२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बुवा माओवादी लडाकु, आठ छोराछोरी प्रहरी

जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का भक्तबहादुर कठायतको घर सबै सन्तान भेला हुँदा प्रहरी चौकीजस्तै लाग्छ। स्थानीयले पनि उनको घरलाई प्रहरीको परिवार भनेरै चिन्छन्। कारण, उनका नौ सन्तानमध्ये चार छोरा र चार छोरी प्रहरीमा जागिरे छन्। तीन जना हवलदार हुन्, अरू सबै जवान। एउटा छोरा सशस्त्र प्रहरी हुन् भने सात जना नेपाल प्रहरीमा छन्।

छोराछोरीलाई प्रहरी बनाएका भक्तबहादुर आफू भने विगतमा ‘माओवादी लडाकु’ थिए। उनी तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी भएका थिए। ‘पार्टीले मलाई भियतनामी नाम दिएको थियो। माओवादीको जिल्ला कमिटी सदस्य हुँदै जनसरकारमा रहेरसमेत काम गरें,’ उनले भने।

६ वर्ष भूमिगत जीवन बिताएका उनी पार्टी छाड्ने बेलातिर सञ्चार विभागको जिम्मेवारी रहेको सुनाउँछन्। भूमिगत कालमा आधा दर्जन पटक प्रहरीसँग मुठभेडको सामना गरेको उनी बताउँछन्।

त्यतिबेला उनी पार्टीको नीतिअनुसार प्रहरीलाई दुस्मन ठान्थे। तर समयक्रममा यस्तो परिस्थिति आयो कि उनका सबैजसो छोराछोरी प्रहरी भए। माओवादी शान्तिप्रक्रियामा आइसकेपछि एक वर्षसम्म पातारासी क्षेत्रमा पार्टी इन्चार्ज भएर काम गरे पनि अहिले उनी सक्रिय राजनीतिमा छैनन्।

उनले २०६१ सालमा जेठी छोरी प्रेमकलीले प्रहरीमा नाम निकालेपछि अरू छोराछोरीले पनि त्यही बाटो समातेको बताए । कान्छी छोरी रेश्मालाई पनि प्रहरीमै जागिर खुवाउने भक्तबहादुरको रहर थियो तर पूरा हुन सकेन।

‘सानैमा स्वेच्छाले बिहे गरेर हिँडेपछि उसलाई प्रहरीमा भर्ती गराउने मेसो मिलेन। आफू बेरोजगार भएकाले भक्तबहादुरले सबै छोराछोरीले सरकारी जागिर खाऊन् भन्ने चाहेका थिए। कान्छी छोरी प्रहरी बन्न नसकेकोमा अलिकति खिन्नता भए पनि आठ सन्तान प्रहरीमा जागिरे भएकाले उनी दंग छन्।

प्रेमकलीपछि असल, हंसराज, कल्पना, वसन्ती, प्रतापसिंह, पविता एकपछि अर्को गर्दै नेपाल प्रहरीमा जोडिए। शेरसिंहले भने सशस्त्रमा जागिर सुरु गरे। धेरै सन्तान जन्मिएकाले सबैलाई राम्ररी पढाउन नसकेको भक्तबहादुर बताउँछन् ।

भारतका हैदराबाद, गोवा, बैंग्लोरजस्ता विभिन्न सहरमा मौसमी काममा जोतिएर जेनतेन परिवारको गुजारा  चलाएको उनी सुनाउँछन्।

२०६४ सालमा साउने संक्रान्तिमा आफन्तबीच भएको झगडाले राजनीतिक रूप नै लियो। अवस्था यस्तो आयो कि उनी गाउँमा बस्न सक्ने अवस्था रहेन । गाउँको सबै जग्गा बेचेर जुम्लाको सदरमुकाम खलंगामा उनी बसाइँ सरे।

अहिले उनको बसोबास जुम्लाको चन्दननाथ नगरपालिका–३ मा छ। जीवनमा सुख पाउन धेरै दुःख गरेको कहानी बताउने भक्तबहादुर हिजोआज भने प्रसन्न देखिन्छन्। जागिरे छोराछोरीले उनको अनुहारमा खुसी थपिदिएका छन् । भन्छन्, ‘बालबच्चा सबै जागिरे भइसके, अब मलाई दुःख छैन।’

प्रकाशित: १६ फाल्गुन २०८० ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App