१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दसैँपछि कर्मचारीले पाएनन् तलब

प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैलेखको आठबिस नगरपालिकाका कर्मचारीले दसैँपछि तलब सुविधा पाएका छैनन्। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नतोकिँदा तलबसँगै नगरपालिकाका कामहरूसमेत प्रभावित भएका छन्।

हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा नगरका कामहरू भइरहेका छन्। जसका कारण निर्णय लिनुपर्ने महत्त्वपूर्ण कामहरू प्रभावित हुने गरेका छन्।

निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीलाई तोकिएको थियो। फेरि बिचमा दानबहादुर एडी प्रमुख प्रशासकीय अधिकृतका रूपमा एक दिन हाजिर भए। एक महिना पुग्दासमेत एक दिन हाजिर भएर फर्केका एडी पुनः नगरपालिकामा फर्केर आएका छैनन्।

स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयमार्फत एडी अन्तै सरुवाको तयारीमा रहेका छन्। आठबिस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न नमान्दा विकास योजना लगायतका कामहरूको भुक्तानी, कर्मचारीको तलब लगायतका काममा बर्सेनि समस्या हुने गरेका छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कर्मचारी भेट्नै मुस्किल हुने गरेको स्थानीय गणेश शाही बताउँछन्।

आठबिस नगरपालिका–८ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक डरेन्द्रबहादुर चन्दले नगरबाट दसैँपछि तलब निकासा नभएको सुनाए। ‘तीन महिनाको अन्तरमा तलब आउनुपर्नेमा दसैँपछि एक पटक पनि तलब आएको छैन,’ प्रधानाध्यापक चन्दले भन्छन्, ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब खान पाइएन।’

तलबका लागि आठबिसमा शिक्षक महासंघले विज्ञप्ति निकालेर नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई बुझाएका छन्। तलब समयमा नपाउँदा निकै सकस हुने गरेको शिक्षकहरूको दुखेसो छ।

नगरमा ५९ विद्यालयमा ४०२ शिक्षक कार्यरत छन्। ५९ विद्यालयका कुनै पनि शिक्षकले दसैँयता तलब खान नपाएको आठबिस नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेमराज खनालले बताए।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आठबिस नगरपालिकामा कार्यरत कर्मचारीले पनि लामो समयदेखि तलब भत्ता खान नपाएको स्वास्थ्य शाखा प्रमुख देवबहादुर तिमिल्सेनाले बताए।

प्रकाशित: ४ फाल्गुन २०८० १६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App