११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

जिउँदो व्यक्तिलाई न्यायिक मृत्युको घोषणा

जिल्ला अदालत बर्दियाले गरेको बेपत्ता वा मृत्युको न्यायिक घोषणापत्र देखाउँदै आमाछोरी । तस्बिर : नागरिक

नेपालगन्जस्थित सेतुविक चोकनजिकै राँझाकी नरमाया घर्ती पुस १८ गते पसलमा व्यस्त थिइन्। त्यतिबेला उनले यस्तो खबर सुन्नुपर्‍यो, जतिबेला उनलाई मृत घोषणा गरिएको थियो। जिउँदो व्यक्तिलाई मरेको भनी जिल्ला अदालतले मृत्युको न्यायिक घोषणा गर्दा उनी छाङाबाट खसे झै‌‌‌‌‌ भइन्।

जिल्ला अदालत बर्दियाका न्यायाधीश टेकराज जोशीको इजलासले पुस १८ गते पुस ४ को सरजमिन मुचुल्का र मुलुकी देवानी संहिता २०७४ को दफा ४० को उपदफा (४) बमोजिम उनी र उनकी छोरी शषा गुरुङलाई न्यायिक घोषणा गरेको थियो।

मधुवन नगरपालिका ७ बर्दिया बस्ने उनकी ५३ वर्षीया सौतेनी दिदी च्यामश्यो भन्ने मिनमायाले वडा कार्यालयको सिफारिससहित पुस १ मा निवेदन दिएकी थिइन्। मिनमायाले सौतेनी बहिनी नरमाया र सौतेनी छोरी शषा २०६२ चैत १५ देखि आफ्नै घरबाट निस्की गई हालसम्म पनि बेपत्ता भएको बन्दै कानुनी प्रक्रियामा गएकी थिइन्।

सौतालगायत वडाध्यक्ष र गाउँका अन्य व्यक्तिको मिलेमतोमा जीवित व्यक्तिलाई मरेको बनाउन खोजिएको नरमायाले बताइन्। ‘सौताका छोरीसँग सामाजिक सञ्जालमा कुराकानी पटकपटक हुन्थ्यो। मेरो छोरी पनि बेलाबेला घर आउनेजाने गर्छे’, उनले भनिन्, ‘नियमित सम्पर्कमा रहेको व्यक्ति कसरी बेपत्ता हुन्छ ?’

सम्पत्तिको लोभलालचले आफूविरुद्ध संगठित भएर उनीहरू लागिरहेको उनको भनाइ छ। ‘मैले नियमित पेन्सन बुझेकी छुँ’, उनले भनिन्, ‘म र मेरो छोरी बेपत्ता भएनभएको त्यहाँ पनि हेर्न सकिन्थ्यो। गुपचुपमा सरजिमन मुचुल्का बनाइ अदालतमा पेस गरिएको रहेछ।’

नक्कली सरजिमन मुचुल्का गराएर श्रीमान् सुब्बा गुरुङको पेन्सन र पुख्र्याैली सम्पत्ति एकलौटी हडप्ने नियत देखिएको उनी बताउँछिन्। नरमायाले कान्छी श्रीमतीका नाममा सुब्बाको आधा पेन्सन पाउँदै आएकी छन्। सौता दिदीसँगसँगै बस्दा कुटपिट गर्ने र गालीगलौज खेप्न नसकेर २०६४ सालदेखि बाँकेको नेपालगन्जस्थित राँझामा छोरी शषासँग छुट्टै बस्दै आएको उनको भनाइ छ।

नेपाली सेनामा सुब्बा गुरुङ कार्यरत हुँदा उनीहरूबीच २०५८ सालमा प्रेम विवाह भएको थियो। २०६२ सालमा उनका श्रीमान् सुब्बाको हृदयघातका कारण मृत्यु भएको थियो। उनकी २० वर्षीया छोरी पनि छिन्।

अदालतले उनी र उनकी छोरीलाई न्यायिक घोषणा गरेपछि जिल्ला अदालत बर्दिया पुगेकी थिइन्। अदालतले पुस २२ गते उक्त न्यायिक घोषणा बदरसमेत गरेको छ। निवेदक नरमायाले आफू जिवितै रहेको भनी नागरिकता, विवाह दर्ताको प्रमाणपत्र, बसाइँसराइको कागजसहित निवेदन दिएपछि उक्त न्यायिक मृत्यु घोषणा बदर भएको जिल्ला अदालत बर्दियाले जनाएको छ।

साथै आफूविरुद्ध लाग्ने मधुवन नगरपालिका ७ का वडाध्यक्षसहित स्थानीय १० जनामाथि जिल्ला अदालत बर्दियामा सोमबार जालसाज मुद्दा दर्ता गरेकी छिन्। वडाध्यक्ष राजेन्द्र हमाल, वडा सदस्य बालकुमारी केसी, वडा सचिव विमल भण्डारीलगायत विरुद्ध मुद्दा दायर भएको निरमायाले बताइन्।

प्रकाशित: २८ पुस २०८० ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App