१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कानुन अभावमा चुलियो अनलाइन हिंसा

इन्टरनेट माध्यमबाट हुने हिंसाको संख्या बढिरहे पनि कानुन अभावमा नियन्त्रण चुनौतीपूर्ण बनेको छ। विभिन्न सामाजिक सञ्जालमार्फत आफूहरूमाथि हिंसा गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा दर्ता गराइएका उजुरी समाधानमा चुनौती देखिएको हो।

कानुन पर्याप्त नहुँदा दर्ता भएका विभिन्न खालका उजुरी फस्र्योटमा समस्या देखिएको ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताए। उनका अनुसार सामाजिक सञ्जालबाट पीडित हुनेमा पछिल्लो समय महिलाभन्दा पुरुषको संख्या बढी छ। महिला र पुरुष फरकफरक तरिकाले पीडित बनेका छन्।

फेसबुक, टिकटक, ह्वाट्स एप, एक्स आदि सामाजिक सञ्जालमा बेनामी र गलत नामबाट बनाइने प्रोफाइलले उजुरी फस्र्योटमा समस्या देखिएको उनले बताए।

 साथै पीडक विदेशमा बसेर गरिने हिंसाले पनि मुद्दाको क्षेत्राधिकारमा समस्या थपेको छ। अन्य देशले बनाएका सामाजिक सञ्जाल एप नेपालीले चलाउँदा उत्पन्न समस्याले प्राविधिक जटिलता थप्ने गरिएको भेटिएको हो। प्रहरीलाई साइबर घटनाको कारक र प्रमाण संकलनमा पनि समस्या भएको छ।

लेखेर तुरुन्तै डिलिट गर्ने खालका प्रमाणले पनि गाह्रो बनाएको बताइएको छ। सीमापार अनुसन्धानका लागि गाह्रो भैरहेको, स्रोतसाधन र विशेषज्ञ अभावले पनि उजुरी फस्र्योटमा समस्या थपेको प्रहरी उपरीक्षक अवस्थी बताउँछन्।

चालु आव २०८०/८१ को हालसम्म साइबर ब्युरोमा ५ हजार ६ सय ३६ पुरुष र ५ हजार १ सय ३१ जना महिलाले सामाजिक सञ्जाल माध्यमबाट आफूहरूमाथि हिंसा गरिएको भन्दै उजुरी दर्ता गराएका छन्। यो अघिल्लो वर्षको तुलनामा निकै बढी हो। आव २०७९/८० मा ४ हजार ५९० महिला र ३ हजार ७ सय ३५ पुरुषले यस्तो उजुरी दर्ता गराएका थिए।

कानुन बन्दै

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल विधेयक तयार हुँदै गरेको बताएकी छिन्।

अनलाइनमार्फत महिलामाथि हुने हिंसाका स्वरूप थपिएको भन्दै उनले त्यसलाई पनि सम्बोधन गर्नेगरी विधेयक तयारी भैरहेको बताइन्। एकीकृत रूपमा समस्या समाधान गर्न कानुनमा समेट्न लागिएको उनले बताइन्।

‘हामीले टिकटक बन्द गर्ने क्रममा थाहा पायौं। एकै पटकमा बन्द गर्न सकेनौं’, उनले भनिन्, ‘बन्द गर्न निकै समस्या रहेछ। कानुनी क्षेत्राधिकारबारे पनि समस्या छन्।’

इन्टरनेटका धेरै फाइदा भए पनि सदुपयोग गर्न नसकिएको उनले बताइन्। अनलाइनमा हुने हिंसाका कारण कतिपय महिलाले आत्महत्या समेत गरेको उनले बताइन्।

महिला र पुरुषका छुट्टाछुट्टै पीडा

सामाजिक सञ्जालबाट महिला र पुरुष दुवै पीडित हुने गरेका छन्। पीडाका कारण भने फरकफरक छन्। प्रायः सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनेर म्यासेन्जरमा कुराकानी गर्ने क्रममा कुनै महिलालाई अश्लील क्रियाकलाप गर्न बाध्य पारी स्क्रिन सर्ट रेकर्ड गरिन्छ। त्यसपछि ती महिलाबाट आफूअनुकूल फाइदा लिन बारम्बार दबाब दिँदै उनका आफन्त, साथीलाई स्क्रिन सर्ट रेकर्ड पठाउने गरिएको छ।

फेसबुकमा नियमित कुराकानी भई प्रेम सम्बन्धमा रहने, त्यसपछि शारीरिक सम्बन्ध हुँदाको भिडियो, अश्लील तस्बिर खिचेर पछि महिलाको फेसबुक, म्यासेन्जरमा पठाउने गरिएको छ।त्यसैगरी पुरुष भने आर्थिक प्रलोभनका कारण पीडित हुने गरेका छन्।

चिट्टा परेको, वैदेशिक रोजगारीमा जान भिसा दिने प्रलोभन, एउटै नाम थर भएकाहरूको नाममा रकम पाउने लोभ, हनी ट्र्यापिङमा पर्ने खालको समस्याबाट पुरूपा पीडित भैरहेको साइबर ब्युरोका प्रहरी उपरीक्षक अवस्थी बताउँछन्। उनका अनुसार दैनिक २० वटासम्म उजुरी साइबर ब्युरोमा आउने गरेका छन्।

समाधान के छ?

सामाजिक सञ्जालमार्फत बढ्दै गैरहेको हिंसा समाधान गर्न सचेतना फैलाउन आवश्यक रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। उनी साना बालबालिकासमेत सामाजिक सञ्जालबाट पीडित भएकाले यससम्बन्धी शिक्षा विद्यालय तहको पाठ्यक्रममै समावेश गर्नुपर्ने बताउँछिनन्।

‘डिजिटल एजुकेसन आवश्यक छ। अब पाठयक्रममै इन्टरनेट प्रयोगका लागि थप्नुपर्ने भएको छ,’ उनले भनिन्। नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रोजाकिरण वासुकलाका अनुसार प्रविधिमार्फत आएका समस्या प्रविधिबाटै समाधान गर्न सकिन्छ।

‘अनलाइन हिंसा सम्बोधन गर्न उजुरी कार्याविधि जरुरी छ,’ उनले भनिन्, ‘अनलाइनबाटै उजुरी दिनसक्नेगरी व्यवस्था गर्न जरुरी छ।’

दुर्व्यवहारको डरले इन्टरनेट प्रयोग नगर्नेभन्दा पनि कसरी अवसरको रूपमा लिने भन्नेतर्फ सचेतना अभियान चलाउनुपर्ने उनले बताइन्। ब्युरोका प्रहरी निरीक्षक अवस्थीले भने सबैलाई डिजिटल साक्षरतासम्बन्धी अभियान चलाउनुपर्ने बताए। सेफ्टी फिचरहरूको विकास गर्नुपर्ने पनि उनी बताउँछन्।

प्रकाशित: १८ फाल्गुन २०८० ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App