२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेयर बालेनलाई ‘हिटलर’ नबन्न पीडितहरुकाे आग्रह

काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरू महानगरपालिकाविरुद्ध आन्दोलित भएका छन्।

शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरूको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन्। गत सोमबार काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरू महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन्।

बिहीबार शान्तिबाटिकामा पीडितहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई महानगरपालिकाले ज्यादती गरेको बताए। शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधान प्रदत्त अधिकारमाथि महानगरपालिकाका मेयर बालेन साहले हस्तक्षेप गरेका उनीहरूको भनाई छ। उनीहरुले शान्तिबाटिकामा आफूहरुको धर्ना जारी रहने पनि बताएका छन्।

२३८ दिनदेखि आरती साहको न्यायको लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरु हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौं महानगरपालिका मेयर बालेन साहबाट पनि पीडित भएको बताए।

उनले मेयर साहले गरिबहरूमाथि दमन र अत्याचार गरेको सुनाए। शान्ति बाटिका मेयर साह र काठमाडौं महानगरपालिकाको मात्रै सम्पत्ति नभएको भन्दै मेयरले तानासाही व्यवहार देखाएको उनको भनाइ थियो। उनले मेयर साहलाई हिटलर नबन्न आग्रह समेत गरे।

त्यस्तै, मिटरब्याज तथा ठगीविरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमबार धर्नारत महिला तथा बालबालिकाहरुलाई नगर प्रहरीले जबर्जस्ती शान्तिबाटिकाबाट निकालेर ज्यादती गरेको बताइन्।

उनले महिलामाथि ज्यादती गर्ने मेयर र नगर प्रहरीलाई राज्यले कारबाही गर्नुपर्ने जिकिर गरिन्। उनले आफूहरुको आन्दोलन जारी रहेको भन्दै शान्तिबाटिका नछोड्ने स्पष्ट पारिन्। पीडितहरू महानगरको ज्यादतीपछि बिचल्लीमा पर्दा पनि सरकार टुलुटुलु हेरेर बसेको उनको भनाइ थियो।

त्यसैगरी विगत २५ दिनदेखि धर्नारत न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आफूलाई न्यायालयले मर्न बाध्य बनाएको सुनाइन्। उनले आफूमाथि राज्यले आतंक मच्चाएको बताउँदै प्रमाण हुँदाहुँदै पनि बलात्कारी न्यायाधीश भुवन गिरीलाई न्यायालयले संरक्षण गरिरहेको उनको भनाइ थियो।

उनले न्यायालय कहिले स्वतन्त्र र शुद्धीकरण हुन्छ ? भनेर प्रश्न समेत गरिन्। पीडितहरुले आफूहरु शान्तिबाटिकामा बसेर विरोध प्रदर्शन गरिरहने बताएका छन्।

प्रकाशित: २५ माघ २०८० १७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App