२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाली खानामा लोभिँदै विदेशी पर्यटक

प्राकृतिक सुन्दरता हेर्न मात्र होइन यहाँका रैथाने खानाको स्वाद लिन पनि विदेशी पर्यटक नेपाल आउन थालेका छन्।यसअघि हिमाल आरोहण, पथप्रदर्शक, साहसिक खेलहरूका लागि मात्र नभई मौलिक खानाका लागि पनि विदेशी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको हो। 

नेपालको मौलिक खाना दाल–भात फापर, ट्वान्टी फोर आवर, नेपाली थाली सेटमा विदेशी पर्यटक लोभिने गरेका छन्। नेपालको राष्ट्रिय खाना समेत भनेर चिनिने ‘नेपाली थाली’ सेटमा आफ्नो रोजाई अनुसारको मासुसँग भात अथवा ढिँडो, दालसहितका विभिन्न तरकारी तथा अचार, सलाद नेपाल भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

काँचको थाली, कचौरा, ग्लास, चम्चा–काँटा पर्यटकको रोजाइमा पर्न थालेको रेस्टुरेन्ट व्यवसायीहरूले जनाएका छन् ।नेपाल भ्रमणमा आउने पर्यटकहरूको खानाका परिकारको सूची फेरिएको जनाउँदै ठमेलस्थित काठमाडौं ग्रिल रेस्टुरेन्ट एन्ड बारका व्यवस्थापक मुकुन्द पोख्रेलले भने,‘ पहिला नेपाल भ्रमणमा आउने पर्यटकहरूको खानाको ‘मेनु’ आफ्नै देशका परिकार हुन्थे तर अहिले उनीहरूको रोजाइ बदलिएर नेपाली स्वाद र खानामा पर्न थालेको छ ।’ उनका अनुसार नेपाली थाली सेट पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ।काँचका भाँडामा खाना खाँदा उनीहरू निकै खुसी हुने गरेका छन्। 

त्यस्तै, समय बजी (नेवारी खाजा सेट)खाना पहिला आँखाले खाइन्छ भने जस्तै विभिन्न परिकारले भरिएको ‘समय बजी’ पर्यटकले रुचाउने अर्को लोकप्रिय परिकार हो। समयबाजीलाई ‘नेवारी खाजा’ सेट भनेर पनि भनिन्छ।पछिल्लो समय समय बजीले व्यापक लोकप्रियता कमाएको छ। 

दिल्ली फुड भ्लग, लुक मार्टिन, खालिद अल अमेरी जस्ता चर्चिच अन्तर्राष्ट्रिय फुड तथा ट्राभल भ्लगरहरू नेपाल आई नेवारी खाजाबारे भिडियो अपलोड गरेका छन्।त्यसले नेवारी खाजा सेट समय बजीले अन्तर्राष्ट्रिय रूपमै बजार बनाएको छ।

समय बजीलाई पञ्चकत्वले भरिएको परिकार मानिन्छ। त्यसमा नेवारी खाजा सेटमा चिउरा, कालो भटमास, छोयला (परालमा पोलेको मासु), बोडी, साग, मिक्स अचार, साँधेको आलु, अण्डा, बारा, अदुवा लसुन, भुटेको चिउरा, माछा र रक्सी  जस्ता खानेकुरा पर्दछन्। साथै, सामान्य पसलहरूमा पनि सजिलै पाइने समय बजी भने आजकाल रेस्टुरेन्ट तथा होटेलहरूमा उपलब्ध आकर्षक परिकार मध्येको एक बन्न पुगेको छ अहिले।  

‘समय बजीले समग्र काठमाडौं बासीको संस्कृति, रहनसहन तथा भौगोलिक वातावरण तथा रहनसहन र जीवनयापनलाई झल्काउने छ,’ लहना समाजका अध्यक्ष राजमान भन्छन् ,‘अहिलेको अवस्थामा समय बजी नेपालकै लोकप्रिय खाजाको रूपमा लिइन्छ ।’ उनका अनुसार काठमाडौंमा स्थानीय खाजाको रूपमा परिचित पनि छ। एउटै प्लेटमा धेरै परिकारहरू हुने भएकोले पनि समय बजी पर्यटकहरू माझ काठमाडौँको खाजाको रूपमा परिचित बन्दै गएको छ।

समय बजी नेवार समुदायमा सबैभन्दा धेरै सत्कार गर्ने परिकार हो। साथै, सबैभन्दा मन पर्ने परिकार र काठमाडौँको वातावरण अनुसार खानेकुराका परिकारहरू हुने अध्यक्ष राजमानले बताए । यसबाहेक योमरी, सुकुटी, चटामरी लगायत थुप्रै नेवारी  परिकारहरूले पर्यटकलाई लोभ्याउँदै आएको छ । नेपाली तरिकाको थुक्पाले पनि पर्यटक लोभिने गरेका छन्। नुडल्स, विभिन्न सागसब्जी र चाहे अनुसारको मासुको स्वादमा सुपमा पकाएर तयार हुने नेपाली तरिकाको थुक्पा पनि विदेशी पर्यटकहरूको अर्को मन पर्ने परिकार हो।

 विशेषत जाडोको समयमा धेरै खान रूचाउँने यस परिकार गर्मीमा पनि उत्तिकै रुचाउने ग्रिल रेस्टुरेन्ट एन्ड बारका व्यवस्थापक मुकुन्द पोख्रेलले बताए।उनका अनुसार एसियन मुलुकका पर्यटकहरूले थुक्पा खान रुचाउने गर्दछन्। थुक्पा चाइना, जापान, थाइल्यान्ड, फिलिपिन्स लगायतका मुलुकहरूसँग मिल्ने खानेकुराको परिकार भएको कारण पनि प्राय एसियन मूलका पर्यटकले रुचाउने गरेको व्यवसायीहरू बताउँछन्। ग्रिल रेस्टुरेन्ट एन्ड बारका व्यवस्थापक पोख्रेल भन्छन्, ‘अमेरिकन र युरोपियन पर्यटकहरूले पनि नयाँ खानाको स्वाद लिने क्रममा थुक्पा रोज्छन् ।’

यस्तै सेल रोटी अचार, तास, सेकुवा, चाउमिन, पक्कु लगायतका टिपिकल नेपाली परिकारहरूले  पर्यटक रमाउने गरेका छन्। 

विदेशी पर्यटकहरूमाझ ‘मिल अफ दि डे’ भनेर चिनिने मःम पनि रोजाइमा पर्ने अर्को लोकप्रिय परिकार हो।विश्वमै मःम चर्चित बन्दै गएका बेला नेपालमा सामान्य खाजा घरदेखि अन्तर्राष्ट्रिय स्तरका होटेलसम्म पाइन्छ । भेज र नन भेजमा पाइने मःम आफ्नो रोजाई अनुसार पाइन्छ । भेज भए बन्दा, प्याज लगायत विभिन्न मसलाहरू मिक्स र नन भेज भए मटन, चिकेन र बफ मासुमा प्याज र विभिन्न थरीका मसला मिक्स गरी मैदाको पिठोमा र्याप गरी पकाइने मःम खाजाको रूपमा एकदमै लोकप्रिय परिकार हो। 

गोकर्ण हाउस रेस्टुरेन्टका सञ्चालन प्रबन्धक राजु पाण्डेका अनुसार नेपाल भ्रमणमा आउने पर्यटकले मम प्राय खोज्ने गर्दछन् । 

नेपाली परिकारका विषयमा व्यक्तिगत तथा संस्थागत रूपमा होस् या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘फुड भ्लगर तथा ट्राभलरहरुले,आफ्नो सामाजिक सञ्जालमा भिडियोहरू अपलोड गरेर विश्वव्यापी रूपमा नेपाली खानाको परिकारहरूबारे निरन्तर जानकारी दिन थालेका छन्।

प्रकाशित: ९ माघ २०८० १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App