१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

निर्माण सम्पन्न नहुँदै उद्घाटनको हतारो

झापामा निर्माणधीन भ्युटावरको औचित्यमाथि महालेखाको प्रश्न

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको धरहरा निर्माण सम्पन्न हुनुअघि नै उद्घाटन गरेपछिको विवाद अझै जारी छ। यही विषयलाई लिएर काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच द्वन्द्व चलिरहेको छ।

यही बेला प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार पनि झापा दमकमा निर्माण हुँदै गरेको ‘भ्यु–टावर’ उद्घाटन गर्न हतारिएर ठेकेदारलाई दबाब दिइरहेको छ जबकि यो भ्युटावर निर्माणमा महालेखा परीक्षकको कार्यालयले पटकपटक प्रश्न उठाउँदै आएको छ।

निर्माणाधीन भ्युटावर उद्घाटन गर्न सहरी विकास मन्त्रालयलाई हतारिएको छ। यो भ्यूटावरको शिलान्यास पनि तत्कालीन प्रधानमन्त्री ओलीले नै गरेका थिए। उद्घाटनपछि यसको सञ्चालन र व्यवस्थापनको जिम्मा कसले लिन्छ भन्ने अझै टुंगो छैन। यस विषयमा मन्त्रालयले कार्यविधिसमेत बनाएको छैन। कार्यविधि नबन्दै र काम पूरा नहुँदै उद्घाटन गर्न मन्त्रालयलाई हतार भएको छ।

भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीलाई समेत मन्त्रालयले सहमतिअनुसार रकम भुक्तानी गर्न सकेको छैन। मन्त्रालयले ठेकेदार कम्पनीलाई २३ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ। ठेकेदार कम्पनीले आफूलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरेर मात्र उद्घाटन गर्न मन्त्रालयले दबाब दिइरहेको छ।

अहिलेसम्म भ्युटावरको काम ९४ प्रतिशत काम सकिएको छ। सत प्रतिशत काम सकेर मात्र उद्घाटन गर्न निर्माणको काम गरिरहेका कन्स्ट्रक्सन प्रतिनिधिहरूले मन्त्रालयका उच्च कर्मचारीहरूलाई दबाब दिइरहेका छन्।

मन्त्रालय स्रोतका अनुसार यही फागुन महिनाभित्र भ्यु टावर उद्घाटन गर्ने तयारी भइरहेको छ। ‘सम्भवतः यही फागुन १४ गते उद्घाटन हुने सम्भावना छ। अहिले त्यसको तयारी भइरहेको छ,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने।

मन्त्रालयका सचिव मणिराम गेलालले भने भ्युटावर उद्घाटन कसले गर्ने र कहिले गर्ने भन्ने विषयमा अझै टुंगो नलागेको बताए। भ्युटावरको काम पूरा नसकिएको उनले स्वीकार गरे।

भ्युटावरको काम गरिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख सुदीप पौडेलले भने यही फागुनभित्र भ्युटावर उद्घाटन गर्नेगरी तयारी भइरहेको बताए। ‘यही फागुन महिनाभित्रै उद्घाटन गर्नेगरी अहिले तयारी भइरहेको छ,’ उनले भने। कसले गर्ने भन्ने विषयमा अझै टुंगो नलागेको उनको भनाइ छ। पौडेलका अनुसार भ्युटावरको काम अहिलेसम्म करिब ९५ प्रतिशत भएको छ। पूरा काम सकिन थप एक महिना लाग्ने उनको भनाइ छ। ‘भुक्तानी गर्न बाँकी रूपैयाँ भुक्तानी गरेर मात्र भ्यु टावर उद्घाटन गर्न हामीले मन्त्रालयका उच्च कर्मचारीलाई भनिरहेका छौं,’ निर्माण कम्पनी ओम साइराम कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक विजयकुमार साहले भने, ‘काम पूरा नहुँदै उद्घाटन गर्नु राम्रो हुँदैन। काम गराएपछि राज्यले त्यसको भुक्तानी दिनुपर्छ।’

उनले भने, ‘हामीले पनि काम लगाएका र सामान खरिद गरेका कम्पनीलाई भुक्तानी दिनु पर्ने हुन्छ। काम नहुँदा उद्घाटन गर्दा कसरी भुक्तानी दिने?’

करिब १ अर्ब ७० करोड रूपैयाँमा भ्युटावरको ठेक्का चिनियाँ कम्पनी तेडिआइ फिजेदले पाएको छ भने ओम साइराम र आशिष कन्स्ट्रक्सन त्यसका नेपाली पार्टनर हुन्।

मन्त्रालय स्रोत भन्छ, ‘यसको उद्घाटन पनि ओलीले आफैले गर्न चाहेका थिए। किनभने झापा ओलीको गृह जिल्ला हो। यसको उद्घाटन पछि भ्यु टावरको सञ्चालन र व्यवस्थापनको जिम्मा कसले लिन्छ ? भन्ने अझै टुङ्गो लागेको छैन। भ्यु टावरको व्यवस्थापनको जिम्मा लिन दमक नगरपालिकाले अस्वीकार गरेको छ। किनभने यसको सञ्चालन र व्यवस्थापन गर्न खर्चिलो हुन्छ। त्यसअनुसार यसबाट आम्दानी लिन कठिन हुन्छ।’

यो दमक बजारबाट करिब ५ किलोमिटर पश्चिममा छ। त्यसैले यसको व्यवस्थापन र सञ्चालन गर्न खर्चिलो हुने अनुमान गरिएको छ। बजारभन्दा ५ किलोमिटर टाढा भएकोले तत्काल त्यहाँ सपिङ मल, जिम हल, हस्पिटल, ब्युटी पार्लर राख्दा नाफामा जाने सम्भावना कम हुन्छ।

प्रकाशित: ११ फाल्गुन २०८० ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App