२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई नागरिकता बोकेर वाइबाको ठगी धन्दा

बिदेसिनेको व्यथा

ठगी आरोपमा पक्राउ परेका वाइबा

वैदेशिक रोजगारीमा ठगी धन्दा चलाउन सामाजिक सञ्जालको व्यापक प्रयोग भइरहेको छ। सामाजिक सञ्जालको प्रयोगले व्यापकता पाएसँगै ठगी गर्नेले त्यसलाई दुरूपयोग गर्दै आएका छन्।

सामाजिक सञ्जालको दुरूपयोग गर्दै एक व्यक्तिले वैदेशिक रोजगारीमा जान चाहने युवाको करोडौं रूपैयाँ ठगी गरेको पाइएको छ। विकास वाइबा र सुजन तामाङ नाममा दुई नागरिकता प्रयोग गरी ती व्यक्तिले सयौं युवालाई ठगेका हुन्।

वाइबाले एउटा नागरिकता काभ्रेस्थित च्यासिङखर्क–३ ठेगानामा विकास वाइबा र अर्को नागरिकता ललितपुरस्थित नल्लु–५ ठेगानामा सुजन तामाङ नाममा लिएका छन्। तर विकास र सुजन एकै व्यक्ति हुन्।

वैदेशिक रोजगारीमा पठाइदिने नाममा करिब एक हजार युवालाई ठगेर घर न घाट बनाएको आरोप उनीमाथि छ। वाइबाले आधाभन्दा बढीलाई सामाजिक सञ्जाल फेसबुकबाटै ठगेका हुन्। उनले आफ्ना साथीमार्फत पनि ठगी गरेको पाइएको छ।

वैदेशिक रोजगार विभागमा वाइबाविरुद्ध जाहेरी दिने पीडितको संख्या दैनिक बढिरहेको छ। उनले पीडित बनाएका युवामध्ये दैनिकजसो १० जना विभागमा उजुरीका लागि आउने गरेको त्यहाँका सूचना अधिकारीले बताए।

वाइबाको फेसबुक पेजबाटै ठगीमा परेका सर्लाहीका सुशील पाख्रिन पनि आइतबार विभागमा जाहेरी दिन आएका थिए। बिदेसिने तयारीमा रहेका पाख्रिनसँग वाइबाको फेसबुकमार्फत करिब आठ महिनाअघि भेट भएको थियो। वाइबाले ८ लाख रूपैयाँमा पोल्यान्ड पुर्‍याउने आश्वासन पाख्रिनलाई दिएका थिए।

आकर्षक गन्तव्यमा पठाइदिने भनेपछि बिदेसिन चाहिरहेका पाख्रिन वाइबाबाट सजिलै ठगिए। वाइबाले पाँच महिनामा पोल्यान्ड उडाउने आश्वासन दिँदै ३ लाख रूपैयाँ लिएको पाख्रिनले बताए। ‘हामी गरिब मान्छेलाई कस्तो नराम्रोसँग फसायो,’ पाख्रिनले भने, ‘पोल्यान्डको धेरै सपना देखायो।’

जति छिटो पैसा जम्मा हुन्छ, त्यति चाँडो विदेश पुगिन्छ भन्दै वाइबाले प्रलोभनमा पारेको पाख्रिनले बताए। ‘अहिले सर्लाहीदेखि विभाग धाउनुपरेको छ,’ पाख्रिनले भने ‘काठमाडौंमा कहाँ बस्ने? आफन्त छैनन्। वाइबाले विदेश पठाउँछु भनेर लिएको पैसा कहिले फिर्ता आउने हो, केही थाहा छैन। त्यही पैसा उठाउन अरू कति खर्च लाग्ने हो? ऋणमाथि ऋण थुप्रिँदैछ।’

पाख्रिनका अनुसार वाइबाको कार्यालय पुग्दा विदेश जान चाहनेको ताँती थियो। विभिन्न देशका लागि वाइबालाई भेट्नेको भिड दिनहुँ हुन्थ्यो। सबैले विश्वास गरेरै पैसा बुझाउँदै गरेका थिए। ‘पोल्यान्ड जाने सपनाले मैले पनि तीन लाख बुझाएँ, त्यो पनि ऋण गरेर,’ उनले भने। परिवारको खुसी खोज्दै विदेश जाने सपनाले ठगीको सिकार बनेका उनी निन्याउरो मुख लगाएर विभागमा उजुरी दिन पुगेका थिए। त्यहाँ उनीजसरी नै ठगीमा परेर वाइबाविरुद्ध उजुरी दिन पुगेका थुप्रै युवा थिए।

पाख्रिनजस्तै वैदेशिक रोजगारीमा विभिन्न देश जाने सोच बनाइरहेको बेला ठगीमा परेका सीताराम चिलुवाल, उमेश शर्मा, रोशन हमाल, ज्ञानदेव चौधरी, सिहंलाललगायत पीडित आइतबार वैदेशिक रोजगार विभागमा उजुरी दिन पुगेका थिए।

वाइबाले क्रोएसिया, क्यानडा, पोल्यान्ड, पोर्चुगललगायत थुप्रै मुलुकमा पठाइदिने भन्दै प्रतिव्यक्ति ५ हजारदेखि १८ लाख रूपैयाँसम्म असुलेको पीडितले बताएका छन्।

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा वाइबा गत बिहीबार पक्राउ परेका हुन्। वाइबा वैदेशिक रोजगार कसुरको प्रक्रियाअनुसार पक्राउ परी अहिले थुनामा रहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए।

दिनप्रतिदिन वाइबाविरुद्ध विभागमा पीडितहरूको उजुरी बढ्दै गएको पनि उनले जानकारी दिए। ‘प्रत्येक दिन वाइबाले ठगेको भन्दै पीडित आउने गरेका छन्,’ उप्रेतीले नागरिकसँग भने, ‘उनीहरूलाई न्याय दिलाउँछौं।’

प्रकाशित: २२ माघ २०८० ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App