१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हुन्डी कारोबारीलाई अस्पतालमै ‘अनुसन्धान सुविधा’

राजस्व अनुसन्धान विभागले हुन्डी कारोबारीका रूपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाललाई २४ दिनसम्म अल्का अस्पतालमै राखेर अनुसन्धान गरेको पाइएको छ। यसबीच उनको मोबाइलबाट युएसडिटीमार्फत कारोबार भएको विषयलाई उल्लेख नगरी हुन्डीलाई मात्र हेरेर विभागले अदालतमा मुद्दा पेस गरेको देखिएको छ।

अग्रवालले अस्पतालमा आफू बसेको क्याबिनको दैनिक ६ हजार र प्रहरी कुरुवाका लागि पाँच हजार पाँच सय रुपैयाँ तिरेका थिए। साथै आफ्नो र प्रहरीका लागि खानाको छुट्टै पैसा तिरेका थिए।

विभागले अस्पतालबाटै बयान गराएर काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। ‘यो थुन्ने खालको मुद्दा होइन, त्यही भएर धरौटीमा रिहा हुन्छन्,’ विभाग स्रोतले भन्यो। विभागले हिरासतमा राखेर अनुसन्धान नगरी अस्पतालको सुविधा दिएको आरोपसमेत लागेको छ।

उनी अदालतको आदेशले धरौटीमा रिहा भइसकेका छन्। विभागले सुन तस्करी तथा क्रिप्टो करेन्सीमा समेत अनुसन्धान नगरी उनीमाथि ‘विदेशी विनिमय’मा मात्रै मुद्दा चलाएको हो।

उनी पक्राउ परेका बखत युएसडिटीमार्फत कारोबार भएको प्रमाण फेला परेको थियो। यसका साथै सुन तौलिने मेसिनसमेत बरामद भएको थियो। यी दुवै विषयलाई बेवास्ता गरी हुन्डी कारोबारमा मात्रै अनुसन्धान गरेको चर्चा अहिले विभागभित्रै भइरहेको छ।

‘विभागले सम्पत्ति शुद्धीकरण विभागलाई पनि अनुसन्धान गर्न भनेको छ,’ स्रोतले भन्यो। स्रोतका अनुसार उनको घरबाट बरामद भएको रकमको मात्रै स्रोत देखाउनुपर्नेछ। तर क्रिप्टोमार्फत दैनिक कारोबार भएको करोडौं रुपैयाँको स्रोत देखाउनुपर्ने छैन।

काठमाडौं जिल्ला अदालतले गत मंगलबार उनलाई एक करोड चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेशका आधारमा उनी धरौटी बुझाई रिहा भएका हुन्।

सुन तस्करीलगायत संगठित अपराधमा विभागले ध्यान नदिई अदालतमा मुद्दा लगेको थियो। अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको नौ किलो सुन र सोही विमानस्थल बाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट थिए।

‘विदेशी विनियम अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ,’ राजस्व अनुसन्धान विभाग स्रोतले भन्यो, ‘उनलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुनेछ।’

उनी माघ ३ गते राति क्षेत्रपाटीबाट पक्राउ परेका थिए। त्यस क्रममा उनको घरबाट सुन जोख्ने मेसिनसमेत बरामद गरिएको थियो। उक्त मेसिन र कारोबारका क्रममा भएको ‘कल डिटेल’मा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा सुन तस्करीसम्बन्धी दुवै प्रकरणमा रकम भुक्तानीमा संलग्नता देखिए पनि हुन्डीमा मात्रै मुद्दा चलाइएको स्रोतको दाबी छ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको सहयोगमा राजस्व अनुसन्धान विभागले अग्रवाललाई पक्राउ गरेको थियो। विभागको टोलीले त्यतिबेला उनको घरबाट दुई करोड नेपाली रूपैयाँसहित दुई हजार अमेरिकी डलर र अन्य देशका मुद्रा पनि बरामद गरेको थियो। त्यस क्रममै उनको घरबाट सुन जोख्ने मेसिन पनि बरामद भएको थियो। विभागको अनुसन्धानको दायरामा आएपछि सुन तस्करी प्रकरणमा रकम भुक्तानी गर्ने कार्यमा उनको संलग्नता देखिएको हो।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार अग्रवालले एक दिनमै करोडौं रूपैयाँ कारोबार गरेको पाइएको छ। स्रोतका अनुसार रकम पठाउन क्रिप्टो करेन्सी कारोबार गरेको हुन सक्ने देखिएको थियो।

अग्रवालले कहाँबाट कति सुन आएको भन्ने जानकारी पनि राख्ने गरेका थिए। ‘सुनको रकम भुक्तानी सुरक्षित रूपमा हुन्डीमार्फत नै हुने भएकाले अग्रवालले नेपालको प्रशासनिक र सुरक्षा निकायमा समेत राम्रो प्रभाव राखेको देखिन्छ। सुन तस्करले उनीमार्फत कारोबार गरेको पाइयो,’ विभाग स्रोतले भन्यो।

अग्रवालबारे विभागले यसअघि नै जानकारी पाइसकेको थियो तर प्रमाण अभावले उनी जोगिँदै आएका थिए। ‘विमानस्थल बाहिबाट बरामद सुनको रकम भुक्तानी अग्रवाल र उनको समूहबाटै भएको विभागमा जानकारी आएको थियो। पर्याप्त प्रमाण जुट्न सकेको थिएन।

पछि सशस्त्र प्रहरी बलको सहयोगमा प्रमाणसहित पक्राउ गर्दा सुन तौलिने मेसिन पनि बरामद भएको थियो। उनको अनुसन्धान चलिरहेका बेला राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले ‘क्रिप्टोमा पनि हेरिरहेका छौं’ भनेका थिए। अन्ततः उनलाई डिजिटल फ्रड भएमा के गर्ने भन्ने कुनै कानुन नभएको हिसाबले छुटकारा दिइएको पाइएको छ।

प्रकाशित: १६ फाल्गुन २०८० ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App