१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर छलीका ५९ बोरा सुपारीसहित तीनजना पक्राउ

उदयपुर प्रहरीले कर छलेर ल्याउँदै गरेको सामानसहित तीनजनालाई पक्राउ गरेको छ। बेलका नगरपालिकास्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र बेलकाकै प्रहरी चौकी लालबजारबाट खटेको संयुक्त टोलीले बिहीबार मध्यराति सामान र मान्छे पक्राउ गरेको हो।

पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१०३ नम्बरको मात्री भाग्यरेखा यात्रुवाहक बसमा चेकजाँच गर्दा फेला परेको काँचो सुपारी बरामद गर्दै तीनजनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना पानीट्यांकी स्थायी घर भएका ४४ वर्षीय निलकान्त सिंह, सोही ठाउँका ४४ वर्षकै दुलाल देही र ऐजन ठेगानाका ६४ वर्षीय सञ्जय राजवंशी रहेका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार राति ११ः२० बजेको समयमा बेलका नगरपालिका ५ जहडास्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा हुइकिँदै गरेको बस चेकजाँच गर्दा सुपारी फेला परेको हो। सामान आयातनिर्यातको कुनै आधिकारिक कागजात नपाइएपछि कर छली गरेर लैजाँदै गरेको आशंकामा सामानसहित मानिस नियन्त्रणमा लिइएको डिएसपी चौधरीले बताए।

काँचो सुपारी ५९ बोरामा पोका पारेर लैजाँदै गरेको पाइएको छ। अन्दाजी तीन हजार किलो ग्राम स’पारी कहाँबाट कर्ता लैजाँदै गरेको भन्ने खुलेको छनै। बरामद सामान र पक्राउ व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताएका छन्।

एसपी थापाका अनुसार पछिल्लो समय कर छलीका सामान ओसारपसार, लागुऔषध कारोबार र दुर्घटनाजस्ता आपराधिक गतिविधि जिल्लामा बढ्दै गएपछि नियन्त्रणका उपाय अपनाउन प्रहरीले गतिविधि बढाएको छ। त्यसका लागि प्रहरीले जिल्लाका सबै युनिटमा कार्यरत प्रहरी जनशक्ति २४ घन्टै परिचालन गर्ने गरिएको छ भने मदन भण्डारी लोकमार्गदेखि भित्री–बाहिरी सबै सडकमा चेकजाँचमा कडाइ गर्न थालिएको उनले बताए।

पछिल्लो समय लागुऔषध कारोबार र दुव्र्यसनविरुद्ध जिल्लाव्यापी अभियान चलाइँदै छ भने फरार अभियुक्तको खोजी र पक्राउ कार्यलाई तीव्रता दिइएको छ। लागुऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न तीन महिनादेखि ‘म लागुऔषध छाड्ने हिम्मत गर्छु’ र ‘लागुपदार्थ हुन्न भनौँ’ भन्ने नारासहित अभियान चलाइएको छ।

गत मंसिर ६ देखि सुरु भएको अभियानमा लागुऔषध प्रयोगकर्तालाई उनीहरुका अभिभावकसहित जिल्ला प्रहरी कार्यालयमै राखेर तीन दिनसम्म विभिन्न किसिमिका प्रवचन दिँदै विषयविज्ञ र अनुभवीबाट परामर्श दिइएको थियो। परामर्श दिएर छाडिएका उनीहरुको पछिल्लो अवस्थाको जानकारी लिन एसपी थापा स्वयं दुव्र्यसनीहरुको घरघर पुग्ने गरेका छन्। घरघर पुगेर प्रयोगकर्तालाई भेटेर लागुपदार्थ खाने गरेका बेला र अहिले छाडेपछिको अवस्थाबारे जानकारी लिँदै सामान्य जीवनमा फर्कन आग्रह गर्ने गरेका छन्।

अभियानमा संलग्न प्रहरी नायब निरीक्षक गंगाराम राईका अनुसार एसपी थापाको प्रत्यक्ष निगरानीमा सुरु यो कार्यक्रम प्रभावकारी देखिएको छ। अभियान सञ्चालन भएको भर्खर तीन महिना मात्र भए पनि प्रयोगकर्तामा धेरै सुधार आएको र उनीहरुमा आत्मबल बढ्दै सामान्य जीवनमा फकेर भविष्य उज्यालो बनाउने सपना र योजना बुन्न थालेको पाइएको राईले बताए। यो अभियानलाई सफल पार्न सके जिल्लामा लागुऔषध कारोबार र प्रयोगमा परिवर्तन आउने अपेक्षा गरिएको राईले बताए।

२४ घन्टामा आठ फरार पक्राउ  

यसैबीच पछिल्लो २४ घन्टामा प्रहरीले आठजना फरार अभियुक्त पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतबाट दोषी करार भए पनि भाग्दै आएकालाई खोजबिनका क्रममा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिलला प्रहरी कार्यालयबाट खटेको टोलीले बिहीबार त्रियुगा नगरपालिका ३ मोतीगडाका ५१ वर्षीय फिरीलाल चौधरी र सोहीठाउँका रामलाल भन्ने भरतकुमार तामाङलाई पक्राउ गरेको हो। उनीहरु दुवैलाई जिल्ला अदालत उदयपुरको ०७३ भदौ १३ को फैसलाअनुसार दुईदुई हजार रुपैयाँ जरिवाना फैसला सुनाइएको थियो। सात वर्षअघिको आपराधिक मुद्दामा अदालतले दोषी प्रमाणित गरे पनि भाग्दै आएका उनीहरु खोजबिनका क्रममा पक्राउ परेको प्रहरी भनाइ छ।

बुधबार मात्र फरार रहेका ६ जना प्रतिवादी पक्राउ परेका थिए। जुवा खेलेको अपराध कार्यमा संलग्न भएको मुद्दामा अदालतले ५० देखि ३ सय रुपैयाँसम्म जरिवाना फैसला गरे पनि भाग्दै आएका त्रियुगा नगरपालिका ३ मोतीगडाकै ६ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ५० वर्षीय मानबहादुर ठकुरी, ८१ वर्षीय होमबहादुर ज्युठकुरी, ५९ वर्षीय नेत्रबहाुदर सिंह ठकुरी, ७५ वर्षीय प्रेमबहादुर राउत, ४५ वर्षीय छविकुमार रास्कोटी र ४० वर्षीय बद्रीनारायण थापा रहेका छन्। पक्राउ सबैलाई जिल्ला अदालतमा बुझाइएको र अदालतले जरिवाना असुलउपर गरी रिहा गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८० १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App