२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

छलफलमा चार शीर्ष नेता

मुलुकमा चुनावी सरगर्मी बढिरहेका बेला विघटित प्रतिनिधिसभाका चार दलका शीर्ष नेताहरूबिच औपचारिक–अनौपचारिक छलफल हुन थालेको छ। वर्तमान राजनीतिक अवस्था र चुनावी माहोललाई लिएर उनीहरूबिच छलफल हुन थालेको हो। अहिले पार्टीहरू एक्ला एक्लै चुनावमा होमिएका बेला शीर्ष नेताहरूले आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न आपसी छलफल गर्न थालेको स्रोतको दाबी छ।

स्रोतका अनुसार आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालबिच भेटघाट भएको थियो। उनीहरूबिच मुलुकको पछिल्लो राजनीतिक गतिविधिबारे छलफल भएको बताइएको छ। यस पटक देउवा चुनावी मैदानबाहिर छन्। 

कांग्रेसमा अन्तर्विरोध कायम रहेकै बेला ओली र दाहालले देउवासँग सहयोगको अपेक्षा गरेका छन्। खासगरी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर भएको भेटमा सम्भावित चुनावी गठबन्धनका विषयमा गम्भीर छलफल भएको बताइएको छ। स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले अहिलेको चुनावमा एमालेले जित्न सक्ने ठाउँमा सहयोग गर्न आग्रह गरेको बताइएको छ।

शीर्ष नेताहरूको भेटघाटबारे शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले अनभिज्ञता प्रकट गरे। ‘म काठमाडौंबाहिर छु। यो विषयमा मलाई जानकारी छैन। भेटघाट भएको होइन होला,’ उनले भने। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पनि शीर्ष नेताहरूको भेटघाटबारे आफूलाई जानकारी नभएको बताए। ‘यो विषयमा मलाई औपचारिक जानकारी छैन,’ उनले भने। एमालेले झापा, दाङलगायत क्षेत्रमा सहयोगको अपेक्षा गरेको स्रोतको दाबी छ। 

विशेष महाधिवेशन गरेर गगन थापा कांग्रेसका सभापति बनेपछि ओली, देउवा र दाहालबिच पहिलोपल्ट भेट भएको हो। यो विषयलाई उनीहरूले सार्वजनिक गर्न भने चाहेका छैनन्। दाहालका प्रेस संयोजक गोविन्द आचार्यसँग बुझ्न खोज्दा उनको मोबाइल बन्द थियो। एमाले नेत्री रामकुमारी झाँक्रीले एमाले अध्यक्षबाट सहकार्यको प्रस्ताव जान नसक्ने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया नै जनाएकी छन्। ‘ओली, देउवा र दाहालबिच हात्तीवनको एक अपार्टमेन्टमा भेटघाट भएको हो,’ स्रोतले भन्यो।

ओली, देउवा र दाहालबिचको यो भेटलाई फागुन २१ मा हुने चुनावी गठबन्धनको ‘वार्मअप’का रूपमा हेरिएको छ। उनीहरूबिच अनौपचारिक संवादका क्रममा घोषित गठबन्धन गर्ने कि अघोषित गठबन्धन गर्ने भन्ने विषयमा बारम्बार छलफल भएको थियो। उनीहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि कुराकानी गरिरहेको स्रोतले जनाएको छ। यादव अहिले सप्तरीको घरदैलो कार्यक्रम व्यस्त छन्।

अहिलेको निर्वाचनमा ओली, दाहाल र यादव तीनै जनाले देउवासँग सहयोग मागेको स्रोतको दाबी छ। झापा–५ मा चुनाव लडिरहेका ओलीसँग काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिस्पर्धा गरिरहेका छन्। त्यहाँ नेकपाका रञ्जित तामाङ उम्मेदवार छन्। 

सप्तरी–३ मा उपेन्द्र यादव चुनावलाई रास्वपाकै उम्मेदवारले चुनौती दिइरहेका छन्। यसकारण पनि उनीहरूले देउवाको सहयोग मागेको स्रोतको दाबी छ। गगन थापा सभापति भएपछि देउवा समूहका धेरै नेतालाई उम्मेदवार बन्नबाट वञ्चित गरेको अवस्थामा एमाले, नेकपा र जसपा नेपाल तीन वटै दलले आफ्ना शीर्ष नेता जिताउन देउवाको साथ खोजेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार आइतबार साँझको भेटघाटमा राजनीतिक परामर्शमा मात्र सीमित नरहेर निर्वाचनमा एकअर्कालाई सहयोग गर्नसमेत आग्रह गरिएको थियो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर भएको उक्त भेटमा सम्भावित चुनावी गठबन्धनका विषयमा गम्भीर छलफल भएको बताइएको छ। 

एमालेले दाहाललाई चेक एन्ड ब्यालेन्समा राख्न जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का सन्दीप पुनलाई सहयोग गर्ने सहमति गरेको छ। रुकुम पूर्वमा उम्मेदवारी दिएका दाहाललाई पनि एमालेको सहयोग आवश्यक रहेकाले उद्देश्य मिलेको बताइन्छ। ‘उहाँहरूले कहिलेकाहीँ अप्रत्याशित निर्णय गर्नुहुन्छ, यस पटक के हुन्छ थाहा छैन,’ नेकपाका एक नेताले भने।

एमालेका अर्का नेताका अनुसार वामपन्थी आन्दोलनलाई तिरस्कार गर्ने गरी आएको हुरीलाई छेक्न घोषित–अघोषित जुनसुकै निर्णय हुन सक्ने संकत गरे। ‘अहिले कुनै पनि नेता सुरक्षित छैनन्, त्यसकारण एकले अर्काको सहयोग माग्नु स्वाभाविक हो,’ ती नेताले भने। ती नेताका अनुसार चुनावी माहोल अहिले सिधै पुराना र नयाँ दल/नेताका बिचमा भएको छ। २०६४ सालको अवस्था दोहोरिन सक्ने आकलन पनि छ। यसकारण पनि ओली, दाहाल र देउवाको पछिल्लो भेट फागुन २१ को निर्वाचन लक्षित रहेको अनुमान गरिएको हो।

विगतमा एकता, विघटन र तीव्र आरोप–प्रत्यारोपको लामो यात्राबाट गुज्रिएका ओली र दाहालबिच फेरि सहकार्यको सम्भावनाबारे खुलेर छलफल हुनुलाई अर्थपूर्ण रूपमा लिइन्छ। चुनावी माहोल तातिएपछि ओली र दाहालले एकअर्कालाई आरोप–प्रत्यारोप गरेका छैनन्। त्यसअघि उनीहरूबिच व्यक्तिगत रूपमै आरोप–प्रत्यारोप चल्दै आएको थियो। 

जेनजी आन्दोलनपछि एमाले र नेकपाबिच थप दुरी बढेको थियो। केही समयअघि भारत भ्रमणमा जाने बेला दाहालले ओलीलाई भेटेका थिए। ओलीको अभिव्यक्तिका कारण चुनावमा एमालेसँग सहकार्यको सम्भावना नभएको नेकपाका नेताहरूले बताइरहेपछि पछिल्लो भेटघाटले राजनीति नयाँ चरणतिर प्रवेश गरेको हो कि भन्ने आशंका गर्न सकिन्छ।

शीर्ष नेताहरूबिचको भेटघाटको समाचार आएपछि कांग्रेस नेता रमेश लेखकले आन्तरिक विवाद रहे पनि अहिले आफ्नो पार्टीको सम्पूर्ण ध्यान चुनावतिर केन्द्रित रहेको बताए। ‘मुलुकको जन निर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा विघटित छ। २०८४ सालमा निर्वाचन गर्ने भनेको ८२ सालमै प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। लोकतन्त्र जोखिममा छ। अवस्था सहज छैन। यस्तो अवस्थामा हामी निर्वाचनमा अगाडि बढेका छौँ,’ उनले भने।

प्रकाशित: २० माघ २०८२ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App