बोलाउनुपर्ने रहेछ।’

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ढकाल, सुरक्षा निकायका प्रमुख, रेडक्रसको टिम, पत्रकार, विद्यार्थीलगायत स्थानीयको सहभागिता थियो।

प्रकाशित: १९ फाल्गुन २०८० ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App