२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘समाजमा एकल महिलालाई सक्रिय भएर हिँड्ने अवस्था छैन’

बेनी नगरपालिका ९ घतानकी अमिता खत्रीले एकल महिलाले खुलेर समाजका गतिविधिमा सक्रिय हुन सक्ने अवस्था नरहेको गुनासो गरेकी छन्।

कलिलै उमेरमा जीवन साथी गुमाउनुको पीडासँगै सन्तानको पालनपोषण, पढाइ र संघर्ष गर्दा समाजले हेलाँ गर्ने गरेको उनले बताइन्। ‘राज्यका निकायले एकल महिलालाई दोस्रो दर्जाको नागरिकसरह हेर्छ, खुलेर हाँस्न र पीडा हुँदा रुने ठाउँसमेत छैन’, खत्रीले भनिन्।

दैनिक स्थानीय सहकारीमा बजार प्रतिनिधिको काम गरी घर खर्च चलाउने गरेकी खत्रीले एकल महिलालाई राज्यका निकायबाट तालिम तथा स्वरोजगारमूलक अवसर दिनुपर्ने बताइन्। एकल महिला तथा बालबालिका सशक्तीकरण केन्द्र बेनी म्याग्दीले आयोजना गरेको दुईदिने उत्पेरणामूलक नेतृत्व एवम् ब्यक्तित्व विकाससम्बन्धी तालिममा सहभागी एकल महिलाले एक्लै संघर्ष गर्दा समाजको अपहेलनासँग लड्नु परिरहेको गुनासो गरेका थिए।

एकल महिलाले लगाएको, खाएको, हिँडडुल गरेको, अरुसँग बोलेको हिसाबकिताब राख्ने जिम्मा समाजले पाएजस्तै व्यवहारको सामना गरिरहनुपरेको म्याग्दी केन्द्रकी संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले बताइन्। ‘एकल महिलालाई समाजमा शिर उच्च बनाएर हिँड्न सक्ने गरी संस्था स्थापना गरेका थियौं, ‘एकल महिलालाई नजिकबाट चिन्ने समाजका पात्रलाई पीडा थाहा छ’ सांसद गौचनले भनिन्।

एकल महिला सुरक्षा कोष कार्यान्वयनको माग गदैं सरकारसँग हारगुहार गर्नुपर्ने अवस्था रहेको केन्द्रकी अध्यक्ष देबी केसीले बताइन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७० सालमा एकल महिला सशक्तीकरण, क्षमता अभिवृद्धि र आर्थिक हिसाबले विपन्न एकल महिलाको हकहित एवं प्रवद्र्धन गर्न एकल महिला सुरक्षा कोष स्थापना गरेको थियो, तर पनि उक्त कोष परिचालन नभएको भन्दै राज्यका निकाय नै एकल महिलाविरुद्ध रहेको अध्यक्ष केसीको तर्क छ।

म्याग्दीमा आर्थिक रुपमा कमजोर एकल महिलाले पेटभरि खाने र सन्तानलाई पालनपोषणसहितका कार्यमासास्ती खेप्नुपरेको उनले गुनासो गरिन्। ‘ऐन, नियम अनि कार्यान्वयनका पाटा फितला छन् र कागजमै सीमित छ’ संस्थाकी सचिव हिरा पौडेलले भनिन्। म्याग्दी जिल्लाका सबै वडामा एकल महिलाको सञ्जाल स्थापना गरी समाजको हेर्ने दृष्टिकोण नै परिवर्तन गर्ने बताइन्।

बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले एकल महिला समाजका लागि बलियो शक्ति भएकाले पहुँच अभिवृद्धिका लागि सीपमूलक तालिम, जीविकोपार्जन अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिएको बताइन्।

संघर्षशील अनि पीडादायी जीवनका पाटा सहँदै आएका महिलालाई समाजमा हरेक क्षेत्रबाट साथ र सहयोग दिएर सधैँ हाँस्ने वातावरण बनाउने प्रतिबद्धतासमेत जनाइन्। एकल महिलाप्रति समाजमा विद्यमान कूरीति अन्त्य गदैं विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन गर्ने, धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक दृष्टिले पीडित बनिरहेको अवस्था अन्त्य गर्न सरकार कठोर बन्नुपर्ने एकल महिलाको माग छ।

प्रकाशित: १० माघ २०८० ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App