२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धमाधम रुख काटेपछि बल्ल सूचना

पोखरा–१९ घार्मी क्षेत्रमा काटिएका रुख। वडा कार्यालयले रुख काट्ने अभियान चलाउनेबारे सूचना जारी गर्नुअघि नै रुख काटिएका थिए। तस्बिरः नागरिक

पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणका लागि ‘रुख काट्ने अभियान’ चलाउन मंगलबार आव्हान गरे। तर, गाउँलेले त्यस अघि नै रुख काटिसकेका थिए। रुख कटान भइसकेपछि बल्ल महानगरको वडा कार्यालयले रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको छ।  

बाँदर नियन्त्रणका लागि 'मेरो रुख म काट्छु' अभियान चलाउन आव्हान गरेका वडाध्यक्ष पाण्डेले सूचना निकाल्नु अघि नै स्थानियलाई रुख काट्न लगाएको तथ्य बाहिरिएको हो। वडाध्यक्ष पाण्डेले बाँदर नियन्त्रणका लागि सो अभियान सञ्चालन गर्ने भन्दै १० दिनभित्र घर वरपरका रुख काट्न सार्वजनिक रुपमा अपिल जारी गरेका थिए।  

वडाले रुख काट्ने अभियान सञ्चालनका लागि सूचना निकालेपछि त्यसविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो। त्यसलगत्तै पोखरा महानगरपालिकाले रुख काट्ने अभियान रद्द गर्न निर्देशन पनि दिएको थियो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रुख काट्ने नीति महानगरको नभएको भन्दै कोहि पनि भ्रममा नपर्न आग्रह सहित रुख काट्ने अभियान सञ्चालन नगर्न, नगराउन भन्दै सूचना जारी गरेका थिए।

तर, वडाले रुख काट्ने अभियान सञ्चालन गर्न र महानगरले रोक्न भनेर निकालेको सूचना बेकामे बनेको छ। किनकी सूचना निकाल्नु अघि नै स्थानियले रुख फाँडिसकेका थिए। वडाले रुख काट्ने अभियान सञ्चालनका लागि गत मंगलबार र त्यो काम नगर्न महानगरले बुधबार सूचना निकालेको थियो। तर, त्यसको एक हप्ता अघि नै रुख काटिसकेको तथ्य सार्वजनिक भएको छ।

स्थानियका अनुसार वडाले सूचना निकाल्नु एक हप्ताअघि स्थानिय स्तरमा गठन भएको बाँदर नियन्त्रण कार्यक्रमको पहलमा छलफल भएको थियो। सो छलफलमा वडाध्यक्ष पाण्डेले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान चलाउने बताएका थिए। त्यसका लागि वडाले सूचना जारी गर्ने भन्दै तत्काल रुख काट्न स्थानियलाई आग्रह गरेका थिए। वडाध्यक्ष पाण्डेको भनाई उद्धृत गर्दै एक स्थानियले भने, ‘बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान सञ्चालन गर्नुपर्छ। त्यसको वातावरण म मिलाउँछु। तपाईंहरु अहिलेदेखि नै त्यस तर्फ लाग्नुस्।’ 

त्यसबेला स्थानियले रुख कटान गरेको आरोपमा कानुनी झञ्झटमा फसिन्छ कि भनेर आशंकित हँुदै प्रश्न पनि गरेका थिए। तर, स्थानीयको त्यो आशंकालाई चिर्दै वडाध्यक्ष पाण्डेले भनेका थिए,‘तत्काल सूचना निकालिन्छ। तपाईंहरुलाई कुनै समस्या पर्दैन।’

वडाध्यक्ष पाण्डेको प्रतिबद्धतापछि स्थानियले रुख काट्न शुरु गरेका थिए। बाँदरका कारण हत्तु परेका स्थानिय वन ऐनका कारण रुख काट्न नपाईने हो कि भन्ने चिन्तामा थिए। तर वडाध्यक्षले नै रुख काट्न मौखिक सहमति दिएको र सूचना निकालेर नै वैधानिक बनाउने आश्वासन दिएपछि स्थानियले घर वरपरका रुख काट्न थालेका थिए। 

एक स्थानियले भने, ‘वडाध्यक्षले नै जिम्मा लिन्छु भनेपछि हामीले भटाभट रुख काट्यौं।’ उनका अनुसार अहिले पोखरा–१९ घार्मी साईडका अधिकांशले रुख काटिसकेका छन्। ‘अब बाँकी भनेको गाउँ छाडेर सहर झरेका र घरमा पुरुष नभएकाहरुको मात्र छ,’उनले थपे।

बाँदर नियन्त्रण कार्यक्रमकी संयोजक तथा स्थानियबासी लीला पौडेलले रुख काट्ने सहमति भएपछि घर वरपरका रुख काटेको स्वीकार्छिन्। ‘रुख काटेको भनेर वन नै मासेका त होईनौं,’ उनले भनिन्, ‘बाँदरका कारण घर वरपरका फलफूल खानै पाइएन । त्यसैले बाँदर नियन्त्रणका लागि रुख काटेका हौं।’

वन ऐन अनुसार रुख काट्नुअघि स्थानिय तह वा डिभिजन वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ। तर वडाध्यक्ष पाण्डेले स्थानियलाई प्रक्रिया नपु¥याई रुख काट्न लगाएको पाइएको छ। डिभिजन वन कार्यालय कास्कीका प्रमुख पूर्णेश्वर सुवेदी अनुमति नलिई रुख काट्दा झमेला हुनसक्ने बताउँछन्। ‘काटेको रुख ओसारपसार गर्दा त समस्या पर्न सक्छ,’ उनले भने, ‘यदि अनुमति नलिई रुख काटेको रहेछ भने त्यसबेला वन ऐन आकर्षित हुनसक्छ।’

रुख काट्ने अभियान सञ्चालन गरेका पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे व्यक्तिको नीजि जमिनमा रहेको रुख काट्न पाउनु उसको अधिकार भएको बताउँछन। ‘बाँदरले आक्रान्त स्थानियलाई राहत होस् भनेर रुख काट्ने अभियान सञ्चालन गर्न खोजिएको हो,’ उनले भने, ‘तर यहाँ वन नै मासेजसरी प्रचारबाजी गरिएको छ।’ उनका अनुसार स्थानियले पहिलेदेखि नै रुख काट्दै आएका थिए। तर घर छाडेर सहर पसेका वा घरमा काम गर्ने मान्छे नभएकाहरुले रुख नकाट्दा बाँदरको आतंक नरोकिएको उनले बताए। 

उनले भने, ‘नकाटिएका रुखपनि काट्नका लागि प्रेरित गर्न सूचना निकालिएको हो।’ उनले काटिएका रुखका काठ, दाउरा ओसारपसार गर्ने व्यवस्था जसरी पनि आफैले मिलाउने दाबी गरे। अहिले महानगरले सामाजिक सञ्जालमा उर्लिएको भीडको कुरा सुनेर रुख काट्ने अभियान रद्द गर्न भनेको जिकीर गर्दै उनले अगाडि थपे, ‘अभियान सफल बनाउने र काटिएका रुखका काठ, दाउरा ओसारपसार गर्ने व्यवस्था जसरी पनि मै मिलाउँछु।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने रुख काटिसकेको बारे अनभिज्ञता प्रकट गरे। ‘खै यसबारे जानकारी भएन,’ उनले भने, ‘रुख काट्ने भनेर सुचना निकाल्ने बित्तिकै खारेज गर्न चाहिँ भनेका छौं। त्यसरी पहिल्यै काटिसकेको त मेरो जानकारीमा छैन।’ उनले प्रक्रिया नपु¥याई रुख काट्ने र काट्न लगाउनेलाई के गर्ने भन्नेबारे छलफल गरेपछि मात्रै बताउन सक्ने बताए।

प्रकाशित: १७ माघ २०८० ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App