५ वैशाख २०८१ बुधबार
समाज

एसपीहरूलाई गृहमन्त्री श्रेष्ठको निर्देशन: ‘नेताहरूको ढोका चहार्ने र घुस अफर गर्ने प्रवृत्ति त्याग्नुस्!’

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक(एसपी)हरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्।

माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो।

बिहीबार बिहान गृहमन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको उपस्थितिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा  गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्य क्षेत्रमा खट्न आग्रह गरेका थिए।

यसअघि नयाँ जिम्मेवारी तोकिएका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि उनले मन्त्रालयमा बोलाएर शुभकामना तथा सरकारका प्राथमिकतामा काम गर्न सामूहिक निर्देशन दिएका थिए।

जिम्मेवारीमा जानुअघि अधिकारीहरूलाई आवश्यक निर्देशन दिने प्रचलनको सुरुवात गृहमन्त्री श्रेष्ठले नै गरेका हुन। यसले अधिकारीहरूलाई सरकारको कार्यभार, नीति र कार्यक्रमको स्पिरिट बुझेर काम गर्न तथा कार्य कुशलता देखाउन हौसला मिल्ने विश्वास समेत मन्त्रालय नेतृत्वले लिएको छ।

सरकारले पहुँच र विभिन्न स्वार्थका आधारमा होइन क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेकोले बिनासङ्कोच, दबाब र प्रभाव मुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिए।

अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने उनले बताए। प्रमुखको जिम्मेवारी पाउन दल एवं नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न समेत उनले प्रहरी अधिकारीहरूलाई दिए।

लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन, यी सबै योजनामा प्रदेश तथा पालिका सरकारसँग समन्वय गरेर काम गर्न र मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्न समेत उनले निर्देशन दिए।

मन्त्रालयले प्रहरी अधिकारीहरूको सरुवा, काज सरुवा र पदस्थापनमा निश्चित मापदण्ड तय गरिसकेको छ। त्यही मापदण्ड अनुसार एसपीहरूको नयाँ जिम्मेवारी तोकिएको हो। पहुँच र भनसुन आधारमा नभएर सेवा अवधि, क वा ख वर्गका जिल्लामा काम गरेको आधार, जिल्ला प्रमुखको रूपमा काम गरेको आधार र एउटै जिम्मेवारीमा नदोहोरिने गरी मापदण्ड बनाइएको हो।

जस्तो किस् क वर्गका जिल्लामा काम गरिसकेका प्रहरी अधिकारीको ख वर्गका जिल्लामा सरुवा हुनेछ भने ख वर्गका जिल्लामा काम गरिसकेका प्रहरी अधिकारीको क वर्गका जिल्लामा सरुवा हुनेछ।

त्यस्तै कुनै जिल्लामा प्रमुखका रूपमा काम गरिसकेका प्रहरी अधिकारीको पुनः अर्को जिल्लामा तत्काल प्रमुखकै रूपमा सरुवा हुन नसक्ने मापदण्ड तय गरिएको छ।

अब सरुवा मापदण्ड प्रभावकारी बनाउन पहिल्यै योग्य अधिकारीहरूको सूची सार्वजनिक गरी त्यसै भित्रबाट जिम्मेवारी तोकिने तयारी समेत मन्त्रालयले गरेको छ।

प्रकाशित: ३ फाल्गुन २०८० ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App