२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अझै कमजोर नेपाली राहदानी

राहदानीको विश्वसनीयता सम्बन्धित देशको वैश्विक छवि र इज्जतसँग जोडिन्छ। देशका नागरिकले यात्रा गर्दा र गन्तव्यमा रहँदा पारिपालन गर्ने अनुशासनले राहदानीको विश्वासनीयता निर्धारण गर्छ।

यस्तोमा नेपाली राहदानीको स्थिति भने विश्वका सबैजसो देशको राहदानीको तुलनामा अझै कमजोर देखिन्छ। विश्वका गन्तव्यहरूमा हुने आप्रवासनसँग सम्बन्धित विषयको लेखाजोखा राख्दै आएको हेन्ली एन्ड पार्टनर्स नामक संस्थाले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स, २०२४’ मा नेपाली राहदानीको स्थिति अझै पनि दयनीय देखिएको छ।  

हेन्लीले जारी गरेको इन्डेक्समा ९८औं स्थानमा नेपाल छ। नेपालसँगै उक्त स्थानमा द्वन्द्वग्रस्त मुलुक लिबिया र प्यालेस्टाइनी भूभागको राहदानी पनि परेको छ।

नेपालभन्दा कमजोर राहदानी हुने अन्य मुलुक ६ वटा मात्रै छन्। जसमा सोमालिया, यमन, पाकिस्तान, इराक, सिरिया र अफगानिस्तान देखिन्छन्। उता वर्षौंदेखि भूराजनीतिक द्वन्द्वमा रहेको उत्तर कोरिया र इरान, आन्तरिक द्वन्द्व र गरिबीमा रहेका श्रीलंका, सुडान, लेबनान, कंगो, म्यानमार, भियतनाम हैटीजस्ता देशका राहदानी अझै नेपालको भन्दा बलिया देखिएका छन्।

हेन्लीले विश्वका २२७ वटा गन्तव्यलाई आधार बनाएर १९९ देशका राहदानीको शक्ति मापन गर्दै आएको छ। इन्डेक्सले गन्तव्यमा जानुपूर्व अग्रिम भिसा अनिवार्य हुने वा नहुने विषयका आधारमा राहदानीको शक्ति निर्धारण गर्छ।

अग्रिम भिसा नलिई संसारका बढी देश र गन्तव्यमा जान सकिने राहदानीलाई शक्तिशाली र संसारका बढी गन्तव्यमा जान अग्रिम भिसा अनिवार्य हुने राहदानीलाई कमजोर मानिन्छ।

हेन्लीको सोही मापदण्डअनुसार नेपाली राहदानी वाहकले अग्रिम भिसाबिना जम्मा ४० देशमा मात्रै यात्रा गर्न सक्ने देखाएको छ। बाँकी गन्तव्यमा पुग्न नेपाली राहदानी वाहकले पहिले भिसा अनिवार्य लिनुपर्छ।

-लक्ष्मण खनाल, महानिर्देशक, राहदानी विभाग

विश्व समुदायले विश्वास गर्न  नसकेको भनेको राहदानी धारकको व्यवहार र अनुशासनको कुरा हो। यही कारण हाम्रो राहदानीमा धेरैजसो देशमा पूर्वभिसाबिनै यात्रा गर्न नपाइने अवस्था छ।

-लक्ष्मण खनाल, महानिर्देशक, राहदानी विभाग

हेन्ली इन्डेक्सको पहिलो वरीयतामा फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन गरी छ वटा देशका राहदानी परेका छन्। ती देशका राहदानी वाहकले अग्रिम भिसा नलिएरै १९४ देशमा यात्रा गर्न सक्छन्।

यस्तै दोस्रो वरीयतामा रहेका फिनल्यान्ड, स्विडेन र दक्षिण कोरियाका राहदानी वाहकले अग्रिम भिसा नलिएर १९३ देशको यात्रा गर्न सक्ने इन्डेक्सले देखाएको छ। हेन्लीको इन्डेक्सअनुसार चीनको राहदानी बोकेर ८५ देश र भारतीय राहदानी बोकेर ६२ देशमा अग्रिम भिसा नलिई जान पाइन्छ।

दक्षिण एसियाका अन्य मुलुकमा भुटानका राहदानीवाहकले ५५ देश, श्रीलंकाकाले ४३, बंगलादेशकाले राहदानीवाहक ४२ देशमा पूर्वभिसाबिनै जान पाउँछन्। नेपालभन्दा कमजोर रहेको पाकिस्तानी राहदानी बोकेर ३४ र अफगानिस्तानको राहदानी बोकेर २८ देशमा मात्रै अग्रिम भिसाबिना जान पाइने इन्डेक्सले देखाएको छ।

वरीयतामा उतारचढाव, अवस्था स्थिर

हेन्लीले सन् २००६ बाट पासपोर्ट इन्डेक्स सार्वजनिक गर्दै आएको छ। जसमा नेपालको वरीयता तलमाथि उछलकुद गरिरहेको देखिन्छ। वरीयतामा नेपाली राहदानीको शक्ति यसरी तलमाथि उछलकुद गरिरहेको देखिए पनि वास्तविक अवस्था भने लगभग स्थिर छ।

सार्वजनिक भएका इन्डेक्स केलाएर हेर्दा समान वरीयतामा बढी मुलुक रहेका वर्ष वरीयताक्रम छोटिएर नेपालको वरीयता सुधार भएको र समान वरीयतामा कम मुलुक मात्रै रहेको वर्ष वरीयताक्रम लम्बिएर नेपालको वरीयता खस्किएको देखिने गरेको छ। तर नेपालको राहदानी बोकेर अग्रिम भिसा नलिई जान मिल्ने देशको संख्यामा भने खासै उतारचढाव छैन।

सन् २००६ मा नेपाली राहदानीको वरीयता ७६औं कायम हुँदा २००९ मा ८०औं, २०११ जम्मा ९६औं, २०१४ मा ९०औं, २०१५ मा १०५औं, २०१६ मा ९८औं, २०२१ मा ११०औं, २०२२ मा १०५औं र २०२३ मा १०३औं स्थानमा देखिन्छ। तर नेपाली राहदानी बोकेर अग्रिम भिसाबिनै जान मिल्ने देशको संख्या भने हरेक वर्षजसो ३६ देखि ४० को हाराहारीमा मात्रै छ।

नेपाली राहदानी किन कमजोर

अन्तर्राष्ट्रिय समुदायले राहदानीको विश्वसनीयता प्राविधिक गुणस्तर र राहदानीबाहकको व्यवहारलाई लिएर गर्ने राहदानी विभागका महानिर्देशक लक्ष्मण खनाल बताउँछन्।

 ‘अहिले हाम्रो राहदानीको प्राविधिक गुणस्तरमा कुनै समस्या छैन। हामीले राहदानीलाई डिजिटलाइज्ड र बायोमेट्रिक बनाइसकेका छौं,’ उनले भने, ‘विश्व समुदायले विश्वास गर्न नसकेको भनेको राहदानी धारकको व्यवहार र अनुशासनको कुरा हो। यही कारण हाम्रो राहदानीमा धेरैजसो देशमा पूर्वभिसाबिनै यात्रा गर्न नपाइने अवस्था छ।’

राहदानी र भिसा प्रक्रिया अध्यागमन व्यवस्थासँग सम्बन्धित विषय रहेको बताउँदै खनालले राहदानीबाहक देशको नागरिक आफ्नो देश आएर अध्यागमन नियम उल्लंघन गर्दैन भन्ने विश्वास भए सहजै आउन दिने बताए।

‘अर्को देशको राहदानी वाहक आफ्नो देशमा आउँदा लुकेर बस्दैनन्, गैरकानुनी काम गर्दैन र फेरि फर्केर सहजै जान्छ भन्ने विश्वास भए अन अराइभल भिसा वा फ्री भिसामै आउन दिने हो। नत्र कडाइ गर्छन्,’ उनले भने।

नेपाली राहदानीबाहक विदेश पुगेर त्यतै हराउने, गैरकानुनी ढंगमा उतै बस्ने गर्नाले पनि केही विश्वसनीयता कम भइरहेको उनी बताउँछन्।

पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्का विश्वका देशहरूले अर्को देशको अर्थतन्त्र, त्यहाँको शान्तिसुरक्षा, राजनीतिक स्थायित्व र अन्तर्राष्ट्रिय छविले त्यो देशका राहदानी धारकसँग अध्यागमन व्यवस्था निर्धारण गर्ने बताउँछन्।

‘हामी कहीँ न कहीँ यही कुरामा चुकिरहेका छौं। हाम्रो अर्थतन्त्र सबल हुन सकिरहेको छैन। राजनीतिक रूपमा पनि बलिया हुन सकेका छैनौं। हाम्रा केही नागरिक विदेश गएर अनुशासन पनि पालन गरिदिन चुकिरहेका छन्,’ खड्काले भने, ‘यही कारण विश्व समुदायले अझै हामीलाई विश्वास गर्न नसकिरहेको अवस्था छ।’

नेपाल अर्थतन्त्रमा बलियो भए, राजनीतिक रूपमा संस्थागत हुँदै गए अन्तर्राष्ट्रिय जगतको हेर्ने नजर फेरिने र त्यसले राहदानीको शक्तिमा पनि सुधार आउने उनी बताउँछन्।

प्रकाशित: २८ पुस २०८० ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App