१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘विराटनगर जुट मिल्स’ आगलागीको अझै खुलेन कारण

विराटनगर महानगरपालिका–१६ मा रहेको देशकै पहिलो उद्योग ‘विराटनगर जुट मिल्स’मा मंगलबार राति आगलागी भएको छ।

लामो समयदेखि बन्द रहेको जुट मिलमा आगलागी भएको हो। चल्दै बन्दै हुँदै पुनः चल्दै गरेको जुट मिल २०७८ माघदेखि पूर्ण रूपमा बन्द रहेको मोरङ प्रहरीले जनाएको छ। 

बन्द रहेको मिलमा मंगलबार राति ९ बजेदेखि अचानक आगलागी भएको बताउँदै, मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले भने, ‘बुधवार बिहान १ बजेतिर पूर्ण रूपमा आगलागी नियन्त्रणमा आयो। २ वर्षदेखि बन्द रहेको जुट मिल्समा अचानक आगलागी हुनु शङ्कास्पद अवस्था सिर्जना भएको छ। विद्युत् सर्ट हुनका लागि विद्युत् वायरिङ हुनुपर्छ। तर, त्यहाँ विद्युत् सप्लाइ भएको देखिँदैन। घटनाको फरक तवरबाट अनुसन्धान थालेका छौँ।’ 

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप बेलवासेको नेतृत्वको टोलीले घटनाको अनुसन्धान सूक्ष्म तवरबाट अनुसन्धान थालेको छ। घटना मानिसले नै घटाएको हुनसक्ने डिएसपी दाहालले बताए। 

जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट आगलागी सुरु भएको हो। जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र नियन्त्रणमा लिन निक्कै समय लागेको थियो। 

आगोले जुटका बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्ण रूपमा जलेर क्षति हुनुका साथै ३ वटा मेसिनमा क्षति पुगेको छ। करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। 

मिलका एक पुराना कर्मचारीले भने जुट मिल्समा कसैले आगो लगाइ दिएको हो। २ वर्षदेखि बन्द मिलमा आफै कसरी आगो लाग्छ? आगो लाग्ने अवस्था सिर्जना हुनु प¥यो नि आगो लाग्नका लागि, उनले भने, ‘घटनाको प्रकृति हेर्दा नियोजित भएको देखिन्छ। सरकारले मिल पुनः सञ्चालन गर्ने हल्ला चलाएपछि मिल विरोधी तत्त्वले आगो लगाइ दिएको हुनुपर्छ। प्रहरी प्रशासनले यो घटनाको निष्पक्ष तवरबाट अनुसन्धान गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्छ।’

प्रकाशित: ९ फाल्गुन २०८० ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App