१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भाले चितुवाको उर्लाबारीबाट उद्धार

आज दिउँसो भाले चितुवाको मोरङको उर्लाबारी क्षेत्रबाट उद्धार गरिएको छ। उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा चितुवा भेटिएको थियो।  

प्राकृतिक वासस्थान छाडेर गाउँ पसेको वयस्क चितुवाको तौल अन्दाजी ४० किलोग्राम रहेको बताइएको छ। उर्लाबारीमा देखिएको चितुवालाई कोसी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोलीले नियन्त्रण लिएको हो।

बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा वन्यजन्तु विज्ञको टोलीले डार्ट (औषधिजन्य सुई)प्रहार गरी बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिइएको सब डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख नवीनराज दाहालले जानकारी दिए।  

उद्धार गरिएको चितुवालाई वन कार्यालयमा ल्याएर कोसी टप्पु वन्यजन्तु आरक्षको जिम्मा लगाइएको प्रमुख दाहालले बताए। उनका अनुसार प्राकृतिक वासस्थान छाडेर वनबाट गाउँ पसेको चितुवालाई स्थानीयले घेरा हालेका थिए। स्थानीयले घेरा हालेपछि भाग्ने बाटो नपाएर चितुवा बाँसको झ्याङमा पसेको दाहालले बताए।  

त्यसै चितुवालाई नियन्त्रणमा लिने अवस्था नभएपछि ‘डार्ट’प्रहार गर्दै बेहोस बनाएर चितुवाको उद्धार गरिएको बताउँदै, प्रमुख दाहालले भने, ‘जंगलमा मानवीय गतिविधि बढेपछि र खानेकुराको अभाव भएपछि आहाराको खोजीमा चितुवा गाउँ पसेको हुनुपर्छ। तत्काल नियन्त्रणमा लिइएका कारण चितुवाले क्षति गर्न पाएन। दिउँसो लुकेर बस्ने र रातको समयमा आहाराको खोजीमा निस्किने स्वभावको हुन्छ।’

प्रकाशित: ९ माघ २०८० १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App