२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मौसम नखुल्दा दुई दिनदेखि नेपालगन्ज विमानस्थल ठप्प

मौसम प्रतिकुल हुँदा नेपालगन्ज विमानस्थलमा दुई दिनदेखि उडान ठप्प भएको छ। बाक्लो हुस्सु लागेका कारण मौसम नखुलेपछि दुई दिनदेखि उडान ठप्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालले बताए।

‘हिजो (शनिबार)देखी मौसम प्रतिकुल भइरहेको छ, मौसम नखुल्दा कुनै पनि जहाज उड्न सकेका छैनन्,’ खनालले नागरिकसँग भने। नेपालगन्ज विमानस्थलबाट काठमाडौँसहित पोखरा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा हुने सबै उडान ठप्प भएको उनले बताए।

नेपालगन्ज विमानस्थलबाट बुद्ध एयरले तीन, श्री एयरले दुई र यतिले काठमाडौँका लागि दैनिक एउटा उडान भर्दै आएका छन्। यस्तै सरकारी जहाज कम्पनी नेपाल एयर, तारा र समिट एयरले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू (मुगु, डोल्पा, जुम्ला, हुम्ला, बाजुरा, रुकुम लगायत) जिल्लाका लागि उडान भर्ने गरेका छन्।

प्रमुख खनालका अनुसार जहाज उड्नका लागि १ हजार १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर, यो समाचार तयार पार्दासम्म नेपालगन्ज विमानस्थलको भिजिबिलिटी ५ सय मिटर मात्रै भएको प्रमुख खनालले सुनाए। विमानस्थलमा उडान ठप्प भएपछि यात्रुहरू अलपत्र परेका छन्। पहाडी तथा हिमाली जिल्लामा जाने यात्रुहरू नेपालगन्ज विमानस्थल वरिपरि रहेका होटेलमा बसिरहेका छन्। अत्यावश्यक कामका लागि काठमाडौँ जाने कतिपय यात्रुहरू टिकट रद्द गरेर समेत स्थलमार्ग हुँदै जान थालेका छन्। 

प्रकाशित: १४ माघ २०८० ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App