१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीमा एउटा प्रशासनिक भवनको दुई पटक उद्घाटन

कैलालीमा गोदावरी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन दोस्रो पटक गरिएको छ। एउटै भवनको दोस्रो पटक उद्घाटन पछि उत्पन्न विवादले एकाएक तात्न पुगेको हो।

एशियाली विकास बैकंको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत १३ करोड ४६ लाख १ हजार ४३ लागतमा बनेको गोदावरी नगरपालिकाको भवन उद्घाटनको विषयको विवाद सडक सम्म पुगेको हो। नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख वीरेन्द्र भट्टले दोस्रो पटक प्रशासनिकको भवनको उद्घाटन गर्ने तयारी गरेपछि बिहीबार बिहानै देखि नेकपा एमालेले विरोध प्रदर्शन सहित नगरपालिका घेराउ गरेको थियो। 

एक पटक उद्घाटन भइसकेको भवन दोस्रो पटक उद्घाटन गर्नु अलोकतान्त्रिक व्यवहार भएको भन्दै एमालेले गरिरहेको विरोधका बाबजुद नगरप्रमुख भट्टले दिउसो भवनको उद्घाटन गरेका छन्। बाहिर नाराबाजी भइरहेका वेला उनले भवनको उद्घाटन गरेका हुन्।

नगरपालिकाको बजेटमा पनि नबनेको र दाताको सहयोगमा बनेको भवनको उद्घाटन गर्न पनि राजनीतिक लाभका लागी होडबाजी गरेको भन्दै आलोचना भएको छ।

एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले २०७८ चैत १४ गते पहिलो पटक यो प्रशासनिक भवनको उद्घाटन गरेका थिए। त्यतीवेला भवन सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण नहुँदै उद्घाटन गरिएको भन्दै विरोध गरेको नेपाली काँग्रेसबाट निर्वाचित अहिलेका मेयर भट्टले बिहीबार दोश्रोपटक उद्घाटन गरेका हुन्।

प्रशासनिक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले उद्घाटन कार्यक्रम चलिरहँदा नगरपालिका घेराउ गरेको थियो। 

नेकपा एमाले गोदावरी नगर कमिटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै भवन उद्घाटन नगर्न चेतावनी दिएको थियो। भवन सम्पन्न नहुँदै तत्कालीन मेयर साउदले उद्घाटन गरेको नगर प्रमुख भट्ट पक्षको आरोप छ। सम्झौता अनुसारको काम नसकिँदै भवन उद्घाटन गरेको भन्दै त्यतीवेला पनि नेपाली काँग्रेसले विरोध गरेको थियो। तत्कालीन मेयर साउद भने भवन निर्माण भएपछि नै उद्घाटन गरिएको बताउँछन्।

भवन दाताबाट हस्तान्तरण नभई उद्घाटन गरिएकाले त्यतीवेलाको उद्घाटन वैध नभएकोले अहिले उद्घाटन गरिएको मेयर भट्टको भनाई छ।

प्रकाशित: ४ माघ २०८० ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App