१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

‘संक्रमित र रसायनयुक्त फोहोर उत्पादक आफैँले व्यवस्थापन गर्नुपर्ने’

तस्बिर: काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ। 

उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो।

काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ। ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्छ। यो व्यवस्थामा उल्लेख भएका दायित्व सम्बन्धी काम अनुगमनका सूचक हुन्।

‘सहरी वातावरणमा महसुस योग्य सुधार गर्नुपर्छ। यस कार्यका फोहोर उत्पादकहरुले दायित्व बोध गरेर नागरिक र कानुनी दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ।’ अनुगमनपछिको संक्षिप्त प्रतिक्रियामा डंगोलले भनिन्, ‘वातावरणीय जोखिम बढ्न नदिन हामी सचेत छौँ। क्षेत्राधिकारभित्रका काम गरिरहेका छौँ।’

अनुगमका क्रममा अस्पतालको नर्सिङ विभागका प्रमुख राधिका घिमिरे, संक्रमित फोहोर उत्पादन हुने ठाउँ, उत्पादित फोहोर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापनको अभ्यास देखाएका थिए।

घिमिरेका अनुसार अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गर्ने प्रणाली विकास गरेको हो। 

सामान्य फोहोर उत्पादन हुने ठाउँमा ४ प्रकारका बाल्टिन राखिएका छन्। प्लाष्टिक, बोतल र क्यान, कागज र खानाजस्ता कुहिने बस्तु छुट्टाछुट्टै बाल्टिनमा जम्मा गरिन्छ। हानिकारक फोहोर संकलन गर्न ८ वटा बाल्टिनसहितको ट्रली प्रयोग गर्ने गरिएको छ।

संक्रमित फोहोर निर्मलीकरण गर्न १ सय लिटरका २ वटा अटोक्लेभ मेसिन राखिएका छन्। उपचारका क्रममा उत्पादन भएको तरल हानिकारक फोहोरलाई क्लोरिनेसन गरेर सामान्य बनाउने घिमिरेको भनाइ छ।

निर्मलीकरण गरिएको पुनः प्रयोग गर्न सकिने फोहोर बेचेर अस्पतालले वार्षिक करिब १ लाख ८० हजार रुपैयाँ आम्दानी समेत गर्ने गरेको छ।

प्रकाशित: २९ माघ २०८० १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App