१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सेनाको ब्यारेक स्थापनामा जनप्रतिनिधि नै बाझिए

टीकापुर पार्क नजिकै नेपाली सेनाको ब्यारेक स्थापना गर्ने कुरामा प्रदेश सांसद र टीकापुर नगरपालिकाका मेयरबीच विवाद देखिएको छ।

ब्यारेक स्थापना हुने भनिएको टीकापुर नगरपालिका वडा नं. ५ का स्थानीयसँग आज भएको छलफलमा मेयर रामलाल डगौरा थारुले सेनाको ब्यारेक स्थापना गर्ने कुरामा विरोध नगर्न आग्रह गर्दा प्रदेश सांसद लक्ष्मण किशोर चौधरीले कुनै हालतमा बस्तीका नजिक सेनाको ब्यारेक राख्न नहुने धारणा राखे।

उनले सेनाको ब्यारेक स्थापना भए स्थानीयको जनजीविकामा असर पार्ने भन्दै अन्य कुनै ठाउँमा सार्नुपर्ने बताए। ‘सेना बस्यो भने भोलि हामीले सालको पात समेत टिप्न पाउँदैनौँ’ उनले भने ‘बरु सनकट्टी घाटमा लगेर राख्नुस्।’

उनको कुरालाई स्थानीयले समेत समर्थन जनाएका छन्। उनीहरु सेनाको ब्यारेक राख्नु हुँदैन भन्ने पक्षमा छन्। उनीहरुले घाँस दाउरा गर्नमा समेत कठिनाइ हुने बताउने गरेका छन्।

प्रदेश सांसद चौधरी सोही वडाका बासिन्दा हुन। उनले नै स्थानीयलाई सेनाको ब्यारेक स्थापना गर्ने कुरामा विरोध गर्न सल्लाह दिएको जस्तो देखिन्छ। उनले आफ्नो कुरा राख्दा स्थानीयले तालीले समर्थन जनाएका थिए।

मेयर थारुले भने सेनाको उपस्थितिले कुनै असर नपार्ने बताउँदै स्थानीयसँग विरोध नगर्न आग्रह गरे। उनले सेनाको उपस्थिति सुरक्षाका दृष्टिकोणले पनि आवश्यक रहेको बताए। 

‘सेना भयो भने सुरक्षाको कुरा हुन्छ। सुरक्षा भयो भने अरु उद्योगधन्दाको कुरा पनि सम्भव हुन्छ’ उनले भने ‘सेनाको उपस्थिति हाम्रा लागि अवसर हो। विरोध गरेर अवसर नगुमाउनुस्।’

प्रदेश सांसद चौधरी र मेयर थारुकाबीचको आपसी द्वन्द्वले सेनाको ब्यारेक स्थापना प्रभावित हुने देखिएको छ। मेयर थारु सेनाको ब्यारेक स्थापनामा सकारात्मक भएपछि प्रदेश सांसद चौधरीले असहयोग गर्ने मनसायले स्थानीयलाई प्रयोग गरेको हुनसक्ने स्रोतको दाबी छ।

‘स्थानीयलाई नकारात्मक कुरा मात्रै बुझाइएको छ’ एक स्थानीयले भने ‘यो राजनीतिक इगोको विषय बनाइँदै छ।’

प्रदेश सांसद चौधरी र मेयर थारु एउटै पार्टीसँग आबद्ध हुन। उनीहरु दुवै जनाले नागरिक उन्मुक्ति पार्टीबाट जितेका हुन। स्रोतका अनुसार प्रदेश सांसद चौधरीले पार्टी भित्र पनि फरक मत राख्ने गरेका छन्। जसको असर बेलाबेलामा पार्टीको संस्थापन पक्षले भोग्नु परेको छ।

टीकापुर पार्क र बाढी प्रभावित क्षेत्रलाई लक्षित गरेर टीकापुर नगरपालिका वडा नं. ५ मा सेनाको ब्यारेक स्थापना गर्ने पहल भइरहेको छ। सेनाले विगत लामो समयदेखी सो क्षेत्रमा ब्यारेक राख्ने चासो देखाएको छ।

टीकापुर पार्कको दक्षिणतर्फ भगरैया सामुदायिक वन क्षेत्रको भूभाग होचो भएकाले सेनाले उत्तरतर्फ टीकापुर नर्सरीमा ब्यारेक राख्न उपयुक्त हुने बताएको छ। केही दिन अघि नेपाली सेनाका सुदूरपश्चिम पृतनापति गणेश कुमार श्रेष्ठ लगायतको टोलीले सो क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।

सो नर्सरी टीकापुर नगर विकास समितिको मातहतमा रहेको छ। समितिको अध्यक्ष समेत रहेका मेयरले बस्तीलाई असर नपार्ने गरी नर्सरीको कुनैपनि ठाउँमा ब्यारेक स्थापनाका लागि जग्गा उपलब्ध गराइने जानकारी दिए।

करिब एक सय ५० विगाह क्षेत्रफलमा रहेको नर्सरीबाटै यसअघि २५ निगाह टीकापुर बहु प्राविधिक शिक्षालय र २२ निगाह खेल मैदानका लागि छुट्ट्याएको छ। बाँकी भूभागमा रहेको नर्सरी स्थानीयले संरक्षण र उपभोग गर्दै आएका छन्।

टीकापुर महोत्सवको उद्घाटन समारोहमा बोल्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दश निगाह जग्गा भए सेनाको ब्यारेक राख्ने बताएका थिए। उनले नै जग्गाको व्यवस्थापन गर्न टीकापुर नगरपालिका र समन्वय गर्न सेनालाई निर्देशन दिएका थिए।

उपप्रधान तथा रक्षामन्त्रीको निर्देशन पश्चात् सेना ब्यारेक स्थापनाको कुरामा गम्भीर ढंगले अघि बढेको छ। सेनाले कर्णाली नदी किनारको बाढी प्रभावित बस्तीलाई लक्षित गरेर आफ्नो उपस्थिति जनाउन खोजेको बताएको छ।

प्रकाशित: १३ माघ २०८० १३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App