७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

साढे ३ वर्षदेखि अलपत्र धाब्लाङ पुलको निर्माण सुरु

धाब्लाङमा पक्की पुलको पाईल पिल्लर राख्न पानी छेकेर नदी साँघुरो पारिँदै। तस्बिर: महेश्वर

खोटाङको दक्षिण भेगलाई उदयपुर सदरमुकाम हुँदै तराई जिल्ला र राजधानी काठमाडौँ जोड्न महत्त्वपूर्ण नाकाको रुपमा रहेको धाब्लाङस्थित सुन नदीमा निर्माणाधीन पुल अलपत्र परेको ३ वर्षपछि निर्माण सुचारु भएको छ। त्रियुगा नगरपालिका १४ साउन र खोटाङ बाराहापोखरी गाउँपालिका ३ सुन्तलेबिच  धाब्लाङमा साढे ६ वर्षअघि पक्की पुल निर्माण सुरु भएकोमा ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको थियो।

०७३ असार ३० गते सम्झौता गरी २०७६ असार मसान्तभित्र हस्तान्तरण गर्ने सम्झौता भएको पुलको शिलान्यास ०७४ भदौ २३ गते प्रधानमन्त्री देउवाले गरेका थिए। तर, शिलान्यास गरेको ३ वर्षसम्म १० प्रतिशत मात्र काम हुँदै ठेकेदार लापत्ता भएपछि अलपत्र थियो। डिजाइन गलत भएको भन्दै निर्माण कार्य रोकेर ठेकेदार भागेपछि साझेदारमध्येकै अर्को कम्पनीले काम सुचारु गरेको हो। एक महिनायता पुल निर्माण कार्य सुचारु भएको र अहिले पाईल फाउण्डेसनको काम सुरु भएको छ। धाब्लाङमा अव भने पुलमार्फत नदी वारपार गर्न पाउने सपना पुरा हुने स्थानीमा आसा जागेको छ।

वारिपारि २ वटा पिल्लर उठाएर छाडिएको पुल बनाउने जिम्मा पप्पु–स्वच्छन्द–रसुवा जेवीले लिएको हो। तर, पप्पु निर्माण सेवा कालोसूचीमा परेपछि स्वच्छन्दले पुल बनाउन थालेकोमा डिजाइन नमिलेको भन्दै अलपत्र पारेर छाडेको थियो। लगभग ३ वर्ष अलपत्र परेको पुल निर्माण सुचारु गर्न खोटाङ र उदयपुरे जनताले पटकपटक जनप्रतिनिधिमार्फत चर्को दबाब दिँदै आएका थिए।

मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक २२ करोड ५० लाख मूल्यमा ठेक्का सम्झौता भएको उक्त पुल जेबीकै साझेदार रसुवा कन्स्ट्रक्सनले निर्माणमा निरन्तरता दिएको छ। रसुवाले पुलको काम सुचारु गर्दै २ वर्षभित्र निर्माण सम्पन्न गर्ने बचन दिएको छ। ५ स्पान, २ सय ५ मिटर लम्बाई र पैदल कवलसहित साढे १० मिटर चौडाईको पुल वेल फाउण्डेसनको डिजाइन बद्लेर पाईल फाउण्डेसनमा बनाउने भएको छ।

वर्षौँसम्म पुल नबन्दा खोटाङका जनप्रतिनिधि मतदाताबाट नराम्ररी आलोचित भएका थिए। गएको मंसिरमा सम्पन्न चुनावताका मतदातासमक्ष जाँदा तत्कालीन सांसद विशाल भट्टराई, प्रदेश सांसद रामकुमार राई (पासाङ) लगायत उम्मेदवारलाई मतदाताले चर्को आलोचना गर्दै पुल बनाउन नसकेकोमा गाली गरेका थिए। जस अनुसार प्रतिनिधिसभामा चुनाव जिते लगत्तै सांसद राई, प्रदेश सांसद भूपेन्द्र राईलगायतले विभाग, मन्त्रालय र प्रधानमन्त्रीसम्मलाई भेटेर पुल चाँडो बनाउन अनुरोध गरेका थिए। ‘०७९ को चुनावमा भोट माग्न जाँदा पुल नबनाएको भन्दै जनताको चर्को आलोचना खेप्नु पर्‍यो’ सांसद राई स्मरण गर्छन् ‘मतदाताहरू जाइलाग्न खोजे पछि चुनाव जिताएर पठाए सबभन्दा पहिला यही पुल बनाउने कसम खाएर मतदातालाई पन्छाउनु पर्‍यो।’ धेरै आलोचना खेप्नु परेकाले निर्वाचन सकिए लगत्तै पुल निर्माण कार्यमा आफल लागी परेको सांसद द्वयले बताए।

रसुवा कन्स्ट्रक्सनले ‘वेल फाउण्डेसन’ डिजाइन परिवर्तन गरेर ‘पाईल फाउण्डेसन’मा पुल बनाउन थालेको कन्स्ट्रक्सनका सञ्चालक मोहन आचार्यले बताए। उनले २ वर्षअघि जसरी पनि पुल बनाएर हस्तान्तरण गर्ने बताएका छन्। केही दिनअघि स्थलगत अनुगमन गर्न धाब्लाङ आएका इन्जिनियरसमेत रहेका आचार्यले स्थानीयहरूलाई आश्वस्त पार्दै आउँदो २ वर्षभित्र धाब्लाङ नाका भएर खोटाङ र उदयपुर आउजाउ गर्न पाउने विश्वास दिलाए। उनले आफ्नो कम्पनीले मदन भण्डारी लोक मार्गको पूर्वी भेग (उदयपुर–सिन्धुली) खण्डमा ४३ वटा पुलको ठेक्का लिएर म्यादभित्रै निर्माण सम्पन्न गरेको बताउँदै घाटा नाफा नहेरी पुल बनाउने बताएका छन्।

पुल सेक्टर १ सुनसरीले पुल बनाउने काम सुरु भईसकेको र निर्माण कम्पनी इमान्दार भएकाले समयमै बनिसक्ने जनाउको छ। पुल सेक्टर प्रमुख (डिई) प्रदीप भण्डारीले रसुवा कन्स्ट्रक्सन पुल निर्माणमा ख्याति कमाएको कम्पनी भएकाले तोकिएकै समयभित्र धाब्लाङको पुल बनिसक्ने अपेक्षा गरिएको बताएका छन्। डिई भण्डारीले पहिलेको निर्माण कम्पनीले पुलको काम ढिला गरेकाले सडक विभागले अग्रिम भुक्तानी जमानत (एपिजी)बापत दिइएको ४ करोड ४२ लाख रुपैँया फिर्ता लिइसकेको पनि बताएका छन्। सम्झौता बमोजिम काम नगरेपछि सडक विभागको निर्देशन अनुसार २०७९ फागुन २५ गते र माघ २६ गते गरी दुई पटकमा एपिजी रकम फिर्ता लिएको भण्डारीले बताए।

धाब्लाङ पुल खोटाङको दक्षिणी भेगका जनताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको स्थानीयहरू बताउँछन्। त्रियुगा १४ साउने हुँदै उदयपुर सदरमुकाम गाईघाटसँग सोझो यातायात जोडिने हुँदा यो नाकाबाट तराई भेगका सहर बजारसँग छिटो आउजाउ गर्न सकिन्छ। खोटाङको आधाभन्दा बढी भूभागबासी नागरिकलाई यो पुलले प्रत्यक्ष लाभ पुर्‍याउने बराहा पोखरी गाउँपालिकाका युवा व्यवसायी मुकेश राई बताउँछन्। राईका अनुसार यो पुलबाट खोटाङका दिप्रुङ चुईचुम्मा, बाराहापोखरी, जन्तेढुंगा, खोटेहाङ गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरबासी नागरिक प्रत्यक्ष लाभान्वित हुन्छन्।

गाईघाटसँग पक्की सडकले जोडिएको साउनेदेखि धाब्लाङसम्म स्तरोन्नतिसहितको ग्राबेल सडक ३ वर्षअघि नै सञ्चालनमा आइसकेको छ। उता खोटाङतर्फ पनि धाब्लाङदेखि बाराहापोखरी गाउँपालिका केन्द्र धर्तुङसम्मको कच्ची सडक ३–४ वर्षदेखि सुचारु छ। बाराहापाखेरीले गत वर्षदेखि हर्रेचुङ–धाब्लाङ खण्डको सडक ग्राबेलसहित स्तरोन्नति गर्ने काम चालु राखेको वडाध्यक्ष मपद मगरले बताएका छन्। 

प्रकाशित: ७ फाल्गुन २०८० १८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App