१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नागरिकता लिन झुटो विवरण दिने दुईजनालाई जरिवानाको फैसला

झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुईजनालाई ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला अदालतले सूर्याेदय नगरपालिका ५ का ५० बर्से भुवन सिंह गजमेर र २२ बर्से चेतन गजमेरलाई यस्तो फैसला सुनाएको हो।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सम्बन्धित वडाका वडाध्यक्षसहित ६ जनालाई भने सफाइ दिएको छ। भुवन सिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो’ भन्दै झुटो विवरण दिई नागरिकता बनाउन वडामा कागजात पेस गरेका थिए। उनको विवरणका आधारमा वडाले गत असार १९ मा पशुपतिनगर सीमा प्रशासन कार्यालयमा नागरिकताका लागि सिफारिस गरेको थियो।

तर, स्थलगत सर्जमिनपछि चेतन भुवनको छोरा नभएको तथ्य फेला परेपछि असार २१ मा वडाले सीमा प्रशासनमा विवरण झुटो भएको जानकारी गराएको थियो। वडाको जानकारीपछि सीमा प्रशासनले पशुपतिनगर प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेपछि प्रहरीले असार २५ मा भुवन सिंह र चेतनलाई पक्राउ गरेको थियो।

साउन १८ मा जिल्ला अदालतमा पेस गरिएका भुवन र साउन १९ मा १०–१० हजार रुपैयाँ धरौटी बुझाउन लगाई तारिखमा राखिएको थियो। अदालतले उनीहरूको विवरणसहित नागरिकताका लागि सिफारिस गरे पनि पछि विवरण झुटो भएको थाहा पाएपछि प्रशासनमा जानकारी दिने वडा ५ अध्यक्ष उर्गेन बम्जनलाई भने सफाइ दिएको छ।

जन्मदर्ताका आधारमा चेतन भुवन सिंहको छोरो हो भनी सनाखत गर्ने स्थानीय लीला विश्वकर्मा, शिरबहादुर कामी, कुमारी तामाङ, ललिता विश्वकर्मा र चन्द्रबहादुर घलेले पनि अदालतबाट सफाइ पाएका छन्।

प्रकाशित: ४ फाल्गुन २०८० ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App