समयान्तरमा मधेसमा सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। मधेसी समाज अवैध हतियारको त्रासमा बाँच्न विवश छ। अवैध हतियारको कारोबार नरोकिँदा त्यसको बाछिटाले समाज आक्रान्त बन्दै छ मधेस। मधेसमा भित्राइएका अवैध हतियारलाई अहिले व्यक्तिले कमाइ खाने भाँडो र रिस साँध्ने माध्यम बनाएका छन्।
औरही गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका संजित कुमार यादव आफ्नी बहिनीसँग सिरहा नगरपालिका ७ स्थित रामपुकार शर्माको घरमा डेरा गरी बस्दै आएका छन्। संजित र सोही गाउँपालिका वडा नम्बर ४ कमलपुरका सरोजकुमार यादवबीच लामै समयदेखि विवाद छ।
माघ २८ गते राती सरोज पेस्तोल भिडेर संजितसँग रिस फेर्न उनको सिरहा स्थित डेरा पुगे। रिसले रन्थनिँदै सरोजले संजितसँग चर्को विवाद गर्न थालेपछि आफन्तजनकले प्रहरीलाई खबर गरे। प्रहरी संजितको डेरा पुगेर सरोजको शरीर तलासी गर्दा कटुवा पेस्तोल बरामद भयो। सिरहा प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार समयमै प्रहरीलाई खबर नभएको भए जे पनि हुन सक्थ्यो।
रिस फेर्न हतियार भिडेर पुगेका सरोजले जे पनि गर्न सक्थे डिएसपी पाण्डेले भने,‘पेस्तोलसहित पक्राउ परेका सरोजको विगतको पृष्ठभूमि पनि आपराधिक देखिएको छ।’ उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा कारबाही अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानबाट उनको पृष्ठभूमि आपराधिक देखिएको छ डिएसपी पाण्डेले भने,‘सरोज डाका मुद्दामा पनि प्रतिवादी छ। उनको पृष्ठभूमि थप खोतल्दै छौँ।’
कात्तिक २९ गते महोत्तरी प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–२ नवलपुरका ३५ वर्षीय शक्तिकुमार पासवान र ३७ वर्षीय रितेश पासवानलाई १ थान कटुवा पेस्तोल र ४ राउन्ड गोली सहित पक्राउ गर्यो।
पक्राउ परेका दुवै जना ११ वटा मुद्दामा फरार सूचीमा थिए। पछिल्लो समय उनीहरू धनुषामा १, महोत्तरीमा २ र रौतहटमा १ स्थानमा लुटपाट गरी फरार भएका थिए। दुवै जनाले केही दिनअघि जलेश्वर नगरपालिका–८ मा भुवनेश्वर चौधरीको घरमा हतियार देखाउँदै ६० लाखभन्दा बढीको गरगहना र नगद लुटपाट गरेका थिए।
मङ्सिर ३ गते रौतहटबाट सशस्त्र प्रहरीले ४ थान अत्याधुनिक हतियार बरामद गर्यो। सशस्त्रको इन्टेलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका–३ स्थित एक घरबाट ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्यागेजिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद गरेको थियो।
घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन युएसए’ र एक नाल ‘मेड इन इन्डिया’ लेखिएको छ।
मङ्सिर ११ गते सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएको सप्तरीको पश्चिम नाकाबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गर्यो। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बेल्हीबाट खटिएको पाँच जनाको पैदल गस्ती टोलीलाई देखेपछि नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले कपडाको पोका फालेर भारततर्फ भागेको थिए। उक्त कपडाको पोका खोली चेक गर्दा एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद भएको थियो।
ससाना विवाद र रिसमा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन। अवैध हतियारको बिगबिगीका कारण मधेस प्रदेशमा हत्याहिंसाका घटना बढ्दै छन्। सामान्य झगडा र विवादमा हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा कटुवादेखि ‘स्वचालित’ पेस्तोलसम्म प्रयोग भएको पाइन्छ। मधेस प्रदेशका आठ वटै जिल्लाको सिमाना भारतसँग जोडिएको छ। खुला सीमाका कारण वारिपारिको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्राएको पाइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्यामकुमार महतोले बताए।
प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लाबाट आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा १२ थान अवैध हतियार बरामद भएका छन्। सोही अवधिमा १३ वटा हातहतियार तथा खरखजाना मुद्दा दर्ता भएकोमा २४ जना आरोपित पक्राउ परेका छन्।
प्रहरीले सानाठूला हतियार बरामद गरिरहे पनि मधेसमा अवैध हतियार प्रयोगबाट आपराधिक क्रियाकलाप रोकिएको छैन।
हत्याका अधिकांश घटनामा अवैध साना हतियार प्रयोग भएको प्रहरी अधिकारी बताउँछन्। तराई–मधेसमा लामो समय काम गरेका प्रहरी अधिकारीहरूका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती हो।
नेपाल–भारतका अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधीबाट वारिकाले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएर समेत ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) को धन्दा गरेको पाइएको छ।
कात्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) प्रयोग भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनको हत्यामा भारत मोतीहारी जिल्ला दार्पा थाना १ सुक्लहियाका सुजितकुमार सिंह ‘कन्ट्र्याक्ट किलर’को रूपमा प्रयोग भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए।
मधेसको समाजमा अर्को प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्। मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको पाइन्छ।
लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारी बताउँछन्। घरघरमा साना अवैध हतियार खानतलासी गर्न कानुनी झन्झट रहेको उनीहरू बताउँछन्। मधेसमा सशस्त्र समूहको बिगबिगी भएका बेलाजस्तो अहिले त्यति भयावह अवस्था छैन तर चुनौती पनि कम छैन। प्रहरीको सक्रियताले हतियार र हतियारधारी व्यक्ति पक्राउ पर्ने क्रम बढेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी महतोले बताए। ‘अवैध हतियार राखेको हुन सक्ने व्यक्ति र स्थानमा खोजी अभियान जारी छ,’ उनले भने।
वारि अपराध पारि आश्रय
असोज ९ गते बाराको पचरौटा नगरपालिका–६ स्थित लक्ष्मीनियामा अजितकुमार सिंहको गोली हानेर हत्या भयो। साँझ ६ बजे नेपाल–भारत सिमानाको ७ सय मिटर नेपालतर्फ लक्ष्मीनियास्थित पोखरीमा २२ वर्षीय सिंहको हत्या भएको थियो। मृतक भारत मोतिहारीका थिए ।
प्रहरीले हत्या अनुसन्धानको क्रममा मृतक सिंहकी पत्नी २३ वर्षीया सोनम सहनीलाई पक्राउ गर्यो। सहनीले सुजितकुमार सिंहलाई आफ्नो श्रीमान् हत्याका लागि ‘कन्ट्र्याक्ट किलर’ को रूपमा प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ। वारि हत्या गरेर पारि लुक्ने र पारि हत्या गरेर वारि लुक्न खप्पिस उनीमाथि वारिपारि कैयन अपराध मुद्दा छन्।
सिंहमाथि २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपूजन यादवलाई बाराको गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको पनि अभियोग छ।
उनी सुपारी लिएर वारिपारि विभिन्न अपराधलाई अन्जाम दिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।
सर्राफको हत्यापछि सिंह भारतको कलकत्तामा लुक्दै बस्दै आएका थिए । प्रहरीको विशेष टोली कलकत्ता पुगेर सिंहलाई पुस ८ गते बारा ल्याइएको स्रोतले बतायो। बारा प्रहरीले भने सिंहलाई सीमा क्षेत्रको नेपाली भूमिबाटै पक्राउ गरिएको दाबी गरेका छन्।
सिंह वारि छिरेको सूचना पछ्याउँदै पुगेको प्रहरी टोलेले बाराको बिश्रामपुर गाउँपालिका–३ स्थित डम्पिङ साइट नजिक उनी भेटिएपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीलाई लक्षित गरी गोली चलाएका थिए। त्यसपछि जवाफी फायरिङ गरी उनलाई नियन्त्रणमा लिइएको एसपी काफ्लेले बताए।
सर्राफ हत्याका अर्का मास्टर माइन्ड हुन चन्चल पाण्डे। सुपारी किलर उनी वारिपारि थुप्रा अपराधलाई अन्जाम दिइसकेको प्रहरीको रेकर्ड छ। उनीमाथि पारि विभिन्न १८ अपराध मुद्दा छन् भने वारि चार अपराध मुद्दा रहेको प्रहरी स्रोतले बतायो।
सर्राफ हत्यापछि उनी रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न ‘सुपारी’ लिएको उनकै गिरोहका सुजित सिंहले बारा प्रहरीमा बयान दिएका छन्। ३६ लाखमा साह हत्याको कन्ट्र्याक्ट गरी १८ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत लिइसकेको सिंहले प्रहरीमा बयान दिएका छन्। सिंहको यो डरलाग्दो बयानपछि बारा प्रहरीले चन्चलको खोजीमा विशेष प्रहरी परिचालन गर्यो। सो टोली चन्चल मध्य प्रदेशको उज्यैनमा रहेको सुराक पाएर त्यहीँ पुगे। र, उनलाई पक्राउ समेत गर्न सफल भए।
तर, चन्चललाई वारि नल्याइ पुर्याउँदै उक्त सूचना बाहिरिएपछि भारतीय प्रहरीले उतै रोक्यो। उनी विरुद्ध पारि दर्ता भएका मुद्दामा मोतिहारी प्रहरीले अनुसन्धान गरिरहेको छ।
खुला सिमानाका कारण अपराधीलाई वारि (नेपालमा) अपराध कर्म गरेर पारि (भारतमा) गएर बस्ने र र पारि अपराध गरेपछि वारि आएर लुक्न सजिलो भएको छ। अपराधी निर्धक्क घुमफिर गरेको थाहा पाए पनि प्रहरीलाई वारिबाट पारि र पारिबाट वारि आएर पक्राउ गर्न कानुनी रूपमा सहज छैन। यही कानुनी जटिलताको फाइदा उठाउँदै अपराधीले वारिपारि आश्रय लिने प्रहरी अधिकारी बताउँछन् । खुला सिमानाले अपराधीलाई वारिबाट भागेर पारि गई तथा पारिबाट भागेर वारि आई लुक्न सजिलो भएको छ।
नेपाल–भारत सीमावर्ती क्षेत्रका बासिन्दाबीच नाता सम्बन्ध छ। यो सम्बन्धलाई कतिपय अपराधीले दुरूपयोग गर्दै आएका छन्। अपराधीले नातेदारका घरलाई आश्रयस्थल बनाउँछन्। नेपाली सीमागाउँ–सहरका अधिकांश मानिसको नाता सम्बन्ध सीमावर्ती भारतीयसँग जोडिएको छ।
भारतीय सीमावर्ती गाउँ–सहरका मानिसको नाता सम्बन्ध नेपालका सीमावर्ती गाउँ–सहरका मानिससँग जोडिएको छ। नाता–सम्बन्धको यही आवरणमा अपराधीलाई लुक्न सजिलो भएको छ। दुवैतिरका अपराधीले दशगजा क्षेत्रका नाता–कुटुम्बकहाँ आश्रय लिने गरेको प्रहरी अधिकारी बताउँछन्।
‘उता (नेपाल) मा अपराध गरेको केही घण्टामै अपराधी यता (भारत) आइहाल्छन्, यताबाट अपराध गरेर लुक्न उता (नेपाल) पुग्छन्,’ एक भारतीय प्रहरी अधिकारी भन्छन्। सीमा काटेपछि अपराधीले आफूलाई सुरक्षित ठान्छन्। नेपालका प्रहरीले पारि (भारत) गएर सहजै अपराधी÷आरोपितलाई पक्राउ गर्न मिल्दैन । यसका लागि कानुनी रित पूरा गर्नुपर्छ। भारतका प्रहरीलाई पनि यही जटिलता छ। यही कानुनी जटिलताले सीमावर्ती क्षेत्र अपराधीको आश्रयस्थल बन्दै गएको छ।
सधैँ अवैध हतियारकै त्रास
तत्कालीन माओवादीको ‘सशस्त्र युद्ध’का बेलादेखि मधेसमा अवैध हतियारको त्रास फैलिएको हो। ‘सशस्त्र युद्ध शान्ति प्रक्रियामा रूपान्तरण भएपछि देशमा एक हदसम्म शान्ति त फैलियो तर मधेसमा अरू धेरै सशस्त्र समूह जन्मिए। माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० मा जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेसमा पुनः अवैध हतियारको त्रास सुरु भयो। मधेस र मधेसीको मुक्तिका लागि भन्दै गोइतको संगठनले तराई–मधेसमा सशस्त्र सङ्घर्षको घोषणा गरे। विवाद र मतभेदका कारण स्थापनाको दुई वर्षमै मोर्चा दुई चिरा भयो।
ज्वाला सिंहले आफ्नै नेतृत्वमा फेरि जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समूह सञ्चालन गरे। त्यसपछि त जनतान्त्रिकका नाम यति चल्यो कि यो नामबाट दर्जनौँ समूह बाहिर आए। जनतान्त्रिकका नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो कि मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले। मधेस मुक्तिका लागि भनिएको सशस्त्र सङ्घर्षलाई अवैध हतियारको आडमा कमाइको माध्यम बनाइयो। तर समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा बन्द भए पनि अवैध हतियारको त्रास भने घटेको छैन। अवैध हतियारको आडमा मधेसीजन सदाबहार त्रास खेप्न बाध्य हुँदै आएका छन्।
प्रकाशित: ११ फाल्गुन २०८० १९:१० शुक्रबार