२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिला प्रहरी हत्या प्रकरण: कसरी ल्याए झाँक्रीले तालिम केन्द्रको पेस्तोल ?

महिला प्रहरी माथि गोली प्रहार गरि हत्या गर्ने सहायक प्रहरी हवलदार यमबहादुर झाँक्रीलाइ नेपालगन्ज स्थित प्रहरी तालिम केन्द्रकै एक प्रहरीले हतियार दिएकाे खुलेकाे छ। 

झाँक्रीलाई गुपचुपमै हतियार दिने हवलदारलाई भने प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ। झाँक्रीले आफू कार्यरत नेपालगन्ज स्थित प्रहरी तालिम केन्द्रकै पेस्तोल लिएर आएको बयान दिएपछि यसबारे थप खुलेको हो।

जिल्ला प्रहरी प्रमुख, एसपी रामबहादुर केसीका अनुसार प्रहरीले ड्युटीका क्रममा प्रयोग गरेको हतियार सम्बन्धित प्रहरी कार्यालयमा बुझाएर मात्रै डुयुटि बाहिर निस्कन मिल्छ। तर झाँक्रीले भने आफूले प्रयोग गर्दै आएको पेस्तोल प्रहरी कार्यालयमा नबुझाएर बाहिर निस्किएका थिए।

झाँक्री नेपालगन्ज तालिम केन्द्रका जुडो प्रशिक्षकका रुपमा कार्यरत थिए । प्रहरीको विभागीय भाषामा भन्दा उनी तालिम केन्द्रका ‘रनर’ हुन्।

उनले तालिम केन्द्र भित्र जुडो प्रशिक्षणसँगै अन्य आवश्यकीय कामकाज हेर्दै आएका थिए। तालिम केन्द्रका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार उनले हतियार प्रयोग गर्न पाउँदैन थिए। तर उनले १५ दिन अघि जिन्सीमा कार्यरत हवल्दारसंगको व्यक्तिगत सम्बन्धका आधारमा पेस्तोल ल्याएका थिए।

‘मलाई बाहिर अत्यावश्यक कामका लागि जानु पर्ने भाछ, सुरक्षाका लागि पेस्तोल चाहियो भनेर जिन्सीमा भनेको रहेछ,’ डिएसपी बस्नेतले भने ‘अनि जिन्सीमा कार्यरत उसको साथीले व्यक्तिगत सम्बन्धका आधारमा हतियार दिएछ।’ तर हतियार दिने र लिनेका बिचमा मात्रै यो कुरा सीमित रह्यो। नत हतियार दिने जिन्सीमा कार्यरत हवलदारले उपल्ला अधिकारीलाई जानकारी गराए, न हतियार लिने झाँक्रीले कसैलाई भने। 

केही दिनलाई मात्रै सुरक्षाका लागि हतियार चाहिएको भनेर मागेका झाँक्रीले धेरै दिन सम्म नदिएपछि आफूसँगै रहेको र कुनै चिन्ता नगर्न भनेका थिए। 

‘झाँक्रीले हतियार लिएको विषय लिने र दिनेका बिचमा मात्रै सीमित रह्यो, उनिहरुले कसैलाई पनि जानकारी दिएनन्,’ डिएसपी बस्नेतले भने ‘यो घटना पछि बल्ल हतियार लिने र दिने बिच गोप्यमा यो भएको रहेछ भन्ने थाहा भयो।’ 

१५ दिन अगाडी केही थान गोली र पेस्तोल लिएका झाँक्री गत २ गते बिदामा निस्किए। त्यो बेला हतियार दिएका जिन्सीका प्रहरीले उनलाई हतियार बुझाउन भनेका थिए तर झाँक्रीले आफूले बाकसमा ताल्चा लगाएर राखेको भन्दै नआत्तिन भनेका थिए। तर उनी दुई गते नै सोही हतियार बोकेर दाङ आइपुगे। सोही हतियार प्रयोग गरि झाँक्रीले श्रीमती थापाको हत्या गरेका थिए।

गोली प्रहार गरि फरार भएका उनी समातिएपछि यो हतियार बारे अनुसन्धान भएको थियो। उनको साथबाट प्रहरीले पेस्तोल र सात राउण्ड गोली बरामद गरेको थियो।

बयानमा उनले तालिम केन्द्रकै हतियार रहेको भन्ने जवाफ दिएपछि दाङ प्रहरीले यो बयानबारे तालिम केन्द्रलाई जानकारी गराएको थियो। 

यो जानकारी पश्चात् जिन्सीमा हतियार जाँच गर्दा उक्त हतियार तालिम केन्द्रकै रहेको थाहा भएको तालिम केन्द्रका डिएसपी बस्नेतले जानकारी दिए। 

‘सुरुमा हतियार बारे थाहा भएन, तर पछि बयानमा उसले तालिम केन्द्रकै रहेको भन्ने बयान दिएको भन्ने कुरा आएपछि जिन्सीमा जाँच भयो,’ बस्नेतले भने ‘जिन्सीमा जाँच गर्दा उक्त हतियार यही तालिम केन्द्रकै रहेको भन्ने पुष्टि भयो।’

झाँक्रीलाई गुपचुपमै हतियार दिने हवलदारलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ। ‘सुरक्षाका लागि चाहियो भनेपछि यहाँको हवलदारले व्यक्तिगत सम्बन्धका आधारमा आफूले दिएको भन्ने बयान दिएको छ,’ डिएसपी बस्नेतले भने ‘हतियार दिएर उसले कसैलाई पनि कुनै जानकारी नै गराएको रहेनछ।’

बिहीबार बेलुका श्रीमतीको हत्या गरेका झाँक्री गोली प्रहार गरेर फरार भएका थिए। उनलाई घोराही लमही सडक खण्डको अर्जुनखोलाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनले वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत श्रीमती- महिला प्रहरी धनमाया थापालाई तीन राउण्ड गोली प्रहार गरि हत्या गरेका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित: ४ फाल्गुन २०८० २०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App