२३ मंसिर २०७९ शुक्रबार
समाज

पशुझैं बालिकाकाे जीवन

बाँसको टोड्कामा खुट्टा छिराएर घरमै बस्न बाध्य बालिका दीपशिखा। तस्बिर : नागरिक

इलाम – मानसिक सन्तुलन गुमाएकी बालिका पशुझैं दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छिन्। इलामको सूर्याेदय नगरपालिका १० नयाँचोककी ९ वर्षीया दीपशिखा पुरी मानसिक अवस्था बिग्रिएका कारण नियन्त्रित हुन नसकेपछि कहिले दाम्लो र कहिले बाँसको टोड्कामा खुट्टा छिराएर घरमै पशुसरह जीवन जीउन बाध्य भएकी हुन्।

झापाको भद्रपुरका प्रेम पुरीकी छोरी दीपशिखा नयाँचोककी कल्पना तामाङको घरमा बस्छिन्। आमाले दोस्रो बिहे गरेपछि एक्लिएकी दीपशिखाका बुबा रोजगारीका लागि भन्दै काठमाडौं गएको ६ महिना पुग्दा पनि फर्किएनन्। आर्थिक अवस्था अत्यन्त दयनीय भएपनि दीपशिखा ७० को नेटो काटेकी मावलीकी हजुरआमासँग अर्काको घरमा आश्रय लिएर बस्न बाध्य भएकी हुन्। सँगै रहेका एक दाजु स्थानीय वीरेन्द्र माविमा कक्षा ५ र भाइ कक्षा २ मा पढ्दैछन्।

‘घरबाट अकस्मात् भाग्ने, लुगाफाटो नलगाउने, खोलेर जताततै फाल्ने गर्न थालेपछि बालिकालाई परिवारले बाँधेर राखेको छ,’ कल्पनाले भनिन्, ‘छाडिदियो भने त कहिले दिउँसो, कहिले राति घरबाट हराएर खोज्नको पिरलो हुन्छ।’ उनलाई कहिलेकाहीं बाँसको टोड्को बनाएर त्यसमा खुट्टा छिराएर राखिन्छ। दाम्लोसमेत चुँडाएर भाग्ने गरेकाले उनलाई बाँसको टोड्कामा खुट्टा छिराउन लगाउनुपरेको परिवारजन बताउँछन्। उनको यो अवस्था सुरु भएको करिब ३ महिना भयो। ‘बालिका बोल्छिन्, हास्छिन्, झट्ट हेर्दा उनको मानसिक अवस्था धेरै बिग्रिएजस्तो पनि लाग्दैन,’ स्थानीय सञ्चारकर्मी राजकुमार दाहालले सुनाए।

दीपशिखाकी आमा करिब ६ महिनाअघि दोस्रो बिहे गरेर गइन्। बुबा अहिलेसम्म फर्किएका छैनन्। बरु, दोस्रो बिहे गरिसकेकी आमा चाहिँ केही समयअघि घर आएर फेरि उतै फर्किएको छिमेकी बताउँछन्। दीपशिखालाई विद्यालयमा भर्ना पनि नगरिएको होइन। तर, शिक्षक बसेको कोठामा बाहिरबाट छिड्किनी लगाइदिनेजस्ता काम गर्न थालेकाले उनलाई अहिले स्कुल पठाउन नसकेको परिवार बताउँछन्। घरमा हेरचाह गर्ने दाजु, भाइ भएका बेला भने उनलाई खुला नै राख्ने गरिन्छ। तर, हजुरआमा काममा जाँदा र दाजु–भाइ स्कुल जाँदा भने उनलाई घरमा बाँधेर राख्ने गरिएको छ। बुबा–आमाको बेवास्ताका कारण दीपशिखा मात्र होइन, उनका दाजु र भाइको पालनपोषणमा समेत गम्भीर समस्या परेको स्थानीय पासाङ तामाङले बताए। वृद्ध हजुरआमाले जसोतसो गरेर उनीहरूको हातमुख जोर्नसम्म सकेकी छिन्।

पुरी परिवारको जग्गा–जमिन छैन। बाबु–आमाले कल्पनाकहाँ भाँडाकुँटा माझेर ३ सन्तानलाई पालनपोषण गर्दैथिए। तर, अहिले आम–बाबु नै नभएपछि उनीहरू बेसहारा भएको कल्पनाले सुनाइन्। ‘परिवारमा कमाउने मान्छे नभएर यी बालबालिकाको अवस्था दयनीय छ। घरमा भाडासमेत नलिई राखेकी छु,’ कल्पनाले सुनाइन्। वृद्ध हजुरआमाले वरपरका घर र होटलमा भाँडामा माझेर ३ नाति–नातिना स्याहार्दैछिन्। घरमा कमाउन सक्ने अभिभावक नहुँदा परिवारलाई खान–लाउनै सास्ती हुन थालेको छिमेकी बताउँछन्।

कुनै आर्थिक स्रोत नभएकाले दीपशिखाको उपचार हुन सकेको छैन। ‘घरमा खान–लाउनै धौधौ छ, कसरी उपचार हुनु ?’ कल्पनाले भनिन्, ‘कसैले आर्थिक सहायता गरेर उपचार गरिदिए ठूलो उद्धार हुने थियो।’ बालिका मात्र होइन, उनकी वृद्ध हजुरआमा र दुई दाजु–भाइसमेत बिजोक अवस्थामा पुगेको स्थानीय बताउँछन्।

जिल्ला समन्वय समिति उपाध्यक्ष चित्रकला बराइलीले बालिकाको अवस्था दयनीय देखिएकाले उनको उद्धार गर्नु आवश्यक रहेको बताइन्। ‘बाँधेर राख्नुभन्दा उपचारका लागि के गर्न सकिन्छ भन्ने उपाय तत्काल खोज्नु आवश्यक छ,’ उनले भनिन्, ‘आमा–बुबा दुवैले छोडेको अवस्थामा बाँधेर राख्दा बालबालिकाको मानसिक अवस्था झन् बिग्रन सक्छ। उपचारको खोजी गर्नुपर्ने देखिन्छ।’

प्रकाशित: २५ फाल्गुन २०७४ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App