२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वीरेन्द्रनगरका होटलको खाना अस्वस्थ

वीरेन्द्रनगरमा थ्री स्टार पाएको होटल शुभमा स्टिकर टाँस गर्दै पर्यटनमन्त्री कृष्णकुमार बिसी। तस्बिर: गोविन्द/नागरिक

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले होटलको स्तरीकरण गरेको छ। वीरेन्द्रनगरका ३३ वटा होटलमा गरिएको खाद्य स्वच्छता स्तरीकरणमा प्रायः होटलहरूको अवस्था नाजुक देखिएको हो।

खाद्य स्वच्छताका आधारमा सामान्यदेखि थ्री स्टारसम्ममा होटलको स्तरीकरण गरिएको हो। १० वटा होटल स्तरीकरणमै समेटिएनन्। अन्य आठवटा सामान्यमै राखिए। त्यस्तै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले थ्री स्टार पाएको होटल शुभमा स्टिकर टाँसेर स्तरीकरण शुभारम्भ गरेका हुन्।

कार्यालयले बर्सेनि वीरेन्द्रनगरमा सञ्चालित होटललाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण चिह्न प्रदान गर्दै आएको छ। खाद्य स्वच्छताका विभिन्न ५० वटा सूचक रहेका छन्। ती सूचक पार गर्नेहरू स्तरीकरणमा पर्ने गर्दछन्।

अति उत्तम (थ्री स्टार), उत्तम (टु स्टार), सन्तोषजनक (वान स्टार) र सामान्यमा वर्गीकरण गरी स्तरीकरण नापिएको छ। वीरेन्द्रनगरमा धेरैजसो होटलले न्यूनतम सूचक पनि पूरा नगरेको अनुगमनमा पाइएको छ।

वीरेन्द्रनगरमा व्यवसायीले सेवाग्राही(उपभोक्ता) लाई गुणस्तरहीन खाद्यवस्तु खुवाएको पाइएको छ। होटल स्तरीकरण होटलको भान्सादेखि होटलमा बनाइने खाद्य परिकारको स्वच्छताको आधारमा प्रदान गरिएको जनाइएको छ।

कार्यालयका अनुसार वीरेन्द्रनगरका ३३ होटलमा खाद्य स्वच्छताका विभिन्न ५० सूचकहरूमा गरिएको अनुगमनमा सिद्धार्थ होटल र शुभ होटलले अत्युत्तम (थ्री स्टार) प्राप्त गरेका छन्।

यस्तै (टु स्टार) मा सेफ च्वाइस रेस्टुरेन्ट एन्ड पिजा हर्ट, कौशिक गार्डेन रेस्टुरेन्ट, होटल नमस्ते र होटल भ्याली भ्यु रहेका छन्। साथै सन्तोषजनकमा १० होटल परेका छन्। आठ होटल सामान्य र १० होटल स्तरीकरणमै नपरेको पाइएको छ। धैरैजसोले स्वच्छताको न्यूनतम सूचक पनि पूरा गरेका छैनन्।

होटल स्तरीकरण राख्न भान्सा तथा खाद्य परिकारको स्वच्छता र गुणस्तर कायम राख्न ध्यान केन्द्रित गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए।

‘पछिल्लो समय निरन्तर अनुगमनका कारण होटलहरूमा स्वच्छताका सूचकमा वृद्धि भइरहेको छ,’ प्रमुख थापाले भने, ‘पटकपटकभन्दा पनि अटेर गरेमा आवश्यक कारबाही अगाडि बढाउँछौं।’ स्तरीकरणमा नपरेका होटलहरूले सूचकहरू पूरा गरी स्तरीकरणका लागि १५ दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतमा सम्पर्क गर्न सकिनेसमेत प्रावधान रहेको छ। 

प्रकाशित: १२ माघ २०८० ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App