२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

यो वर्षको श्री स्वस्थानी ब्रतकथा पर्सिबाट, तयारी पूरा

प्रत्येक वर्ष माघ महिनामा काठमाडौँको साँंखुमा लाग्ने एक महिने श्री स्वस्थानी ब्रतकथा तथा शालिनदी मेलाको तयारी पूरा भएको जनाएको छ।

प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेलाको तयारी पूरा भएको जनाएको हो।यो वर्ष माघ ११ गते बिहीबारदेखि मेला लाग्दैछ।

श्री माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले मंगलबार मेला स्थलमा गरेको पत्रकार सम्मेलनमा मेलाको तयारी पूरा भएको जानकारी गराए।यो वर्षको मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराए।यो वर्ष पनि देशका विभिन्न भागहरूबाट एक महिनाको अवधिमा २० देखि २५ लाख भक्तालु मेला भर्न आउने अनुमान उनले लगाए।

भक्तजनहरूको सेवा सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी यातायात प्रा.ली बाबागोकर्णेश्वर प्रा.ली. द्वारा सञ्चालित बसहरू जस्तोसुकै अवस्थामा समेत सेवा दिन तयार रहेको उनले सुनाए।

व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरूको सेवाको लागि सबैभन्दा पहिले लगत सङ्कलनको लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिएको र हालसम्म एक सय ९८ जना भएको उनले जनाए।

मेला आयोजना हुने शंखरापुर नगरपालिकाका मेयर रमेशनाथ नापितले मेलालाई सभ्य र भव्य रुपमा सुसम्पन्न गर्न मूल समिति र विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी गराए । यातायात, सुरक्षा,  ट्राफिक, फोहोरमैला लगायतका विभिन्न उपसमितिहरू गठन गरी काम गर्ने उनले जनाए। 

शान्ति सुरक्षा सम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सीसी टिभी क्यामेराको व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ।साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ।

इलाका प्रहरी कार्यालय शाखुँंकी प्रमुख सीता परियारले सुरक्षाको सम्पूर्ण प्रबन्ध मजबुत हुने जनाइन्।मेलामा हुनसक्ने सम्भावित झैझगडा, लुटपाट, सिक्री चोरी, पकेटमार नियन्त्रणलगायतका लागि सम्पूर्ण सुरक्षा दस्ता तयारी अवस्थामा रहेको उनले जनाइन्। यसका लागि प्रहरीको हेल्प डेस्क पनि रहने उनले सुनाइन्।

साथै एक सय भन्दा बढी प्रहरी खटिने जानकारी गराइन्।साथसाथै सादा पोसाकमा पनि प्रहरी परिचालित हुने उनले बताइन् । साथसाथै व्रतको क्रममा स्नान गर्ने महिलाहरूको फोटो, भिडियो खिच्न मनाही गरिने पनि उनले जनाइन्। 

नेपाल नेपाल सम्वत् को आठौँ शताब्दीदेखि सुरु भएको विश्वास गरिने एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ । स्वस्थानी व्रत कथाको भूमिका खण्डमा उल्लेख भए अनुसार यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि।

स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदार खण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ।साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ।जनाइए अनुसार वर्षमा यही एक महिना मात्रै माधब नारायणको प्रत्यक्ष दर्शन गर्न पाउने व्यवस्था छ। 

प्रकाशित: ९ माघ २०८० १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App