१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अयोध्या जाँदै परराष्ट्रमन्त्री साउद,राममन्दिरमा ५ आभूषण चढाउँदै

परराष्ट्रमन्त्री एनपी साउदले अयोध्यास्थित राम मन्दिरमा अर्पण गर्न लगिएको आभूषण। तस्विरः नागरिक

रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्। परराष्ट्रमन्त्री साउद अयोध्यास्थित राममन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने जनाएको छ।

परराष्ट्र मन्त्री साउदको आज बिहान ११ बजे दिल्लीबाट विशेष विमानमा अयोध्या पुग्ने कार्यक्रम छ। उनलाई अयोध्यास्थित महर्षि वाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश सरकारका मन्त्रीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ।

विमानस्थलबाट उनी भगवान श्रीराम जन्मभूमि मन्दिर पुग्ने छन्। त्यहाँ उनी रामललाको दर्शन गर्ने कार्यक्रम छ। मन्त्री साउद अयोध्यामा राम मन्दिर दर्शन गर्ने सरकारका पहिलो प्रतिनिधि हुनेछन्।

मन्दिर प्रांगणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चंपत रायसहित अन्य पदाधिकारीहरूले मन्त्री साउदलाई स्वागत गर्ने कार्यक्रम छ। रामललाको दर्शनको क्रममा त्यहांका मुख्य पुजारीले विशेष पूजा गराउने जानकारी राम मन्दिर तीर्थ क्षेत्र ट्रष्टले दिइएको छ।

परराष्ट्रमन्त्री साउदले मन्दिरमा दर्शनपछि नेपाली जनताको तर्फबाट पाँच प्रकारको विशेष गहना रामललाको प्रतिमाको लागि अर्पण गर्ने छन्। चाँदीले बनाइएको यस आभूषणहरूमा तीर–धनुष, गदा र श्रृंगारका सामानहरू छन्।

परराष्ट्रमन्त्रीले शनिबार साँझ सरयू घाटमा हुने सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम छ। यससँगै उनले अयोध्यामै रहेको हनुमानगढी मन्दिरमा पनि विशेष पूजा गर्ने कार्यक्रम रहेको छ।

जनवरी २२ मा अयोध्या स्थित राममन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्दै रामललाको प्राण प्रतिष्ठा गरेका थिए।

रामललाको प्राण प्रतिष्ठा कार्यक्रम सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत बीचको सांस्कृतिक सम्बन्धको महत्त्वको चर्चा गरेका थिए। ‘सीया वर राम चन्द्र कि जय’ अर्थात् सीताका वर रामचन्द्र कि जय भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले रामललाको प्राणप्रतिष्ठापछि सम्बोधनको सुरुवात गरेका थिए।

रामको परिचय सीताका वर (श्रीमान्) भनेर गरेका थिए। यो अर्थपूर्ण शब्द नेपाल–भारत सम्बन्धको गहिराइ नाप्न काफी छ।

उनको यो सम्बोधनले रामलाई सीतासँग मात्र जोडेन, नेपाल भारतबिचको पारिवारिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई समेत सम्मान गरेको विश्व हिन्दु महासंघ नेपालकी उपाध्यक्ष ज्योत्सना साउदले बताइन्।

प्रकाशित: १२ फाल्गुन २०८० ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App