१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चरेस बनाउने मेसिनसहित सामग्री बरामद

अभियुक्त तिलक विकबाट बरामद चरेस बनाउने मेसिन र चरेस। तस्बिर सौजन्य ः जिल्ला प्रहरी कार्यालय म्याग्दी।

 प्रहरीले मालिका गाउँपालिका– २ रुमबाट चामलको खाली बोरामा चरेस बनाउने मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र ठूलो परिमाणमा प्याकिङ गर्ने प्लास्टिक झोला बरामत गरेको छ।

फागुन ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारको कालीपुलबाट रुमका ३४ वर्षीय तिलक विकलाई ४ केजी ४५ ग्राम चरेससहित प्रहरीले पक्राउ गरी अनुसन्धानका क्रममा उनले घरनजिकैको सामुदायिक वनमा लुकाइराखेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक कुमार गुरुङले बताए।

‘अभियुक्तसँग रहेको चरेस बनाउने सामग्री बरामद भएको हो, थप अनुसन्धान भइरहेको छ’, सूचना अधिकृत गुरुङले भने। गाउँमै चरेस बनाएर सीधै ग्राहक र व्यापारीसम्म पुर्‍याउने गरिएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटिएको छुट्टछुट्टै टोलीले अभियुक्त विकको घर तथा आसपासका क्षेत्रमा खानतलासी गरेको थियो। विकलाई जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

म्याग्दीमा भेटिएको चरेस अधिकांश पश्चिम म्याग्दी हुँदै आउने गरेको छ। १० वर्षमा म्याग्दी प्रहरीले जिल्लाभित्र लागुपर्दाथ र लागुऔषध ओसारपोसारमा संलग्न ७८ जनालाई सामानसहित पक्राउ गरेको छ। केही वर्ष अगाडिसमेत रुमबाट बुटवलतर्फ लैजाने तयारीमा दरबाङबाट २३ केजी ५० ग्राम चरेससहित पक्राउ परेका तीन महिलालाई प्रहरीले पक्राउ गरेको थियो।

मालिका गाउँपालिकाको रुम क्षेत्रबाट चरेससँगै पटकपटक पक्राउ पर्न थालेपछि स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा खोज र नष्टसहित सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए। जिल्लामा लागुऔषध जिल्ला बाहिरबाट भित्रिन्छ भने गाँजा र चरेस बाहिर खपत हुने गरेको छ।

म्याग्दीमा खेतबारीमा व्यावसायिक रूपमा गाँजा खेती नगरिए पनि प्रहरीको नियमित नजर नपुग्ने क्षेत्रमा विषादी तथा रासायनिक मल प्रयोग नगरी गाईवस्तुको मूलपत्र र स्याउलाबाट बनेको कम्पोस्ट मल प्रयोगबाट उत्पादित चरेसको माग धेरै रहेको प्रहरी हिरासतमा रहेका अभियुक्तहरूले बयान दिएका छन्।

प्रकाशित: १० फाल्गुन २०८० ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App