नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटका रुपमा समेत लिने गरिन्छ।
आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनासलु, लमजुङ, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै यहाँबाट देखिने १८ वटा जिल्लाको दृश्यले जो कोहीको मन लोभ्याउने गर्दछ।
यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मर्स्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, त्यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवम् सांस्कृतिक महत्वका स्थलले यहाँको गरिमा र महत्त्व चुलिएको छ।

समुद्री सतहबाट एक हजार ७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्त्वपूर्ण ऐतिहासिक स्थल पनि हो। यहाँबाट देखिने एक सय ८० डिग्रीको बिन्दुमा एकैसाथ नाङ्गो आँखाले धवलागिरिदेखि गणेश हिमालसम्मका १८ वटा हिमशृङ्खलाले यहाँको महत्वलाई अझै उँचो बनाएका छन्।

गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ।
लमजुङको राइनास नगरपालिकामा पर्ने यो स्थललाई नेपालको एकीकरणमा गौरवशाली भूमिका र पहिचान स्थापित गरेको महत्त्वपूर्ण किल्लाका रुपमा लिने गरिन्छ।

रागीनासको नामले परिचित यो ठाउँ पछि अपभ्रंश हुँदै राइनास बन्न गएको बताइन्छ। इतिहासअनुसार शाह वंशीय पहिलो राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ–राइनासकोट राज्यको पछि उनका छोराहरू नरहरि शाहले थप सुदृढीकरण गरे भने द्रव्य शाहले चेपेघाट–लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए।
दाजु नरहरि शाहले पश्चिम लमजुङको राजकाज पाएपछि द्रव्य शाह (विसं १६१६–१६२७) पूर्वी किल्लाको राजा बनेका थिए। राइनास कोटमा बस्ने द्रव्य शाहले लिगलिगकोट दौडमा विजय हासिल गरे र पछि लिगलिग कोटको राजा भएपछि नेपालको एकीकरणको सुरुआत भएको हो। लिगलिगको दौडमा विजयी हुने रणनीति द्रव्य शाहले राइनासकोटमा नै बसेर गरेका कारण पनि यसलाई रणनीतिक कोटका रुपमा समेत लिने गरिन्छ।
त्यही रणनीतिअनुसार राइनासकोटबाट द्रव्य शाह दलबलसहित लिगलिगको दौडमा सहभागी हुन पुगेका थिए। मगरहरूसँग दौडेका द्रव्य शाहले रणनीतिक रुपमा दौड जितेर लिगलिगकोटको राजा भए र त्यसपछि दौडेर राजा हुने परम्पराको नै अन्त्य गरे।
गोरख ग्रन्थमा उल्लेख भएबमोजिम गुरु गोरखनाथ पहिलो पटक तत्कालीन राजकुमार द्रव्य शाहको राइनासकोटको गाईगोठमा गएर आशीर्वाद दिएका थिए।
आशीर्वादसँगै उनको राज्य बिस्तारको अभियान सफल हुँदै गएको मानिन्छ। पृथ्वीनारायण शाहले आफ्नो नेपाल एकीकरणको अभियानलाई सफल पार्नका लागि राइनासकोटमा नै बसेर योजना बनाएको पनि इतिहासमा उल्लेख छ। गुरु गोरखनाथको निर्देशनअनुसार पृथ्वीनारायण शाह बेलाबेलामा राइनासकोट पुगी विभिन्न रणनीति तय गर्ने गरेको बताइन्छ।
उनले समय समयमा राइनासकोट पुगी पूजाआजा गर्ने गरेको सिद्धबाबाको मन्दिर आदिले यहाँको ऐतिहासिक महत्वलाई उजागर गरेका छन्। ढुङ्गाको पर्खालले वरिपरि घेरिएको गोलाकार किल्लाभित्र रहेको सिद्धबाबाको मन्दिरका साथै कोटेश्वर महादेव, कालिका मन्दिरमा यहाँका स्थानीयले परापूर्व कालदेखि श्रद्धाभक्तिका साथ पूजाआजा गर्दै आएका छन्। मनले चिताएको जनविश्वासका कारण आसपासका सर्वसाधारण यी धार्मिक स्थलमा पुग्ने गरेका छन्।
शाह वंशीय राजाको उद्गमस्थलका रुपमा यो स्थलमा रहेका ऐतिहासिक एवम् धार्मिक महत्वका थानी माई, शिव मन्दिर, कालिका मन्दिर महत्त्वपूर्ण धार्मिक पर्यटकीय आकर्षण हुन्।
परम्परागत मौलिकतामा आधारित घाटु, चुड्का जस्ता संस्कृतिलाई बचाइएका कारण यो स्थलको सांस्कृतिक रुपमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको स्थानीयवासी एवम् राइनासकोट सामुदायिक होमस्टेका सदस्य तुलसीमाया गुरुङले बताइन्।
राइनासकोटमा घर बासको विकास भने २०७२ सालको भूकम्प पछि गरिएको बताउँदै उनले हाल यहाँका २० घरमा घर बास सञ्चालन गरिएको सुनाइन। भूकम्पले भत्किएका घरसँगै यहाँको धार्मिक सम्पदाहरू पुनर्निर्माण गरिएको उनको भनाइ थियो।

‘होमस्टे सञ्चालनले हामीलाई दैनिकी सञ्चालनमा सहयोग पुगेको छ’, उनी भन्छिन्, ‘यहाँका प्रत्येक घरमा १० जनासम्म बस्न सक्ने गरी व्यवस्था मिलाइएको छ।’
आफूहरूले २०७४ सालदेखि घर बास सञ्चालन गर्दै आएको बताउँदै गुरुङले पर्यटकको बढ्दो आकर्षणले आफूहरूलाई उत्साहित बनाएको बताइन्।
राइनासकोटको पर्यटकीय आकर्षण बढेसँगै विगतमा गाउँ छोडेर गएका स्थानीयवासी पनि फर्किएर घर बास सञ्चालन गर्न थालेका छन्। करिब २० वर्षअघि गाउँ छोडेर गएका स्थानीय तीर्थकुमारी गुरुङको परिवार भूकम्पपछि गाउँ फर्किएर घर बास सञ्चालन गरिरहेको छ। त्यस्तै यहाँका अन्य स्थानीयवासी पनि घर बास सञ्चालन गरिरहेका छन्। पछिल्ला वर्षमा राइनासकोटमा टाढा टाढाबाट मानिसहरू आउने गरेको बताउँदै उनले पुस महिनामा धेरै समूहहरू आएको जानकारी दिइन्।
घरबासमा आउने पर्यटकका लागि एक हजार १५० रुपैयाँको प्याकेज राखिएको छ। उक्त प्याकेजअनुसार घर बासमा आएका पर्यटकले पुग्नासाथ खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान नास्ता खान पाउँछन्। पर्यटकको आवश्यकताअनुसार उनीहरूका लागि सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको उनले बताइन्। प्योकज अन्तर्गतको ५० रुपैयाँ होमस्टे सञ्चालक समितिको कोषमा राख्ने गरिएको छ।
राइनासकोट वीर भक्ति थापासँग जोडिएको गाउँ समेत भएकाले गाउँको माथि भक्ति थापाको सालिक समेत स्थापना गरिएको र उक्त स्थललाई भक्ति थापा पार्कका रुपमा विकास गर्न लागिएको राइनासकोट नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बताए। आसपासका पर्यटकीय सम्भावनायुक्त स्थलहरूको विकास गर्दै पर्यटकीय रुपमा देश तथा विदेशमा यसको प्रवर्द्धन गरिने उनको भनाइ छ।
ऐतिहासिक दरबारका भग्नावशेषसँगै पुरातात्त्विक महत्वका गढीका कारण राइनासकोटको महत्त्व चुलिएको स्थानीयवासी माधव पनेरु बताउँछन्।
२०७२ को भूकम्पपछि यहाँको पर्यटन प्रवर्द्धनलाई विशेष रुपमा जोड दिइएको उल्लेख गर्दै उनले त्यसयता सङ्घ, प्रदेश हुँदै स्थानीय तहले यहाँको प्रवर्द्धन र विकासमा विशेष जोड दिएको बताए।
विभिन्न सञ्चारमाध्यमबाट समय समयमा हुने गरेको राइनासकोटको प्रचारप्रसारले पछिल्ला समयमा पर्यटकको आकर्षण समेत बढिरहेको उनले बताए।

‘सरकारी प्रयाससँगै यहाँका स्थानीयवासी पनि यस क्षेत्रको पर्यटकीय विकासमा चासो देखाएका छन्’, उनले भने, ‘यहाँको इतिहास। संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोड्दै समृद्धि र विकासको अभियान थालिएको छ।’
रमणीय उच्च भागमा अवस्थित राइनासकोटबाट धवलागिरिदेखि गणेश हिमालसम्मका दृश्यलाई एक साथ नियाल्न सकिनु र रमणीय परिवेश यहाँको विशिष्टता भएको नगरपालिका प्रमुख गुरुङ बताउँछन्।
पहिला ५८ घर रहेको यस स्थानमा पछिल्लो समयमा बसाइसराइको बढ्दो क्रमले घरहरूको सङ्ख्या घटिरहेको सुनाउँदै पछिल्लो समयमा स्थानीयवासीहरू सहरमुखी बन्ने प्रवृत्तिले गाउँमा जनशक्ति घट्दै गएको उनको बुझाइ छ।
पर्यटनसँगै स्थानीयवासीलाई उत्पादनमा जोड दिइएको उनले जानकारी दिए। स्थानीय कोदो, गुन्द्रुक आदिको उत्पादनसँगै दूध उत्पादन, दुना टपरीको उत्पादन तथा प्रयोग आदिमा गाउँपालिकाले जोड दिएको उनले बताए।
‘हामी कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउन चाहन्छौं’, उनले भने, ‘कृषि र पर्यटनका माध्यमबाट स्वरोजगार सिर्जना गर्दै सहरमुखी बनेका स्थानीयलाई पुनः गाउँमा नै फर्काउने हाम्रो दीर्घकालीन सोच छ।’ समग्र राइनासकोट नगरपालिकाको जनसंख्या १८ हजार रहेको छ।
ऐतिहासिक मठमन्दिर, कोट आदिको संरक्षण गर्दै पर्यटकीय रुपमा उपयोग गर्ने नगरपालिकाको सोच रहेको नगरपालिका प्रमुख गुरुङ बताउँछन्।
भग्नावशेषका रुपमा रहेको द्रव्य शाहको दरबारको पुनर्निर्माणको लागि योजना अघि सारिएको बताउँदै उनले यो सँगै यहाँका गढी र किल्लालाई संरक्षण गरी पर्यटकीय रुपमा उपयोग गरिने बताए।
राइनासकोटको पर्यटकीय प्रवर्द्धनमा पछिल्लो समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गरेका छन्। इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एसोसिएसन (एगा) पोखराले हालै राइनासकोटमा पुगी घर बास तथा व्यावसायिक प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ। पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने एगा पोखराको वार्षिक कार्यक्रम अनुसार यस पटक राइनासकोटको प्रवर्द्धन गरिएको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले बताए।
प्रवर्द्धनात्मक भ्रमणका क्रममा राइनासकोटसँग पर्यटकीय साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरिएको एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले बताए।
‘गाउँमा उत्पादन गर्न सकेमा हामीले अल्लो, गाँजाको लोक्ता (हेम) खरिद गर्न सक्ने विषयमा त्यहाँ जानकारी गराएका छौं’, उनले भने, ‘पर्यटनसँगै त्यहाँ उत्पादित कच्चा पदार्थ खपत गर्न सकिने विषयमा महत्त्वपूर्ण छलफल भएको छ।’
यस्ता कच्चा पदार्थको उत्पादनसँगै स्थानीय श्रमिकहरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै उनले पर्यटनलाई उत्पादनसँग जोड्न सकेमा त्यसले दिगो पर्यटनको विकासमा योगदान पुर्याउने बताए।
-वासुदेव पौडेल र ऋषिराम बराल
प्रकाशित: १४ माघ २०८० ०८:३३ आइतबार





