१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जनकपुरबाट पक्राउ परेका सुन व्यवसायी धरौटीमा छुटे

बिलबिजक बिना सुन कारोबार गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बलराम साह र अरुण ठाकुरसहित दुई जना कालिगड रिहा भएका छन्।

राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयले उनीहरूलाई बिलबिजक बेगर कारोबार गरिएको सुनको प्रचलित बजार मूल्य बराबरको रकम धरौटी लिएर बिहीबार रिहा गरेको हो।

सात लाख ८० हजार नौ सय नौ रुपैयाँ धरौटी राखेर सुनचाँदी व्यवसायी बलराम साह रिहा भएका हुन् भने अर्का व्यवसायी अरुण ठाकुरसँग चार लाख २७ हजार धरौटी बुझाएर रिहा भएको उद्योग वाणिज्य सङ्घ धनुषाको पूर्व अध्यक्ष ललित साहले जानकारी दिए।

सुन व्यवसायीसँगै पक्राउ परेका सिरहा मिर्चेयाका कालिगड अजय सुनारसँग बलरामसँग लिइएको रकम बराबर र सञ्जय सुनारसँग अरुणबाट लिइएको रकम बराबर धरौटी बुझाएका छन्।

विभागको पथलैया कार्यालयका प्रमुख प्रेम देवकोटाले प्रहरी प्रतिवेदनमा बरामद समानको मूल्य अनुसार कायम रकम बराबर धरौटी लिई पक्राउ परेकालाई रिहा गरिए पनि अनुसन्धान जारी रहने जानकारी दिए।

जनकपुरधामस्थित पसलबाटै जिल्ला प्रहरी कार्यालय धनुषाले सुनचाँदी व्यवसायी बलराम र अरुणलाई बुधबार अपराह्न पक्राउ गरेको थियो भने अन्य दुई जना कालिगडलाई सोमबार साँझ जनकपुरधामको कलवार कुट्टीनजिक ठेलागाडाको पसलमा खाजा खाइरहेका बेला नियन्त्रणमा लिएको थियो।

धनुषा प्रहरीले बुधबार नै पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभागको पथलैया कार्यालय पठाएको थियो।

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले सिरहा मिर्चेयाको कालिगडले बिलबिजक नभएको सुन बिक्री गर्न जनकपुरधाम ल्याएको सूचना प्राप्त भएपछि उनीहरूलाई पछ्याउँदा सुन बिक्री हुने पसल पहिचान गरी सञ्चालकलाई पक्राउ गरिएको जानकारी दिए।

उनले सुन ल्याउने कालिगड र सुन किन्ने पसले दुवैसँग बिलबिजक नरहेपछि राजस्व छली भएको आशङ्का उनीहरूलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको बताए।

कालिगडसहित सुनचाँदी व्यवसायी पक्राउ परेपछि जनकपुरधाम–४ स्थित सोनरपट्टीमा बुधबार टायर बाली प्रहरीविरुद्ध प्रदर्शन गरेका स्थानीय सुनचाँदी व्यवसायीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषा नजिक टायर नै बाली विरोध जनाएका छन्।

जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बिलबिजक तत्काल नरहेको सामान्य त्रुटिका कारण प्रहरीले व्यवसायीको मानप्रतिष्ठा हरण तथा सिङ्गो व्यापारी समुदायलाई तर्साउने गरी पक्राउ गरेको घटना दुःखद रहेको बताए।

प्रकाशित: १८ माघ २०८० ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App