१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मानुङकोट खानेपानी समस्या सल्टिँँदै

 तनहुँको व्यास नगरपालिका– ५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो। संघीय सरकारबाट चालु वर्षमा दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्यांकी निर्माण हुन थालेको छ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानी ट्यांकी निर्माण गर्न थालिएको बताए। उनले भने, ‘यहाँको खानेपानी समस्या सम्बोधन गर्न नगरपालिका प्रतिबद्ध छ।  हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदै छौं। यहाँको खानेपानी समस्या सम्बोधन हुन्छ।’

व्यास– ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले एक हप्ताभित्र खानेपानीको मुहान निश्चित हुने जानकारी दिए। उनले भने, ‘करिब छ–सात किलोमिटरको दूरीबाट खानेपानी बोरिङ गरेर ल्याउने छौं। केही मुहानमा विवाद हुँदा ढिलाइ भएको छ, समन्वय गरिरहेका छौं।’ पानी ल्याउने मुहान सुनिश्चित भएपछि पानीको समस्या टर्ने छ।

यस ठाउँसँग जोडिएको पौराणिक किंवदन्ती रहेको छ। मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको मानिन्छ। महर्षि वेद व्यासकी माता मात्स्यगन्धासँग महर्षि परासर प्रेममा हुनुहुन्थ्यो। मत्स्यगन्धासँगको प्रेमलीला अरुले नदेखून् भनेर महर्षि परासरले कुहिरोको उत्पत्ति गराएको कथनसमेत रहिआएको छ। मानुङकोटबाट पूर्वतर्फ दमौली बजारका साथै पश्चिमतर्फ गुणादी, उत्तरतर्फ मादी नदी, साँगेखोला र दक्षिणतर्फ सेती नदी छर्लंग देखिन्छ।

यसका साथै रमणीय हरियाली वनजंगल देखिन्छ। विगतमा घन्टौं लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी मानुङकोट फेदीतर्फ झरे। पानी सहज हुने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन्। करिब पाँच वर्षयता मानुङकोट पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ।

विगतमा करिब ५०–६० घरधुरी बस्दै आएकामा पानी समस्या भएपछि मानुङकोटको फेदी अलैंचे, पाटनतर्फ झरेका हुन्। मानुङकोटमा केही सुविधासम्पन्न होटल बन्ने क्रममा छन् तर पानी अभाव कहिले पूर्ति हुन्छ भन्ने अपेक्षामा रहेका होटल व्यवसायीमा खानेपानी ट्यांकी बन्न लागेपछि खुसी छाएको व्यवसायी चुडामणि दाहालले बताए।

उनले भने, ‘सुविधासम्पन्न होटल बन्दै गए पनि पानीको समस्या हल नहुँदासम्म सकस नै रहेको छ। अब ती समस्या एक वर्षमा पूरा हुने अपेक्षा गरिएको छ।’ योजना निर्माणको काम हुने अवस्था पुगेकाले अब छिटै सहजता कायम हुने पूर्वजनप्रतिनिधिसमेत रहनुभएका दाहालले बताए।

यहाँबाट देखिने कुहिरो, हिमशृंखला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन्। हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ। घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लंग देखिन्छ। यससँगै हिमशृंखला पनि सुन्दर देखिने गर्दछन्।

यही हिमशृंखला र डाँडाबाट देखिने चारैतिरको सुन्तरता हेर्न पर्यटक लालायित हुने गर्दछन्। मानुङकोटबाट धवलागिरि, माछापुच्छे अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यहाँको लोभलाग्दो दृश्यले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ।

यी मनोरम दृश्यालोकनका लागि आउने पर्यटककै कारण अन्यत्र पुगेका यहाँका स्थानीय गाउँ फर्किन थालेका हुन्। पर्यटकीय क्षेत्रका रूपमा मनुङकोट विकास हुँदै जाँदा यहाँ स्थानीय होटल व्यवसायमा संलग्न हुन थालेका छन्। मानुङकोट पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएपछि पानी अभावले रित्तिएको बस्ती अहिले पर्यटकीय स्थलका रूपमा विकास भएसँगै स्थानीय फर्किन थालेका हुन्। –रासस

प्रकाशित: २ फाल्गुन २०८० ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App