१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने

लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको बीचमा रहेको इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ।

यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक एवं धार्मिक सो क्षेत्रलाई व्यवस्थित गर्नाका साथै विभिन्न संरचना पनि निर्माण गरिने भएको हो।

दुवै गाउँपालिकाले संयुक्त बैठक बसी इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने, सातकन्यादेवी मन्दिर पुनः निर्माण गरिने, बाइसे तथा चौबिसे राज्यकालको इलामपोखरी गढीलगायत विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको छ।

दुवै गाउँपालिकाले दुई/दुई लाखको लागतबाट डिपीआरको काम सुरु गर्न लागेको दूधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले बताए।

उनले इलामपोखरी ताल लेदो माटोले पुरिँदै गएको र सातकन्यदेवी मन्दिरमा विसं २०७२ वैशाखमा आएको भूकम्पले क्षति बनाएकाले उक्त मन्दिर पुनः निर्माण गरेर पिकनिक स्थल, शौचालय, खानेपानी लगायत संरचना निर्माण गरिने जानकारी दिए।

उपाध्यक्ष गुरुङका अनुसार उक्त गढीको नजिकै एउटा स्तूपा बनाइने, इलामपोखरीदेखी माथि जोर्नीगाउँसम्म पदमार्ग निर्माण गरिने भएको छ।

सातकन्यादेवी मन्दिर विसं २०६५ मा सङ्घीय सरकारको पाँच लाख बजेटबाट मर्मत गरिए पनि भूकम्पले उक्त मन्दिरको भित्ता छियाछिया बनाइदिएकाले पुनः निर्माण गर्न लागिएको छ।

डिपीआरबाट लाग्ने बजेट अनुमान गरी गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसँग बजेट माग गरेर काम अघि बढाउने योजना छ। पौराणिककालको उक्त मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ।

त्यस्तै, समन्द्री सतहदेखि दुई हजार दुई सय ६० मिटर उचाइको इलामपोखरी ताल पर्यटकीयस्थल हो।

इलामपोखरीमा साउन महिनाबाहेक अन्य महिनामा बलि चढाउने गरिन्छ। यहाँबाट विभिन्न हिमाल पनि देख्न सकिन्छ।

यहीँबाट दूधपोखरी कुण्ड जानुपर्छ। बिचौरका दवाडी र न्यौपानेहरुले यहाँ धानको बीउ राख्नुअघि मङ्सिरमा धान काट्नुभन्दा अघि एकचोटि दूधको धारा लगाइएपछि मात्र धान काट्ने गर्दै आएको गाउँपालिकाले जनाएको छ। चैतशुक्ल पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्दछ।

त्यस्तै, हरिबोधनी एकादशीमा त्यहाँका झाँक्रीले फूलमाला चढाउने गर्दछन्। यसअघि अघिल्लो वर्ष सो क्षेत्रमा गण्डकी प्रदेश सरकारले चार लाख खर्च गरेर त्यहाँ पुग्नेका लागि बस्न मिल्ने ठाउँ निर्माण गरेको थियो। उक्त स्थल वरिपरि जङ्गल मात्र छ। सो स्थलबाट मानव बस्ती पुग्न करिब २० मिनेट लाग्ने लाग्छ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले यस ऐतिहासिक र धार्मिकस्थलको संरक्षण हुनाका साथै पर्यटक प्रवर्द्धन हुने अपेक्षाका साथ उक्त संरचना निर्माणमा दुवै गाउँपालिका लागेको बताए।

सोमबार अन्तरपालिका साझेदारीअन्तर्गत दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष बिच्छबहादुर घले, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ, दोर्दीका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, सबइन्जिनियर विश्वास पाण्डे, दोर्दी–५ का वडाध्यक्ष कुमराज गुरुङ, दूधपोखरी–३ का वडाध्यक्ष श्याम गुरुङलगायत टोली उक्त स्थलमा पुगी अवलोकन गर्नाका साथै डिपीआरका लागि बैठक बसेको थियो।

प्रकाशित: १५ फाल्गुन २०८० १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App