१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

लागूऔषध कारोबारीको घेरामा कर्णाली: हुम्लाबाहेक सबै जिल्ला पुगे कारोबारी

३ सय ३४ मुद्दा, छ सय ७ पक्राउ

पछिल्ला वर्षहरूमा कर्णाली प्रदेशमा लागूऔषधका कारोबारीहरू बढेसँगै मुद्दा दर्ताको सङ्ख्याहरू पनि बढ्दो अवस्थामा छ। तीन वर्षयता कर्णालीमा ३ सय ३४ लागुऔषधसम्वन्धी मुद्दा दर्ता भएको छ भने ६ सय ७ जनालाई पक्राउ गरिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका हिमाली जिल्ला जुम्ला र मुगुमा समेत लागूऔषधको कारोबारीहरू बढ्दो अवस्थामा रहेका छन्। प्रहरीले हिमाली जिल्लाबाट समेत प्रयोगकर्ता र कारोबारी भेटिने गरेको पाइएको हो। हुम्लाबाहेक कर्णालीका सबै जिल्लामा लागूऔषध कारोबार हुने गरेको प्रहरी रेकर्डमा देखिएको छ।

गाउँ गाउँमा समुदाय, विद्यालय, कलेजमा लागूऔषध न्यूनीकरणका लागि लालटिन समूह बनाएर अभियान पुगेको छ। तत्कालीन प्रहरी प्रदेश प्रमुख भिम प्रसाद ढकालको कार्यकालमा लागूऔषध न्यूनीकरणमा विशेष अप्रेसन गरिएको थियो। जसका कारण अहिलेसम्मकै धेरै संख्यामा मुद्दा दर्ता भएको हो। प्रदेशभर प्रहरीमार्फत सचेतना कार्यक्रम समेत उत्तिकै भएको छ।

प्रहरीका अनुसार कर्णालीमा आर्थिक वर्ष ०७७/०७८ मा ७० वटा लागुऔषधको मुद्दा दर्ता भएको थियो। यसमा प्रहरीले ब्राउन सुगर ८४ ग्राम ५ सय २७ मिलिग्राम, चरेस ३६ किलो ८४ ग्राम, अफिम ४० किलो ७ सय ग्राम र ट्याब्लेट १५ सय ८१ बरामद गर्‍यो । र, १ सय ३६ जना समात्यो।

त्यस्तै आर्थिक वर्ष ०७८/०८९ मा कर्णाली प्रदेशभर ९५ वटा लागुऔषधको मुद्दा दर्ता भएको थियो। जसमा ब्राउन सुगर १ सय १० ग्राम, २ सय २० मिलिग्राम, चरेस १ केजी ७ सय ९३ ग्राम ६ सय २० मिलिग्राम, अफिम १ केजी ८ सय ग्राम ५ मिलिग्राम, ट्याब्लेट १८ सय ७५ र ६ सय एम.एल. कोरेक्स बरामद भएको थियो। त्यतिबेला प्रहरीले कारोबारी, प्रयोगकर्तासहित १ सय ७२ जनालाई आवश्यक कारबाहीका लागि पक्राउ गरेको थियो।

तिन वर्षयता सबैभन्दा बढी मुद्दा दर्ता आर्थिक वर्ष ०७९/०८० मा १ सय १४ वटा भयो यसमा प्रहरीले २ सय १४ जनालाई पक्राउ गरेर कारबाही गरेको छ।

कर्णाली प्रदेश प्रहरीले यसअघि लागुऔषध नियन्त्रणका लागि विशेष टोली बनाएर परिचालन गरेको थियो। त्यही कारणले कर्णालीमै धेरै कारोबारी र प्रयोगकर्ता समातिएका हुन। आर्थिक वर्ष ०७९/०८० मा ब्राउन सुगर २ सय ५ ग्राम २ सय ७२ मिलिग्राम, चरेस १ सय ६३  ग्राम ९ सय ७७ मिलिग्राम, गाँजा ६ सय ८७  ग्राम ८२ मिलिग्राम, ट्याब्लेट २ सय ७१  र १७ सिसी झोल औषधी बरामद भएको थियो।

आर्थिक वर्ष ०८०/०८१ को हालसम्म ५५ वटा लागुऔषधसम्वन्धी मुद्दा दर्ता भएकोमा ८५ जनालाई प्रहरीले पक्राउ गरेको छ। ब्राउन सुगर ८० ग्राम ३ सय ९० मिलिग्राम, चरेस ८४ ग्राम ९ सय ४८ मिलिग्राम, गाँजा ८ सय ९ ग्राम ३ सय ६० मिलिग्राम, अफिम ९ सय ४० मिलिग्राम र ट्याब्लेट ३० वटा बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) लालमणि आचार्यले लागूऔषध न्यूनीकरणका लागि प्रहरीहरू विशेष रूपमा परिचालन गर्ने बताउँछन्।

प्रदेश प्रहरीका अनुसार सबैभन्दा बढी सुर्खेतमा कारोबारी र प्रयोगकर्ता पक्राउ परेका छन् भने हिमाली जिल्ला मुगु र जुम्लामा समेत लागुऔषध प्रयोगकर्ताहरू फैलिसकेको तथ्याङकले देखाएको छ।

प्रहरीले हुम्लामा अहिलेसम्म लागुऔषध कारोबारी र प्रयोगकर्ता नभेटिएको जानकारी दिएकाे छ।

प्रकाशित: २४ माघ २०८० ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App