२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बैजनाथलाई ‘बरघर ऐन’ को बधाई !

बाँकेको बैजनाथ गाउँपालिका कार्यालय। तस्बिर : नागरिक

बाँकेको बैजनाथ गाउँपालिकाले ‘बरघर’ ऐन ल्याएको छ। गाउँपालिकाको १४औं सभाले उक्त ऐन सर्वसम्मत रूपमा पारित गरेको हो। थारू समुदायमा हरेक वर्ष माघी पर्वमा गाउँ वा टोलको नेतृत्व गर्न ‘बरघर’ चयन गर्ने प्रथा छ।

सोही प्रथालाई व्यवस्थित रूपमा निरन्तरता दिन कानुन बनाउनुपर्ने आवश्यकता देखिएकाले ऐन बनाइएको गाउँपालिका अध्यक्ष अध्यक्ष प्रकाशबहादुर शाहीले बताए। स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रही ल्याइएको उक्त ऐनमा बरघरका काम, कर्तव्य र अधिकारलाई व्यवस्थित गरिएको उनको भनाइ छ।

बैजनाथमा थारू समुदायको उल्लेख्य रूपमा बसोबास छ। उक्त गाउँपालिकामा सदियौंदेखि बरघरको प्रचलन रहेको र बरघरले गाउँघरमा हुने झैझगडालाई मेलमिलापको माध्यमबाट सुल्झाएर शान्ति कायम गर्ने हुँदा ऐन ल्याउनु मनासिब देखिएको अध्यक्ष शाहीले बताए।

‘परम्परागत रूपमा चलेको बरघर प्रथा अहिले पनि हाम्रो गाउँपालिकाभित्र थारू बस्तीहरूमा यथावत् छ,’ उनले नागरिकसँग भने, ‘बरघरका काम, कर्तव्य र अधिकारलाई व्यवस्थित गर्न हामीले यो ऐन बनाएका हौं।’

स्थानीय तह सञ्चालन ऐन, संविधान र कानुनसँग नबाझिने गरी बरघरका काम, कर्तव्य अधिकारलाई उक्त ऐनमा समावेश गरिएको अध्यक्ष शाहीले जानकारी दिए। गाउँसभाबाट ऐन पारित भएसँगै अब कार्यान्वयनमा जानेमा उनले विश्वास व्यक्त गरे।

आदिवासी थारू समुदायको परम्परागत बरघर प्रणालीलाई अभिलेखीकरण गरेर संरक्षण, प्रवद्र्धन, विकास र अभ्यासमा टेवा पुर्‍याउन आवश्यक भएकाले ऐन बनाइएको गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताइन्।

‘नेपालको संविधान, नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९, आदिवासीहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र २००७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत प्रचलित ऐन कानुनबमोजिमका अधिकारको प्रत्याभूति गराउन बरघर ऐन ल्याएका हौं,’ उनले भनिन्। बरघर ऐन ल्याउनेमा बैजनाथ सम्भवतः बाँकेकै पहिलो स्थानीय तह हो।

केही महिनाअघि बैजनाथमा रहेका थारू समुदायका अगुवाले ज्ञापनपत्र बुझाउने क्रममा गाउँपालिकाले बरघर ऐन चाँडै ल्याउने प्रतिबद्धता जनाएको थियो। बरघर ऐन आएसँगै बैजनाथमा थारू संग्रहालय निर्माणका लागि गुरुयोजना बनाउने गाउँपालिकाले जनाएको छ। ‘संग्रहालयको गुरुयोजना बनेपछि बजेट पाउने सुनिश्चितता हुन्छ,’ अध्यक्ष शाहीले भने।

प्रजातन्त्र प्राप्तिको लडाइँमा मारिएका स्वर्गीय बैजनाथ थारूको नामबाट गाउँपालिकाको नामकरण गरिएको हो। बैजनाथ गाउँपालिकाका स्थानीय एवं थारू कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारूले ‘बरघर’ ऐन आउनु सकारात्मक भएको प्रतिक्रिया दिए।

‘बैजनाथ गाउँपालिकाले बरघर ऐन ल्याएको छ। यो राम्रो कुरा हो। यसलाई दिगो रूपमा कार्यान्वयन गर्नु झनै महत्वपूर्ण कुरा हो,’ कांग्रेस बाँकेका जिल्ला सहसचिवसमेत रहेका थारूले भने।

प्रकाशित: ७ माघ २०८० ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App