१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मानव बेचबिखन नियन्त्रणमा सामाजिक सञ्जालको चुनौती

फाइल तस्वीर

मानव बेचबिखन नियन्त्रणमा सामाजिक सञ्जाल चुनौतीका रूपमा देखिएको छ।

विगतमा दलालहरू गाउँसम्म आएर चेलीबेटी बेचबिखनका लागि भारतलगायतका देशमा लैजाने गरेकोमा पछिल्लो समय फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल प्रयोग गरी विभिन्न देशमा बेचबिखन गर्ने उद्देश्यले पुर्‍याउने गरेको माइती नेपालले जनाएको छ।

सामाजिक सञ्जालबाट सीमावर्ती भारतीय सहरहरूमा बोलाउने र त्यही ठाउँबाट विभिन्न स्थानमा पुर्‍याउने गरेको माइती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार सामाजिक सञ्जालबाट दलालहरूले विभिन्न प्रलोभन देखाएर सीमावर्ती भारतीय क्षेत्रमा बोलाउने गरेको पाइएको छ। दलालले बोलाएको क्षेत्रमा जाँदा महिला तथा बालबालिका एक्लै जाने भएकाले सीमावर्ती क्षेत्रमा निगरानी गर्नसमेत अफ्ठ्यारो भएको पोखरेलले बताए। ‘मानव बेचबिखनमा दलालले नयाँ–नयाँ प्रवृत्ति अपनाउँदा नियन्त्रणमा समस्या भएको छ,’ पोखरेलले भने।

सामाजिक सञ्जालबाट मात्रै नभई दलालले सीमानाकासम्म अभिभावकलाई समेत प्रयोग गरेको अध्ययनका क्रममा पाइएको माइती नेपालले जनाएको छ। फ्री अ गर्ल, नेदरल्यान्ड्सको सहयोगमा सञ्चालित ‘अवरोध, उद्धार र न्याय परियोजना’ अन्तर्गत मार्च २०२३ देखि फेब्रुअरी २०२४ सम्मको प्रतिवेदन सार्वजनिक गर्दै पोखरेलले सीमामा एकैखाले काम गर्ने संस्था धेरै हुँदा काममा नक्कल हुने गरेको बताए। उनका अनुसार टेलिफोनमा सूचना दिई तुरुन्तै रोकिदिनु भन्ने तर रोकेपछि सम्पर्कमा नआउने भएकाले काम गर्न समस्या हुने गरेको छ।

भारतबाट तेस्रो राष्ट्र जान सहज भएका कारण नेपालका नाकाहरू बढी प्रयोग भएको बताउँदै पोखरेलले भने, ‘रोजगारको अवसर र आर्थिक प्रलोभनका कारण भारततर्फ बढी आकर्षण भएको पाइएको छ। एक वर्षको अवधिमा मोरङबाट ५४ जनालाई उद्धार गरिएको छ।’

माइती नेपाल विराटनगरले सार्वजनिक गरेको प्रतिवेदनमा विराटनगरबाट ११, सुन्दरहरैंचाबाट आठ, बेलबारी, रंगेली र रतुवामाईबाट ६–६, सुनवर्षी र धनपालथानबाट तीन–तीन, उर्लाबारी, ग्रामथान, कानेपोखरी र कटहरीबाट दुईदुई, लेटाङ, पथरीशनिश्चरे र बुढीगंगाबाट एक–एक जनाको उद्धार गरिएको उल्लेख छ।

पछिल्लो १४ वर्षमा माइती नेपाल, विराटनगरले रानी सीमाबाट एक हजार तीन सय २८ महिला तथा बालबालिकालाई मानव बेचबिखनको सम्भावित जोखिमबाट बचाएको जनाएको छ।

सबैभन्दा बढी सन् २०२३ मा एक सय ५९ जनालाई बेचबिखन हुनबाट बचाएको हो। यिनमा १८ वर्षमुनिका ४८ जना थिए। १४ वर्षको अवधिमा २७ जनालाई भारतबाट उद्धार गरिएको जनाएको छ।

सन् २०१० देखि सन् २०२३ सम्म पाँच सय ९० महिला तथा बालबालिका बेपत्ता भएका छन्। जसमा ८७ जना फेला परेको बताउँदै माइती नेपालकी मनोपरामर्शडाता गीताञ्जली शर्माले भनिन्, ‘एक वर्षको अवधिमा इलाका प्रशासन कार्यालय उर्लाबारीमा रहेको सेवा केन्द्रबाट वैदेशिक रोजगारीमा जाने तीन हजार ७७ महिलासहित सात हजार तीन सय ६० जनालाई परामर्श सेवा दिइएको छ।’

 पछिल्लो समय भारतबाट पनि रोजगारीका नाममा विभिन्न उमेर समूहका महिला नेपाल आउने गरेको पाइएको छ। यहाँ आउने महिलाले आफ्ना परिवारसँग समन्वय नगरी आउने गरेका र उनीहरूका परिवारले खोजतलासका लागि सम्पर्क गर्न थालेको शर्माले बताइन्।

प्रकाशित: १४ फाल्गुन २०८० ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App