८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरामा बिहान–बेलुकी चिसो, दिउँसो न्यानो

हिउँदको तापक्रम वर्षेनी उक्लिँदै

पोखरा फेवातालमा डुंगामा रमाउँदै आन्तरिक पाहुना । तस्बिरः सन्तोष पोखरेल/पोखरा

लामो समयदेखि पानी नपरेको र दिउँसोको समयमा चरक्क घाम लाग्दा योपटक पोखराले उत्तिसारो चिसो महसुस गर्नुपरेको छैन। बिहान–बेलुकी केही बढी जाडो अनुभव भएपनि पोखरामा दिउँसोमा भने अहिले न्यानो छ। बिहान बेलुकी घर बाहिर निस्कन नपर्नेले यो पटक चिसोको अनूभव गर्नै नपरेको बताउने गरेका छन्। हिउँदको तापक्रम वर्षेनीजसो उकालो लाग्दै गएको पनि कार्यालयको भनाई छ।

यो पटक पानी नपरेको र आसपासका हिमाली भेगमा हिउँ नपर्दा अघिल्ला वर्षजस्तो तापक्रम ओर्लिन नपाएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको पोखरा कार्यालयले बताएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराकी निमित्त प्रमुख रिताकुमारी महतोका अनुसार पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस भन्दा माथि छ। यो पटक ५.५ डिग्री सेल्सियस भन्दा तापक्रम तल नओर्लेको कार्यालयको रेकर्ड रहेको छ।

पोखरामा वर्षकै सबैभन्दा कम तापक्रम सोमबार रेकर्ड भएको छ। सोमबार पोखरामा वर्षकै सबैभन्दा कम ५.५ डिग्री सेल्सियस तापक्रम थियो। ‘यो वर्षको सबैभन्दा चिसो दिन सोमबार परेपनि अघिल्ला वर्षभन्दा अहिले पोखरा बढी न्यानो छ,’ महतोले भनिन, ‘पानी पनि परेको छैन। हिउँ पनि नपर्दा चिसो कम भएको हो। दिउँसोको समयमा घाम पनि लागेको छ।’

पछिल्लो पाँचवर्ष अवधिमा यो वर्ष नै बढी न्यानो रहेको कार्यालयको तथ्यांकले देखाएको छ। पछिल्लो पाँचवर्ष अवधिमा हरेक वर्षजसो हिउँदको बेलाको तापक्रम बढिरहेको पनि कार्यालयको भनाई छ। कार्यालयका अनुसार पोखरामा सन् २०२० को जनवरी २० मा वर्षभरिकै सबैभन्दा कम ३.८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। त्यस्तै सन् २०२१ जनवरी १ मा सबैभन्दा कम ४.४ डिग्री सेल्सियस थियो। त्यसैगरि सन् २०२२ को जनवरी २७ मा पोखराको वर्षभरिको सबैभन्दा कम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको थियो।  

सन् २०२३ को जनवरी ७ मा पनि ४.५ डिग्री सेल्सियस नै तापक्रम थियो। ‘पाँचवर्ष अवधिमा यो वर्ष बढी न्यानो छ। पानी नपरेकोले पनि तापक्रम ओर्लिन पाएको छैन,’ उनले भनिन्। कार्यालयका अनुसार सबैभन्दा कम सन् १९७० जनवरी १३ का दिन पोखराको तापक्रम १.८ डिग्री सेल्सियस मापन भएको थियो। उनका अनुसार पोखराको अहिले दिउँसोको तापक्रम २० डिग्री हाराहारीमा रहेको छ।  

घामको न्यानोमा बसेर भलिबलमा रमाउँदै पोखरेली दर्शक।

जल तथा मौसम विज्ञान कार्यालयले पोखराका विभिन्न ठाउँको स्टेशनमार्फत तापक्रमको विवरण संकलन गर्छ। तरपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्टेशनको मापनलाई आधार बनाएर तापक्रम विश्लेषण गर्ने गरेको छ।

‘बिहान  र बेलुकी केही चिसो छ। नत्र त दिउँसोमा त पोखरामा चिसो छैन। पोखरामा यो पटक चिसो भएन भनेर कुरा गर्नेहरु धेरै छन,’ उनले भनिन, ‘केहीगरि पानी पर्यो यो भने तापक्रम ओर्लिन सक्छ। नत्र अबको एकसातापछि चिसो बिस्तारै कम हुन्छ।’ पहाडी भेग भएकोले पोखरामा बिहानको समयमा बढी चिसो अनुभव भएको उनले बताईन।  

पोखराको तापक्रम यो भन्दा पनि कम हुनका लागि अझै केही दिन समय रहेपनि पानी नपरेकोले त्यो अवस्था आउने सम्भावना नरहेको उनले सुनाईन। ‘चिसोको समय अझै केहीदिन त बाँकी छ। तर, पानी पर्ने सम्भावना नरहेकोले तापक्रम यो भन्दा तल नओर्लिन पनि सक्छ,’ महतोले भनिन। महतोका अनुसार यो पटक हिउँदमा पानी नपर्दा पोखरा चिसिन पाएको छैन। अझै केहीदिन पोखरामा पानी पर्ने सम्भावना पनि नरहेको उनले सुनाईन।  

‘पोखरामा तत्काल पानी पर्ने सम्भावना छैन। केहीगरि पानी परिहाल्यो भने पनि एकसाताजति चिसो हुन्छ, त्यसपछि त न्यानो सुरु भईहाल्छ,’ उनले भनिन, ‘दिउँसोको चरक्क घाम लाग्नु, पानी नपर्नु, हिमाली जिल्लामा हिउँ नपर्नु जस्ता कारणले पोखरामा चिसो कम भएको हो। बिहान र बेलुकी मात्र केही बढी चिसो हो, दिउँसो घाममा बस्दा पनि गर्मि नै हुन्छ।’

प्रकाशित: ९ माघ २०८० ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App