१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डेढ वर्षदेखि कार्यालय प्रमुखविहीन इलाका प्रशासन

डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली प्रमुखविहीन भएको छ। कार्यालयमा प्रमुख पठाउन गृह मन्त्रालयले ढिलासुस्ती गरेका कारण डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको हो।

कार्यालयमा प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन्। प्रशासन कार्यालयमा काम लिए आउने सेवाग्राहीले हप्ताको मंगलबार र शुक्रबार मात्रै कार्यालयबाट सेवा प्राप्त गरिरहेका छन्। कार्यालय प्रमुख हुँदा उक्त कार्यालयबाट दैनिकी ७० देखि ८० वटासम्म प्रतिलिपि र नयाँ नागरिकता  वितरण गर्दै आएको थियो। सो कार्यालयबाट नाबालक परिचयपत्र, जातीय प्रमाणितको सिफारिस, नागरिकता प्रतिलिपि, नयाँ नागरिकता वितरण गर्दै आएको छ।

इलाका प्रशासन कार्यालयबाट रंगेली नगरपालिका, सुनबर्सी नगरपालिका,  रतुवामाई  नगरपालिका, धनपालथान गाउँपालिकाको वडा नम्बर  २, ३ र ४ र कानेपोखरी गाउँपालिकाको वडा नम्बर १ बासिन्दाहरूले सेवा लिँदै आएका छन्। तर, डेढ वर्षअघि रहेका कार्यालय प्रमुख उपेन्द्र राईको सरुवा भएपछि सोही कार्यालय रमेश कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको थियो।

कोइरालाको पनि अन्यत्र सरुवा भएपछि सोही कार्यालयका निर्मल खतिवडाले निमित्तको जिम्मेवारी पाएका थिए। उनले ६ महिनाका लागि जिम्मेवारी पाएका थिए। ६ महिनाको म्याद सकिएपछि पुनः ६ महिना थप गरेर कार्यालय सञ्चालन हुँदै आएको थियो। निमित्तका भरमा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका थिए। 

खतिवडाको पनि १ वर्षे कार्यकाल समाप्त भएपछि अर्को नयाँ कार्यालय प्रमुख नआउँदा सेवाग्राहीहरूले समस्या भोग्दै आएका छन्। करिब १ महिनादेखि जिल्ला प्रशासन कार्यालय मोरङ (विराटनगर) बाटै एक जना अधिकृतले मंगलबार र शुक्रबार सेवा दिन थालेका छन्। गृह मन्त्रालयले अधिकृत नपठाउँदै सेवा लिन आउने सेवाग्राहीका काम ढिलासुस्ती हुने र दुःख सास्ती खेप्न बाध्य हुनु परेको छ।

गृह मन्त्रालयले अहिलेसम्म इप्रकामा शाखा अधिकृत नपठाउँदा कार्यालयमा काम लिएर आएका सेवाग्राही त्यसै घर फर्कन बाध्य भएका छन्। दरबन्दी अनुसारको अधिकृत नहुँदा इप्रकामा मात्रै नभई जिल्ला प्रशासन कार्यालयमा समेत समस्या भएको बताउँदै, सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रदीप साहले भने, ‘दरबन्दी अनुसारका अधिकृत नआउँदा समस्या भएको छ। स्वयम् जिल्लामै पनि ४ जनाको दरबन्दीमा २ जना मात्रै अधिकृत हुनुहुन्छ। उहाँहरूबाट काम लिही रहेका छौँ। रंगेली दुर्गम भएकाले पनि होला कोही पनि अधिकृत आउन नमान्नु भएको।’

रंगेलीमा १ जना अधिकृतको दरबन्दी भए पनि कोही पनि नआउँदा नायव सुब्बाबाट काम चलाउनु परेको छ। रंगेलीमा काम नरोकियोस् भनेर यहाँबाटै हप्ताको २ दिन अधिकृत पठाएर सेवाग्राहीको काम गरिरहेको बताउँदै, सूचना अधिकारी साहले भने, ‘लामो समयसम्म एक व्यक्तिलाई कार्यवाहक (निमित्त) दिन मिल्दैन। नायब सुब्बा निर्मल खतिवडाले करिब १ वर्षदेखि निमित्त भएर काम गर्दै आउनु भएको थियो। यहाँबाट कसैलाई पनि निमित्तको जिम्मेवारी दिन नमिल्ने भएको हुँदा गृह मन्त्रालयमा पत्र पठाएका छौँ। अधिकृत पठाइ दिन वा निमित्तको जिम्मेवारी दिनका लागि।’

प्रकाशित: १७ फाल्गुन २०८० १९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App