१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अमेरिका जाने ‘तल्लो बाटो’

अवैध ढंगले अमेरिका छिर्नु जोखिम हो भन्ने थाहा पाउँदापाउँदै हजारौं नेपाली युवा ‘तल्लो बाटो’बाट त्यहाँ पुग्न प्रयास गरिरहेका छन्। दलालको भर परेर विभिन्न मुलुक हुँदै घुमाउरो किसिमले अमेरिका पुग्ने महिनौं लामो प्रयासलाई अचेल ‘तल्लो बाटो’ भनेर चिनाउने गरिएको छ।

अमेरिका जाने तल्लो बाटोलाई लोकप्रिय तुल्याउने काम भने दाङ र रुकुम (पूर्व र पश्चिम) का सर्वसाधारणले गरिरहेका छन्। यी जिल्लामा अमेरिका छिर्ने अभियान भुसको आगोजस्तै फैलिरहेको छ। अमेरिका जाने होडले मानव तस्करीलाई सघाउ पुगिरहेको छ।

तल्लो बाटोबाट अमेरिका हिँडेका दाङका आठ युवा फिलिपिन्समा सात महिनादेखि अड्किएका थिए। अमेरिकी सपना देखाउँदै फिलिपिन्स पुर्‍याइएका ती युवामध्ये दुई जना भने यसै साता आफ्नै खर्चमा स्वदेश फर्किएका छन्। अरू भने उही नै छन्।

अमेरिका पठाउने नाममा विभिन्न प्रलोभन देखाएर दाङकै पूजा डिसी नामले चिनिने २९ वर्षीया लक्ष्मी डाँगीले युवाबाट असुली धन्दा चलाउने गरेको पीडितले बताए। उनले अमेरिका पु¥याइदिने भन्दै दाङकै एक युवाबाट त ४० लाख रूपैयाँ असुल गरेको बताइएको छ। पीडितहरूका अनुसार पूजाले कसैबाट ३९ लाख, कसैबाट ३५ लाख, कसैबाट २५ लाख गर्दै करिब साढे दुई करोड रूपैयाँ उठाएकी छन्।

‘दाङका टन्नै युवालाई तल्लो बाटो हुँदै अमेरिका पुर्‍याएकी छु। तिमीहरूलाई अढाईदेखि तीन महिनाभित्र अमेरिका छिराउने काम मेरो भयो। ५० देखि ६० लाखमै अमेरिका छिराउँछु। सबैभन्दा सस्तोमा अमेरिका पठाउने मै हुँ। ठाउँठाउँमा एजेन्ट हुन्छन्। च्यानल मिलाएर अमेरिका छिराउँछौं,’ पूजालाई उद्धृत गर्दै फिलिपिन्समा सात महिनाको बसाइपछि नेपाल फर्किएका एक पीडितले भने।

पूजा नौ वर्षदेखि जापानमा बस्दै आएकी छन्। उनले अमेरिका पठाउने सपना दाङका युवालाई देखाउँदै लाखौं असुल्दै आएको पीडितहरूको गुनासो छ। केही युवाले पूजाकै बैंक खातामा पैसा जम्मा गरेका छन् भने उनका पति भनेर चिनिने पोखराका सञ्जय गुरुङको खातामा पनि मोटो रकम जम्मा गरेको पीडितहरूको दाबी छ।

‘पूजाको बोली जोकोही फस्ने खालको छ। नेपालबाट अमेरिका पुर्‍याउने भन्दै फिलिपिन्ससम्म पु¥याइएका हामी आठ जना हौं,’ नेपालमा फर्किएका ती पीडितले भने, ‘तर अरू कति जनालाई पूजाले अमेरिका लाने प्रलोभनमा अलपत्र पारेकी छन् भन्ने थाहा छैन। हामी सबै पढेलेखेका युवा हौं। हामीलाई फसाउन सक्नेले अरू धेरैलाई फसाएको आकलन छ।’

नेपाल फर्किएका ती युवक घरका एक्ला छोरा थिए। कक्षा १२ उत्तीर्ण गरेर अमेरिका जाने सपनाले अहिले उनी घर न घाट भएका छन्। ‘दाङमा एकदुईबाहेक हरेक घरका कोही न कोही अमेरिका पुगेका छन्,’ उनले भने, ‘तल्लो बाटो हुँदै अमेरिका पुग्नेमा कतिपय त एउटै घरका तीन÷चार जनासम्म छन्।

घरको एउटा सदस्य अमेरिका पुग्न सके अरू सदस्यलाई तान्न जोडतोडका साथ प्रयास हने गरेको छ।’ उनले अमेरिका पु¥याइदिने भनेर दाङमा पाइलैपिच्छे एजेन्ट भेटिने गरेको पनि बताए। ‘अब कसलाई विश्वास गर्ने हो र ? पूजा त हाम्रो पहिला एजेन्ट थिइन्। तर पहिलो गाँसमै ढुंगा प¥यो। अमेरिका नजाऔं भने पनि छिमेकीहरू भटाभट त्यतै लागेका छन्। आफूलाई पनि अमेरिका जान मन हुन्छ। नेपालमा बसेर केही गर्न सकिने वातावरण छैन,’ उनले गुनासो गरे।

अमेरिका सपना पूरा हुन सहज भने छैन। तर पनि ज्यानको बाजी थापेर दाङ र रुकुम (पूर्व र पश्चिम) का स्थानीय दिनप्रतिदिन अमेरिका छिर्ने प्रयासमा हुन्छन्। केहीको सपना पूरा नहुने पनि होइन तर निराश बनेकाहरूको संख्या पनि कम छैन। अमेरिका जान लागेको सुइँको गाउँमा कसैलाई पनि नहुने ती पीडितले बताए।

‘छिमेकीका छोराछोरी अलि दिन देखिएनन् भने अमेरिकातिर लागेछन् भनेर सबैले ठानिहाल्छन्। तपाईंको छोरो खै त भनेर सोध्दा काठमाडौं गएको छ भन्छन् वा अरू बहाना बनाउँछन्। तर कसैले पनि अमेरिका जाँदैछन् भन्दैनन्। बल्ल अमेरिका पुगेपछि फलानोको छोरा त पुगिसकेछ भन्ने थाहा हुन्छ,’ दाङकै अर्का पीडितले भने।

दलालको लहैलहैमा लागेर अमेरिका जान खोज्दा दाङका कतिपय युवा बीच बाटामै हराएका पनि छन्। नेपा फर्किएका ती युवा पनि गत असारतिर तल्लो बाटोबाट अमेरिका जाने भन्दै घरबाट निस्किएका थिए। गाउँकै धेरै साथीभाइ अमेरिका पुगिसकेका हुँदा उनलाई पनि अमेरिकाको सपनाले तानेको थियो। तर अमेरिका पुग्ने सपना उनको बीच बाटोमै बिलायो। उनले पनि ३५ लाखभन्दा बढी रकम पूजा र उनका पति सञ्जयको बैंक खातामा जम्मा गरेको बताए। आफ्नै खर्चमा फिलिपिन्सबाट नेपाल आएको पनि उनले सुनाए।

अमेरिका जाने सपना बोकेर फिलिपिन्समा बिताउनुपरेको कष्टकर समयलाई सम्झँदै उनले भने, ‘अमेरिका पुग्ने सपनाले सात महिना बन्द कोठामा बसियो। कति दिन त खानै पाएनौं। बत्ती काटिएपछि अन्धकारमै कति दिन बिते। पूजासँग कहिले सम्पर्क हुन्थ्यो त कहिले हुन्नथ्यो। खानबस्न पनि नेपालबाट पैसा पठाउनुपरेको हँुदा फर्किएको हुँ।’ यसरी तल्लो बाटोबाट अमेरिका पुग्ने उनीहरूको सपना असफल भएको छ।

‘तिमीहरू चुपचाप बस्नू, सबै काम हुन्छ,’ पूजाको एउटै भनाइ हुने रहेको पीडितहरूले बताए। पूजाले अमेरिका पठाउने भन्दै विभिन्न प्रलोभन देखाएको ह्वाट्सएप म्यासेज सबै मेटाउने गरेको पनि पीडित युवाले बताए। अमेरिका लागेका उनीहरू आधा बाटाबाटै नेपाल फर्किए पनि आफ्नो घर दाङ भने गएका छैनन्। उनीहरू काठमाडौंमै साथीभाइकोमा बसिरहेका छन्। अमेरिका पठाउँछु भनेर गरेको लाखौंलाख रकम ठगी गर्ने पूजाविरुद्ध मंगलबार पीडितहरूले जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी दिएका छन्।

पैदलमार्ग तल्लो बाटो हुँदै विभिन्न दलालमार्फत नेपालीहरू अमेरिका प्रवेश गर्ने गरेका छन्। अवैध रूपमा अमेरिका पुग्नु भयावह छ। नेपालीहरू वर्षौं लगाएर लाखौं रकम खर्चेर पानीजहाज, डुंगा, ट्रक, मालवाहक सवारी, पैदलमार्ग, तेलका ट्यांकरजस्ता साधनबाट विभिन्न मुलुक हुँदै अमेरिका जाने गरेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालबाट अवैध रूपमा धेरै युवालाई विभिन्न मुलुक हुँदै अमेरिका पुर्‍याउने गरिएको छ।

यात्राका क्रममा कतिपय नेपालीको गन्तव्यमा नपुग्दै मृत्यु हुने गरेको ब्युरोका एसपी कृष्ण पंगेनीले बताए। कानुनविपरीत अमेरिका प्रवेश गर्नेमा रुकुम पहिलो र दाङ दोस्रो स्थानमा रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरू बताउँछन्। पंगेनीका अनुसार रुकुमका अधिकांश घरका सदस्यले अवैधानिक तवरले अमेरिका प्रवेश गरेर त्यहाँको ग्रिन कार्डसमेत हासिल गरेका छन्।

यसरी अमेरिकासम्म गरिने मानव तस्करी अझै बढ्दो छ। अमेरिका पुग्ने सपना बोकेर विभिन्न मुलुक हुँदै गैरकानुनी बाटोबाट तस्करीमा लगिएका धेरै नेपाली युवा विभिन्न देशका कारागारमा रहेको, बाटैमा कतिपयको मृत्यु हुने गरेको सूचना पनि आइरहेको उनले बताए।

मानव तस्कर र तिनका दलालले नेपालीलाई काठमाडौंबाट दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पु¥याउने गरेका छन्। 

३० देखि ६० लाखमा अमेरिका पुर्‍याउने सपना बाँड्ने र अलपत्र पार्दै घरबाट रकम लिने उनीहरूको नियत हुने गरेको ब्युरोका एसपी पंगेनीले बताए। उनका अनुसार अमेरिका पुर्‍याउँदै गरेका एउटै युवासँग बीच बाटोमै ¥याख¥याख पारेर ३० देखि १ करोड १८ लाखसम्म उठाएको उजुरी ब्युरोमा छ।

यसरी हुने ‘तल्लो बाटो’को यात्रा अवधिभर प्रायः घरपरिवारसँग टेलिफोन सम्पर्क हुँदैन। यस्तो अवस्थामा आफ्नो परिवारको सदस्य कहाँ पुगिरहेको छ, म¥यो कि बाँच्यो भन्नेसम्म पनि थाहा नहुने अवस्था रहेको पंगेनीले बताए।

प्रकाशित: ५ माघ २०८० ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App