१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

चाेरीमा संलग्न बालबालिकाकाे संख्या बढ्दाे

म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रथम म्याग्दी भलिबल प्रतियोगितामा चोरी गर्दा गर्दै दुई बालक समातिए।

खुलामञ्चबाट नियन्त्रणमा लिएर तत्काल प्रहरीलाई जिम्मा लगाएकाले अघिल्लो दिन शिक्षकबिचको खेल खेल्न पुगेका बेनी नगरपालिका–९, गलेश्वर आर्दश माविका प्रधानाध्यापक खगेन्द्र जिसीको पर्ससहित १२ हजार चोरी गरेको रहस्य खुल्यो।

पैसा निकालेर पर्स खुलामञ्चपछाडि फालेको अवस्थामा भेटियो। प्रहरीले महत्त्वपूर्ण कागजसहितको पर्स र नगद जिसीलाई हस्तान्तरण गरे। प्रहरीले शनिबार नियन्त्रणमा लिएका दुई बालक अहिले प्रहरी कार्यालयभित्र छन्।

यो एक प्रतिनिधिमूलक घटना मात्रै हो। प्रहरीमा रहेका बालकले आफ्नो समूहमा आठदेखि १५ वर्ष उमेर समूहका सात जना रहेको बताउँछन्। उनीहरू चोरीमा संलग्न भएको घटनाले प्रहरीसमेत आजित भएको छ।

म्याग्दी सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा बालबच्चाहरू चोरीको घटनामा संलग्न भेटिएपछि प्रहरी र अभिभावक आजित छन्। बेनीबजार, पर्वतबेनीमा चोरीका घटनाका पीडित आउनेमा धेरै बालक नै संलग्न रहेको पाइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए।

‘बालबालिका भएकै कारण मुद्दा चलाउन मिल्दैन। सुधार केन्द्रमा पठाउन अभिभावकको समेत साथ चाहिन्छ,’ प्रनाउ कुँवरले भने। प्रहरीका अनुसार बालबालिकाहरू चोरी गर्न पल्कनुमा अरूले उक्साएर वा लगाएर नभई आफैं संलग्न भएको बताए।

प्रहरीले अभिभावकलाई जिम्मा लगाएर छोडेको भोलिपल्टै पुनः चोरी गरेको समेत भेटिएको छ। उनीहरूले ठुला पसलभन्दा साना पसल तथा व्यक्तिको घर र सार्वजनिक स्थानमा चोरी गर्ने प्रहरीले जनाएको छ।

बेनीबजारमा पछिल्लो एक वर्षको अवधिमा घटेका चोरीका घटनामा व्यक्तिको घर, पसलका ढोका फुटाएर चोरी भएका घटनामा संलग्नमध्ये नौदेखि १५ वर्षसम्मका बालबालिका बढी छन्।

जिल्ला प्रहरी कार्यालयले नै धेरैपटक बालकसँग भेटिएको नगद, घडी, मोबाइल जस्ता सामग्री फिर्ता गरेको छ। चोरीमा धेरै पैसा पाएमा उनीहरू प्रयोग नहुने भवनमा गएर रमाइलो गर्ने गरेको समेत पाइएको छ। उमेर कम भएका बालबालिकालाई चोरी गर्नु  अपराध हो भन्ने परामर्श दिएर पठाएको प्रहरी रेकर्डमा देखिन्छ। 

प्रकाशित: १८ माघ २०८० ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App