१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

म्याग्दीमा ८५ प्रतिशतभन्दा बढी औषधि पसल अवैध

बेनी बजारमा रहेका औषधि पसलको अनुगमन गर्दै नगर उपप्रमुख ज्योति लामिछाने।फाइल: तस्बिर/नागरिक

म्याग्दीमा औषधि व्यवस्था विभागबाट अनुमति लिएभन्दा सात गुणा बढी विनास्वीकृतिका औषधि पसल सञ्चालनमा रहेको पाइएको छ। जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश बस्तीमा विनास्वीकृति सञ्चालन गर्नेको संख्या बढ्दो छ।

नेपाल औषधि व्यवसायी संघ म्याग्दीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेका जिल्लाभर जम्मा १३ वटा मात्र औषधि पसल रहेको जनाएको छ। अवैध औषधि पसलले बिरामीलाई मनपरी औषधि दिँदा जटिल रोगका बिरामी बढ्न थालेको तथ्यांक सार्वजनिक हुँदासमेत स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र औषधि व्यवस्था विभाग द्रष्टा मात्र बनेर बसेको अवस्था छ।

जिल्लाभित्र रहेका ८५ प्रतिशतभन्दा बढी औषधि पसल अवैध छन्। फार्मेसी विषयमा अध्ययन गरेकालाई मात्र औषधि पसल सञ्चालन गर्न स्वीकृति दिने गरिए पनि म्याग्दीका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले समेत अनुभवका आधारमा बिरामीलाई औषधि दिने गरेको पाइएको छ।

‘औषधि व्यवस्था विभागबाट अनुमति लिएका १३ वटा पसल छन्, अवैध औषधि पसलसँग हाम्रो कुनै सम्बन्ध हुँदैन,’ औषधी व्यवसायी संघ म्याग्दीका अध्यक्ष शम्भुराज पाण्डेले भने। अनुमति लिएर बर्सेनि नवीकरण गर्नुपर्ने र आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने अध्यक्ष पाण्डेको भनाइ छ।

कानुनी प्रक्रिया पूरा गरी संघमा आबद्ध हुन अनुरोध गर्दासमेत अटेर गरेको संघका पदाधिकारीको गुनासो छ। जिल्लाका ६ स्थानीय तहका ४५ वडामा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारीले समेत औषधि बिक्री गर्छन्।

चिकित्सकको प्रेस्क्रिप्सनमा मात्रै प्रयोग गर्न मिल्ने औषधि डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेटसमेत खुलेआम बिक्री हुँदा ग्रामीण क्षेत्रमा लागुऔषध प्रयोगकर्ता बढेका छन्। बिरामी थला परेपछि, जटिल समस्या उत्पन्न भएपछि मात्रै सदरमुकाम बेनी अस्पताल रेफर गर्ने गरिए पनि वृद्धवृद्धा, आर्थिक रूपमा विपन्न वर्गका भने अन्यत्र जान नसक्ने अवस्थामा गाउँमै जोखिम मोलेर उपचार गर्न बाध्य छन्।

बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले औषधि पसललाई कानुनी प्रक्रिया पूरा गरी सञ्चालन गर्न बारम्बार ताकेता गरिएको बताइन्। ‘बजार अनुगमनसमेत गरिएको छ, ‘समुदायस्तरमा पुगेरसमेत सचेत बनाएको छु,’ उपमेयर लामिछानेले भनिन्।

जिल्लामा छिटो निको हुने नाममा अनावश्यक र चिकित्सकको सिफारिसविनै औषधि बेच्ने तथा सोहीअनुरूप एन्टिबायोटिकको अधिक प्रयोग गर्दा दीर्घरोगी बढेका छन्।

बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले एन्टिबायोटिकको दुरूपयोगको अवस्था डरलाग्दो रहेको बताए। उनले रुघाखोकी, ज्वरो आउनासाथ कडाखाले एन्टिबायोटिक औषधि खाने र बेच्ने गरेको पाइएको बताए।

जिल्लामा मिर्गौलारोगीको संख्या डरलाग्दो अवस्थामा रहेको र मुटु, कलेजोलगायत दीर्घरोगीको संख्यासमेत उकालो लागिरहेकामा स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा अवैध औषधि पसलको संख्या औंलामा गन्ती गरेर साध्य नहुने म्याग्दीका नियमन निकायकै स्वीकारोक्ति छ।

गत वर्ष जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न भएको एक कार्यक्रममा म्याग्दीका सबै स्थानीय तहका प्रमुखले अवैध औषधि पसललाई बन्द गर्ने प्रतिबद्धता जनाए पनि राजनीतिक पहुँचवाला, आफन्त र विभिन्न दबाबका कारण अनुगमन गर्नसमेत डराइरहेका छन्।

प्रकाशित: २८ माघ २०८० ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App