२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लोप हुन थाले ओखल

जुम्ली महिला सामूहिक रूपमा ओखलमा धान कुट्दै । तस्बिर: गोल्डेन/ नागरिक

जुम्लाको गुठीचौर गाउँपालिका–५ की वसन्ती धिताल चारपाँच वर्षअघिसम्म बिहान भालेको डाँकोसँगै उठेर परिवारका सबै सदस्यलाई पुग्नेगरी ओखलमा मुस्लोले धान कुट्न सुरु गर्थिन्। उनले बिहे गरेको २० वर्ष भयो।

माइती घरमा पनि उनले ओखलमा धान राखेर कुट्थिन। ओखलले घरमा पनि छाडेन। परिवारलाई पुग्नेगरी धान कुटेपछि उनी भात भान्सामा लाग्थिन्। परिवार सानै भएका कारण चारपाँच दिनमा ओखलमा धान कुट्नुपर्ने बाध्यता थियो। तर अहिले उनको त्यो बाध्यता हटेको छ। किनकि गाउँमा धान कुट्ने मिल राखिएको छ।

कुटानी–पिसानी गर्ने आधुनिक मिल गाउँमा राखिएपछि ओखलमा धान कुट्ने मौलिक परम्परा पनि लोप हुन थालेको छ। ओखल मात्र हैन, जाँतो पनि गाउँघरमा लोप हुन थालेको उनी बताउँछिन्।

‘कुटानी–पिसानी गर्ने मिल गाउँमा सञ्चालन भएसँगै ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ,’ उनले भनिन्, ‘पहिला ओखलमा कुट्थ्यौं, अहिले मिलमा लैजान्छौं।’

पहिला प्रत्येकका घरमा ओखल बनाइएको हुन्थ्यो। कुटानी–पिसानीका आधुनिक मिल ठाउँ–ठाउँमा सञ्चालनमा आएसँगै ओखल देख्नसमेत मुस्किल हुन थालेको छ। ओखलमा धान कुट्दा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको वसन्तीले बताइन्।

उनले भनिन्, ‘ओखल महिलालाई निकै बोझ थियो, ठुलो परिवारका महिलाले निकै परिश्रम गर्नुपथ्र्याे। धान कुट्ने काम महिलाले मात्रै गर्थे। अहिले गाउँगाउँमा मिल राखिएपछि महिलाको बोझ घटेको छ।’

घर नजिकै मिल नहुँदा भने बोकेर लैजानल्याउन परेको उनले बताइन्। उनको गाउँमा मिल छैन, अर्को गाउँमा छ। मिलमा जान एक घण्टा लाग्छ। टाढा भए पनि सबैले मिलमै कुटानी–पिसानी गर्न थालेका छन्।

मिलमा धान कुट्न छिटो भए पनि स्वाद भने खासै नहुने सोही गाउँका भवानीप्रसाद धिताल बताउँछन्। ओखलमा कुटेको धानको चामल मिलको तुलनामा खाँदा निकै स्वादिलो हुने उनले बताए।

‘ओखलमा कुटेको धानको भात एकदमै स्वादिष्ट हुन्छ। बास्ना आउँछ,’ उनले भने, ‘मिलमा कुटेको त सबै ढुटो हुन्छ, स्वाद नै हराउँछ।’ जुम्लाका ग्रामीण क्षेत्रमा धान कुट्न पहिला ओखल मात्र प्रयोग गरिन्थ्यो।

‘पहिला यहाँ ओखल मात्र चल्थ्यो,’ उनले भने, ‘तर अहिले सबैले मिलमा कुटाउन थालेका छन्।’ उनका अनुसार ढिकीमा भन्दा ओखलमा धान कुट्न धेरै सजिलो हुन्छ। किनकि ओखलमा एकजनाले पनि कुट्न सकिन्छ। तर केही वर्षयता गाउँमा कुटानीपिसानी गर्ने आधाुनिक मिल भित्रिएपछि ओखल परम्परा हराउन थालेको उनले बताए। उनका अनुसार आधुनिक मिलले काममा सहज भए पनि परनिर्भरता बढाएको छ।

सिञ्जा–४ का स्थानीय तिर्थ बुढा आधुनिक मिलले काममा सहज भए पनि खर्च भने बढाएको बताउँछन्। उनी भन्छन्, ‘अहिले सबैले ओखल प्रयोग गर्न छाडे। यसले खर्च बढाएको छ, खानाको स्वाद पनि हराएको छ।’

उनका अनुसार ओखलमै कुटेर चिउरासमेत बनाइन्थ्यो, जुन खान पनि निकै मीठो हुन्थ्यो। जुम्लाका अन्य पालिकामा पनि ओखलको प्रयोग घट्दै गएको बुढाले बताए।

पुरानो पहिचानका रूपमा रहेको ओखललाई जोगाउन पहल गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। ‘ओखलजस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्न स्थानीय तहले चासो दिनुपर्छ,’ बुढा भन्छन्, ‘नयाँ पुस्तालाई पनि पुराना वस्तु, संस्कृति र परम्पराको जानकारी गराउनुपर्छ। पुराना पहिचान जोगाउन सके पर्यापर्यटनलाई समेत बढ्वा दिन सकिन्छ।’

केही वर्ष अघिसम्म जुम्लाका सबै बस्तीमा ओखलको प्रयोग हुँदै आएको थियो। तर अहिले आधुनिकतासँगै ओखल, जाँतो, घट्ट, ढिकीजस्ता परम्परागत उपकरण, जो वातावरणमैत्री छन्, हराउन थालेका छन्। संरक्षण गर्नेतर्फ कसैले चासो दिएको छैन।

‘अहिले जुम्लाका घरेलु औजार हराइसके’, बुढाले भने, ‘हामी को हौं, हाम्रो सभ्यता के हो भन्ने कुराको बोध गराउने औजार, परम्परा, पहिचान लोप हुन थालेसँगै मौलिक संस्कृति र सभ्यता पनि संटमा पर्न थालेको छ।’

स्थानीय स्रोत, साधन र स्थानीय सीपबाटै निर्माण गरिएका घरेलु औजारबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ। घरेलु औजार हाम्रा पुर्खाको विशुद्ध कला र सीपका उपज हुन्।

बुढा भन्छन्, ‘घरेलु उपकरण/औजारको अध्ययनबाट अघिल्ला पुस्ताको आर्थिक, सामाजिक एवं धार्मिक अवस्थाका विषयमा समेत जानकारी हासिल गर्न सकिन्छ।’

परम्परा लोप भए नयाँ पुस्ताका लागि जुम्लाको सांस्कृतिक र मानवीय सभ्यताका विषयमा अध्ययन गर्ने आधार नरहने उनी बताउँछन्। आधुनिकताका नाममा अन्धाधुन्द पश्चिमा संस्कृति र परम्पराको पछि लाग्दा हाम्रो मौलिक संस्कृति छायामा पर्नेमात्र होइन, परनिर्भरता पनि बढ्ने बुढाको भनाइ छ।

दैनिक प्रयोगमा ल्याइने जुम्लाका घरेलु औजारको आफ्नैखाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन्। घरेलु औजारको तुलनामा आधुनिक मेसिनको प्रयोग महँगो हुन्छ। सामूहिक रूपमा प्रयोग गरिने ओखल, जाँतोले घरेलु औजारले सामाजिक सद्भावमा अभिवृद्धिमा सघाउने बुढाको भनाइ छ।

गाउँका महिला मिलेर ओखलमा धान कुट्छन्, जाँतोमा अन्न पिस्छन्। परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु औजार, उपकरणको संरक्षणमा सबै क्षेत्रको ध्यान जानुपर्ने उनले बताए।

प्रकाशित: २७ माघ २०८० ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App