१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

विश्व सामाजिक मञ्चको रौनक

विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा बिहीबारदेखि सुरु भएको छ।

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनको प्रारम्भमा पदयात्रा आयोजना गरिएको थियो। विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धताका साथ न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत कार्यक्रम गरिरहेका छन्। साथमा विभिन्न सामग्री, समेटिएका ब्यानर र प्लेकार्डसहितको प्रदर्शन भएको छ।

सम्मेलनमा नेपालबाट वर्षेनी लाखौँ युवा कामका लागि बिदेसिने गरेका छन्। प्रतिवर्ष अर्बौं रूपैयाँ विप्रेषण नेपालमा भित्रिने गरेको छ। आप्रवासी कामदारहरूले कामदार पठाउने देश र गन्तव्य देशहरूको विकासमा योगदान गरिरहेका छन्। तापनि आप्रवासी कामदार आफ्नो देश र गन्तव्य देशमा ठगी र शोषणमा परेका छन्।

उनीहरूले न्याय पाउन सकिरहेका छैनन्। यसैलाई सन्दर्भ पारेर मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले न्याय परेडसमेत आयोजना गरेको थियो।

‘आप्रवासी कामदारका न्यायसम्बधी मुद्दा उठाउन, आप्रवासी कामदारको न्यायबारे नेपाल सरकार, गन्तव्य देशका सरकारहरू, अन्तर्राष्ट्रिय संस्था र विश्व समुदायको ध्यानाकर्षण गराउन यो कार्यक्रम गरेका हौं,’ पिपुल फोरमका अध्यक्ष सोम लुइँटेलले भने।

युवा विदेश गएका छन्। परिश्रम गरिरेहका छन्। त्यहाँबाट केही रेमिट्यान्स पठाएर परिवारको जीविकोपार्जनमा मद्दत पनि गरिरहेका छन्। तर, वैदेशिक रोजगारीको क्रममा विदेशमै अकालमै मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन। यसको न्यूनीकरणका लागि विश्व समुदायको ध्यान जानुपर्छ।

‘कुनै समय आफ्नो श्रीमान्को मृत्यु हुँदा श्रीमती सँगै जलेर मर्नुपर्ने सती प्रथाको अन्त्य गरियो,’ पिपुल फोरमका अध्यक्ष लुइँटेले भने, ‘विस्तारै समाज उनीहरूको पुनर्विवाहमा पनि राजी हुन थालेको छ।

कुनै बेला धर्मका आधारमा चलेको शासन परिवर्तन गरेर आज जनताद्वारा लिखित कानुनअन्तर्गत शासन सञ्चालन गरिएको छ। सीमित मानिसले शिक्षा पाउनुपर्छ भन्ने मान्यताबाट सबैले शिक्षाको पहुँच पाउनुपर्छ भन्ने मान्यताको विकास भएका छन्।’

नेपाली समाज अहिले पनि विभिन्न समस्याले गुज्रिरहेको छ। यहाँका युवालाई देशले रोक्न सक्ने अवस्था छैन। विभिन्न तेस्रो मुलुकमा गएर पसिना बगाउनुपर्ने बाध्यतामा नेपाली छन्।

विश्व सामाजिक मञ्चमा भाग लिन ९२ मुलुकका करिब ४० हजारको सहभागिता रहेको आयोजकले जनाएको छन्।

हालसम्म अन्तर्राष्ट्रिय श्रम संगठन महासंघ एसिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानवअधिकारकर्मी तथा नर्मदा बचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अतिथि वक्ताको सहभागिता निश्चित भएको नेपाल आयोजक समितिका सदस्य डा. नेत्र तिमिल्सिनाले जानकारी दिए।

सम्मेलनमा एक हजार २५२ संस्थाका तर्फबाट १३ मूल विधामा आधारित चार सय कार्यक्रम दर्ता भएको उनले जानकारी गराएका छन्। सम्मेलनमा श्रम, आप्रवासन, आर्थिक असमानता र आर्थिक न्याय, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा विभिन्न कार्यक्रम हुने उनले जानकारी गराए।

विश्वले विकासमा फड्को मारिसक्दा पनि नेपाली समाज अझै पनि विभेद, अन्याय र अभाव अल्झिरहेको हुँदा २०८० फागुन ३ देखि ७ सम्म काठमाडौंमा विश्व सामाजिक मञ्च आयोजना भएको हो। आज दुई दिन भएको यस कार्यक्रममा मानिसको घुइँचो भने बृहत् रूपमा थियो।

त्यस्तै अन्य विभिन्न संस्थासम्बन्धी विभिन्न कार्यक्रम भएको थियो। सामाजिक क्षेत्रमा काम गर्ने अभियन्ताहरूका लागि यो एउटा खुसीको क्षण हो। सन् २००१ मा ब्राजिलको पोर्ताे एलेग्रेमा भएको पहिलो विश्व सामाजिक मञ्चको १६औं संस्करण नेपालमा पनि आयोजना भइरहेको छ। सँगसँगै विश्व समाजलाई नजिकबाट बुझ्ने थलो र नेपालको मुद्दा विश्वसाम पुर्‍याउने अवसर पनि हो।

राष्ट्रियता, लैंगिकता, भाषिकता, धार्मिकता, जातीयता, क्षेत्रीयता, वर्गीयता जस्ता अन्य धेरै आधारमा मानिसहरूबीच समाजमा असमानता रहेका छन्। यसले हरेक मानिसका भिन्न–भिन्न र सामूहिक पहिचान निर्माण भएका छन्।

विश्वमा यसैको आधारमा मानिसहरूको तहगत विभाजन हुँदा केही सीमित मानिसले असीमित अधिकार उपयोग गर्ने सामाजिक संरचना निर्माण भएका छन्।

सामाजिक संरचनाका कारण निर्माण भएका उत्पीडित वर्ग–समुदाय, महिला, दलित, आदिवासी, अपांगता भएका व्यक्ति, किसान, मजदुर, गरिब समूहको पक्षमा बहस र छलफल गर्ने सम्मेलन हो।

विश्वमा भइरहेका शृंखलाबद्ध युद्धमा लाखौं मानव हत्या र हिंसाको सिकार बनिरहेका छन्। आज विश्वलाई विकसित, विकासोन्मुख, अविकसित आधारमा विभाजित गरेर बुझिन्छन्।

गरिबी, असमानता, हिंसा, युद्ध र शोषण समाजका रोग हुन्। विश्वका अधिकांश सामाजिक संरचनाहरूले नै विश्वमा रहेका गरिबी, असमानता, शोषणको निरन्तरता गरिरहेका छन्।

यस्ता सामाजिक संरचनाको निरन्तरता गरिरहेका हरेक सदस्य असमानताका लागि जिम्मेवार छन्। विकसित भनिएका राष्ट्र, धनी राष्ट्र, पुँजीपति वर्ग जसले यस्ता असमान संरचनाबाट निरन्तर लाभ लिएका छन्, उनीहरूको जिम्मेवारी सबैभन्दा धेरै हुन्छ।

विश्वका प्राकृतिक स्रोत र साधनहरू सबैका साझा हुन्। यसमा हरेक व्यक्ति र समुदायको स्वामित्व रहेको हुन्छ। आज हामीसँग भएका प्राकृतिक स्रोतको अधिकतम उपभोग गरिँदै छ।

विश्व सामाजिक मञ्च विश्वमा भइरहेका विभिन्न सकारात्मक परिवर्तन, न्याय र समानताको आन्दोलनको प्रवद्र्धन गर्ने र एकअर्काको अनुभवको आदान–प्रदान गर्दै परिवर्तनको पक्षमा लाग्न मानिसमा आशा, भरोशा र ऊर्जाको सञ्चार गर्ने बहस, छलफल सँगै एकीकृत प्रतिरोधलाई प्रवर्धन गर्ने मञ्च रहेको छ।

विश्वमा रहेका विभिन्न असमानताको सामना गर्न संगठित प्रतिरोधको आन्दोलन र अभियान चलाउनुपर्ने उनले जानकारी गराए।

यहाँ किसान र मजदुर धेरे छन् तर उनीहरू भुइँमा छन्। यसले गर्दा यो जगतमा एउटा वर्गलाई अब त बाँच्नै सकिँदैन कि भन्ने आभास हुन्छ। साथै उनीहरू जमिन र जगतमा आश्रय र जीविकाका लागि संघर्ष गरिरहेका छन्। भूमि, पानी, जलवायु, रोजगारी, खाद्यान्नका लागि लामो संघर्षको लडाइँ लडिरहेका छन्।

देशमा शिक्षा, स्वास्थ्य, रोजगारी, आवासका लागि सबै मानिसको पहुँच छैन। यी विषय राज्यले निःशुल्क पनि गर्न सकेको छैन। विकृत राजनीतिले देशलाई गन्जागोल बनाइरहेको छ। भुइँ तहका मानिस पीडामा छन्। यसमा पनि विश्व समुदायको ध्यान हुनपर्ने जरुरी छ।

विकसित मुलुकका कारण नेपाली समुदायले भोग्नुपरिरहेको समस्याको उचित सम्बोधनका लागि उनीहरूले पनि पैरवीको विषय बनाउनुपर्छ।

संगठित र संरचनामा गडिएको यस्तो असमानता असंगठित प्रयत्नबाट परिवर्तन सम्भव छैन। त्यसैले विश्व सामाजिक मञ्च समानता, सामाजिक न्याय, मानवअधिकार, दिगो विकास, वातावरणीय न्याय, शान्ति र मानवतावादका लागि बहस, पहल र हस्तक्षेप गर्ने संगठित प्रयास हो।

प्रकाशित: ५ फाल्गुन २०८० ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App