१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बल्ल सजाय पाए इच्छाराजले

विशेष अदालतले संविधानसभाका पूर्वसदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी ३ अर्ब बिगो मागदाबी भएको मुद्दामा उनकी पत्नीसहित तीनजनालाई दोषी ठहर गरेको छ। इच्छाराजका पतिपत्नीसहित सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि अदालतले दोषी ठहर गरेको हो।

विशेषका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनाराण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले इच्छाराजलगायतलाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारणका लागि माघ २१ को मिति तोकेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भए पनि उनीहरूलाई कति बिगो, जरिवाना, सजाय तोक्ने भन्ने थाहा पाउन दुई साता कुर्नुपर्ने भएको छ।

६ जनाविरुद्ध दर्ता भएको मुद्दामा विशेष अदालतले दुईजनालाई सफाइ दिँदै तीन जनालाई दोषी ठहर्‍याएको हो। एक जनालाई भने सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएकाले केही उल्लेख गरिएको छैन। विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अदालतले सजाय निर्धारणका दिन ती एकजनाको हकमा पनि उल्लेख गर्नेछ।

२०७९ भदौ १६ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार रूपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै तामाङविरुद्ध आरोपपत्र दर्ता गरेको थियो।

विभागले तामाङसहित उनकी पत्नी, छोरीलगायत ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरेको थियो। इच्छाराजको परिवारलगायत ६ जनासँग करिब ५ अर्ब रूपैयाँ बिगो मागदाबी गरिएको थियो। अदालतले इच्छाराजका दुवै छोरीलाई सफाइ दिएको छ।

मुद्दा दर्ता गरेको करिब डेढ वर्षपछि विशेष अदालतले मुद्दा फैसला गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजकी पत्नी सिर्जना शाक्यलाई १ अर्ब ३ करोड रूपैयाँ बिगो मागदाबी गरेको छ। बिगो मागदाबी गरिए पनि अदालतले कति बिगो कायम गर्छ भन्ने हेर्न बाँकी छ।

त्यसैगरी उनका छोरीहरू प्रतीक्षा तामाङविरुद्ध ६ करोड ४७ लाख ४६ हजार रूपैयाँ र प्रतिष्ठा तामाङविरुद्ध १ करोड ८९ लाख १८ हजार रूपैयाँ सम्पत्ति शुद्धीकरण गरेको मागदाबी गरेको थियो। प्रमाण नपुगेको भन्दै उनीहरूलाई सफाइ दिइएको हो।

त्यसैगरी सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध शुद्धीकरण विभागको २६ करोड ६१ लाख ४५ हजार रूपैयाँ मागदाबी छ। साथै मीनाकुमारी श्रेष्ठका नाममा काठमाडौंका विभिन्न स्थानमा रहेका सात कित्ता जग्गासमेत जफत गर्न मागदाबी गरिएको छ। साथसाथै तामाङको घर, जग्गा, सम्पत्ति जफतको माग पनि गरिएको छ।

उनीहरूविरुद्धको ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दा विचाराधीन छ। इच्छाराज हाल पुर्पक्षका लागि डिल्लीबजार जेलमा छन्। उनले आफू जेलबाहिरै बसेर मुद्दा लड्न पाउने मागदाबीसहित अघिल्लो साता सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। सर्वोच्च अदालतले भने उनलाई तत्कालका लागि थुनामुक्त गर्न मानेन। सर्वोच्चले उनको निवेदनमा सुनुवाइ गर्दै प्रतिवेदन झिकाउने आदेश गरिसकेको छ।

सम्पत्ति शुद्धीकरण विभागको दाबीअनुसार तामाङले सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताले राखेको रकम आफू र परिवारका नाममा ल्याउन विभिन्न प्रकारको उपाय अपनाएका थिए। उनले आफ्नो एकाधिकार रहने गरी विभिन्न कम्पनी बनाएर कारोबार गरेको देखाएर सर्वसाधारणको बचत रकम आफ्नो बनाएका थिए। तामाङ र उनको परिवारमाथि सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेको आरोप लगाइएको थियो।

इच्छाराज तामाङ र केशवलाल श्रेष्ठसमेतले कसुरबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण, रूपान्तरणसमेतलगायत निषेधित काम गरी सम्पत्ति शुद्धीकरणको कसुर गर्ने इच्छित मनशाय राखेको शुद्धीकरण विभागले दाबी गरेको थियो।

‘आफ्ना परिवारका मानिसहरूबीच अंशबन्डासमेत गरीगराई आफू एवं परिवार संलग्न रहेका सिभिल होम्स प्रालिलगायत विभिन्न व्यावसायिक कम्पनीमार्फत घरजग्गाको कारोबारसम्बन्धी व्यवसायमा गैरकानुनी स्रोतको रकम लगानी गरी त्यस्ता व्यावसायिक कार्यहरूबाट थप सम्पत्ति आर्जन गरी अन्य प्रतिवादीहरू सिर्जना शाक्य तामाङ, प्रतिष्ठा तामाङ, प्रतीक्षा तामाङ र मीनाकुमारी श्रेष्ठसमेतका नामबाट कारोबार गर्ने एवं सम्पत्तिहरू लुकाईछिपाई राखी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आयो,’ विभागले दर्ता गरेको आरोप पत्रमा उल्लेख छ।

विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी २० वटा बढी मुद्दा छिन्न बाँकी छन्। मुद्दाको प्रकृतिअनुसार गैरकानुनी सम्पत्ति, घुस रिसवत, निर्णयगत अनियमितता, नक्कली प्रमाणपत्र र सम्पत्ति शुद्धीकरणसँग जोडिएका ३५० बढी मुद्दा विशेष अदालतमा छिन्न बाँकी छन्। विशेष अदालतमा दर्ता हुने मुद्दामध्ये ४१ प्रतिशत मुद्दा ठहर हुने गरेका छन् भने २८ प्रतिशत आंशिक ठहर र ३१ प्रतिशत मुद्दामा सफाइ हुने गरेको आव २०७९÷८० को तथ्यांक छ।

प्रकाशित: ८ माघ २०८० ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App