राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।
लिमिटेडले उक्त पद खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा आवेदन दिन सकिने व्यवस्था गरेको छ। लिमिटेडले आज प्रथम पटक यो सूचना प्रकाशित गरेको हो।
इच्छुक व्यक्तिले कम्पनी लिमिटेडको प्रधान कार्यालय रामशाह पथ काठमाडौँमा गोप्य सिलबन्दी आवेदन दिन सकिने जनाइएको छ। दरखास्त आवेदनका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
कम्पनीले बीमा, मौद्रिक, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव मागेको छ।
यसैगरी चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा, बैकिंङ, वित्तीय वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातक वा सो सरहको उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा दश वर्ष, बैक वा वित्तीय क्षेत्रमा भए पन्ध्र वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा बाह्र वर्षको अनुभव मागेको छ।
६५ वर्ष उमेर ननाघेको उम्मेदवारले मात्र दरखास्त दिन पाउने व्यवस्था गरिएको छ। थप विवरणका लागि कम्पनीको वेबसाइटमा राखिएको पदपूर्ति सम्बन्धी कार्यविधि हेर्न सुझाइएको छ।
प्रकाशित: २४ माघ २०८० ०७:४४ बुधबार





