१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

आरतीको नाममा बुढा सुब्बालाई पशुपतिको ‘कोर एरिया’ नै विक्री

पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रा.ली. लाई पशुपति क्षेत्रको बागमती पारी हुने गंगा आरतीको प्रत्यक्ष प्रसारण गर्न दिने नाममा पशुपति क्षेत्रको ‘कोर एरिया’ नै विक्री गरेको पाइएको छ।

२०८० भदौ ११ गते पशुपति क्षेत्र विकास कोषका निमित्त उपनिर्देशक रेवती रमण अधिकारी र बुढासुब्बा प्रा.ली.का कार्यकारी प्रमुख नवराज गिरीले हस्ताक्षर गरी २४ बुँदामा सम्झौता गरेको खुलासा भएको छ।

उक्त सम्झौतालाई दुवै पक्षले गोप्य राखेका छन्। उक्त सम्झौता अनुसार बुढा सुब्बाले विकास कोषलाई प्रत्येक महिना १ लाख ६० हजार रुपैयाँ बुझाउनु पर्ने र प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्ने सहमति गरिएको छ। सम्झौता अनुसार प्रत्येक महिना १ लाख ६० हजार रुपैयाँ कोषलाई बुझाएर बुढा सुब्बाले करोडौँको व्यापार गर्न खोजेको देखिन्छ।

विकास कोष र बुढासुब्बावीच भएको सम्झौतामा  विकास कोषले बुढा सुब्बालाई आरतीको भिडियो सुट गर्ने अधिकार मात्र दिएको छैन, यस बाहेक थुप्रै सुविधा दिएको छ। सम्झौता पत्रमा विकास कोषलाई प्रथम पक्ष र बुढा सुब्बालाई दोश्रो पक्ष भनिएको छ। जस अनुसार पहिलो पक्षले दोश्रो पक्षलाई ‘पशुपति मन्दिरको कोर एरिया/रुद्रगाडेश्वर क्षेत्रमा दीप प्रज्वलनको कार्य गर्न सामाग्री उपलब्ध गराउने छ’ भनिएको छ।

यसबाट विकास कोषले बुढा सुब्बालाई दीप प्रज्वलनको लागि सामाग्री उपलब्ध गराउने नाममा कोर एरियाको केही ठाउँ नै उपलब्ध गराउने छ। जुन ठाउँमा बुढा सुब्बाले व्यापार गर्ने निश्चित छ। यसमा बुढा सुब्बाको व्यावसायिक स्वार्थ देखिन्छ। सहमतिको १७ नम्बर बुँदामा बुढा सुब्बाले युट्युब वा सामाजिक सञ्जालमा प्रचार प्रसार गर्नुपर्दा प्रथम पक्ष (अर्थात पशुपति क्षेत्र विकास कोष) को आधिकारिक लोगो प्रयोग गर्न पाउने छ’ भनी सहमति गरिएको छ। 

उक्त सम्झौता अनुसार अनुसार केही दिन अघि बुढा सुब्बाले निकालेको सूचनामा विकास कोषको लोगो प्रयोग गरिएको थियो। कोषको लोगो प्रयोग गरिएको विषयमा विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले गम्भीर आपत्ति जनाएकी थिइन।

यसैगरी विकास कोष र बुढासुब्बावीच गरिएको सम्झौतामा ‘भगवान् श्री पशुपतिनाथ र यस क्षेत्रका विषयवस्तु सम्बन्धी श्रव्यदृष्यहरु सानो पर्दाका मोबाइल एप्लिकेसन, फेसबुक, युट्युव, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल र भविष्यमा आउने डिजिटल प्रविधि मार्फत आधिकारिक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दोस्रो पक्षले विक्री वितरण गर्न पाउने छ’ भनी सहमति गरिएको छ। 

उक्त सम्झौता अनुसार बुढा सुब्बाले अब श्री पशुपतिनाथ र यस क्षेत्रका विषयवस्तु सम्बन्धी श्रव्यदृष्यहरु सानो पर्दाका मोबाइल एप्लिकेसन, फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमार्फत व्यवसाय गर्न पाउने छ।

यसैगरी विकास कोष र बुढा सुब्बाबिच भएको सम्झौतामा ‘प्रथम पक्ष अर्थात् कोष र भगवान श्री पशुपतिनाथको बारेमा फेसबुक, युट्युब, टिकटक, मोबाइल एप्लिकेसन, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल मार्फत प्रकाशित एवं प्रसारित हुने समाचारहरूको नियमित अनुगमन गर्ने कार्य दोस्रो पक्षले गर्नुपर्नेछ’ भनिएको छ।

यसैगरी बुढा सुब्बा र विकास कोषबिच भएको सहमतिमा भनिएको छ, ‘आरती एवं दीप प्रज्ववलमा हुने कार्यक्रम पश्चात् सेवाग्राहीलाई भिडियो उपलब्ध गराउने, युट्युब लगायतका अन्य सामाजिक सञ्जाल मार्फत सञ्चार प्रविधिको प्रयोग गरी प्रचारप्रसार गर्ने कार्य दोस्रो पक्षले गर्नुपर्नेछ।’

प्रकाशित: २५ पुस २०८० ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App